|

धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ स्थित सिधुवामा ५० रोपनी जमिनमा अत्याधुनिक खेलमैदान निर्माण हुने भएको छ। अत्याधुनिक खेलमैदानमा निर्माणका लागि डिपिआर तयार भएपछि खेलमैदान निर्माण हुने भएको हो।

गाउँपालिकाकै नमूना, सुविधायुक्त र अत्याधुनिक खेलमैदान निर्माण गर्ने उदेश्यले छथर जोरपाटी गाउँपालिकाले सिँधुवा खेलमैदानको डिपिआर तयार पारेको हो। डिपिआर तयार भएको खेलमैदान संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा निर्माण हुने छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए। करिव ३० करोडको लगानीमा निर्माण हुने यस खेलमैदानका लागि कुल लागतको ८० प्रतिशत संघीय सरकार र २० प्रतिशत स्थानीय सरकारले व्यहोर्ने गरि संघीय सरकारमा प्रस्तावना पठाइएको र उक्त प्रस्तावना स्वीकृत हुनेबित्तिकै गुरुयोजनाअनुसार निर्माणको काम सुरु हुने अध्यक्ष लिम्बूले बताए। खेलमैदानको डिपिआरमा फुटवल खेलमैदान, प्याराफिट, पार्किङ, कभर्डहल, फुटसल लगायत संचरना निर्माण हुने उल्लेख छ।

खेलमैदानको ९८ मिटर लम्बाइ र ४९ मिटर चौडाईको प्याराफिटमा करिब २५ सय दर्शकको अट्ने क्षमताको हुने इञ्जिनियर दिवश पौडेलले बताए। उनका अनुसार सिँधुवा क्षेत्रमा धेरै मात्रामा वर्षा हुने भएकाले गर्दा प्याराफिटमाथि ट्रस राखिने छ। त्यस्तै खेल मैदानमा मेडिकल कोठा, खेलाडीको लागि चेञ्जिङ कोठा पनि बन्ने भएको छ।

यो खेलमैदानलाई स्थानीय तहकै नमूना खेल मैदानको रुपमा अघि सारिएको छ। सिधुवामा रहेको स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदान रहेको जग्गा गाउँपालिकाले २५ वर्षको लागि भौतिक संरचना निर्माणको लागि स्वामित्वमा लिएको छ। गाउँपालिकाले २०७४ सालमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेर सिंहदेवी यूवा क्लवको संयोजनमा खेल मैदान निर्माण सुरुवात गरिएको थियो। सो समयमा खैल मैदान निर्माणमा आर्थिक अभाव भएपछि क्लबले ‘म बनाउछु मेरो खेल मैदान’ अभियानसमेत संचालन गरेको थियो।

उक्त अभियानबाट ८ लाख रुपैयाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दिवश खड्काले बताए। उनका अनुसार अभियानमा ५० जना भन्दा बढी दाताले न्यूनतम ५ सय देखि ३५ हजार ५ सय सम्म सहयोग गरेका थिए। त्यस्तै गत आर्थिक वर्षमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटले खेलमैदानको तल्ला क्षेत्रमा तार जाली लगाउने कार्य भएको थियो।

सिँधुवा खेलमैदानमा वडास्तरको दुई वटा प्रतियोगिता र १ लाख रुपैयाँ पुरस्कार राखिको गाउँपालिस्तरको प्रथम छथर कप फुटवल प्रतियोगितासमेत सञ्चालन भइसकेको छ। हिलाम्ये खेल मैदानमा फुटवल खेल्न बाध्य खेलाडी खेलमैदानको डिपिआर बनेसँगै उत्साह छाएको खड्काले बताए। कुनै बेला 'ए' डिभिजन लिगमा यस क्षेत्रबाट फुबलर लक्ष्मीनारायण श्रेष्ठजस्ता चर्चित खेलाडीहरु विभिन्न क्लबबाट फुटबल खेलेको भए पनि पछिल्लो समय खेलाडी उत्पादन हुन सकेका थिएनन। खेलमैदान निर्माण भएपछि दक्ष खेलाडी यस क्षेत्रबाट उत्पादन हुने स्थानीयको आशा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.