|

काठमाडौं : राम्रो कामको कम चर्चा हुने तर नराम्रो कामको बढी चर्चा हुने हाम्रो समाजमा पछिल्लो समय सकारात्मक कामको राम्रै चर्चा हुने क्रम बढेको छ। चर्चा हो कपडा बैंकको। फेसबुकबाट बनेको युवाहरूको सन्जाल हन्ड्रेड्स ग्रुपले काठमाडौंको अनामनगरमा कपडा बैंक खोलेको छ। यो शुरु भएको भर्खरै ५ दिन भएको छ। तर नयाँ अवधारणसहित आएको यसको चर्चा फैलिइसकेको छ।

अनामनगरमा ओहोरदोहोर गर्नेको आँखा ठोकिन्छ, बाजेको सेकुवासँगै रहेको एबिसी स्टोरको अगाडि। सडकको छेउकै आडमा एउटा सामान्य तखता राखिएको छ। त्यसमा कपडा, जुत्ता चप्पलदेखि बालबालिकाका खेलौना समेत छन्। तर, ती कपडा नयाँ भने  होइन, पुराना तर लगाउन मिल्ने तथा प्रयोग गर्न मिल्ने।

‘लुगा चाहिन्छ, यताबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छोड्नु होला’ भनि लेखिएको छ। यो पढेपछि बल्ल थाहा हुन्छ। यो पुराना कपडा जम्मा गर्ने ठाउँ रहेछ। हो, यसैलाई कपडा बैंक नाम दिइएको छ। फेसबुकमार्फत बनेको हन्ड्रेड्स ग्रुपको यो नौलो अभियान हो।

यो कपडा बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ। चार दिन अघिसम्म यहाँ खासै चहलपहल हुदैनथ्यो। तर गत सोमबारदेखि यहाँ मान्छेको घुइँचो नै लाग्न थालेको छ। सडक किनारैमा रहेको र्‍याकमा सामान दिन चाहनेले आएर राखेर जान्छन्। चाहिनेले लिएर जान्छन् आफूलाई काम लाग्ने। असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने युवाहरूको अभियान गजब लाग्छ, जो कोहीलाई।

धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म लगाउने गर्दैनन्। नच्यातिएका र लगाउन मिल्ने लुगा पनि अलि पुरानो भएपछि फोहोरमा लगेर त्यत्तिकै फालिरहेका हुन्छन्। कतिलाई त पुराना कपडा व्‍यवस्थापन गर्न तनाव पनि भइरहेको हुन्छ। युवाहरूको यो अवधारणाले लाउन नपाएकाले कपडा पाउने र व्‍यवस्थापन गर्न चाहनेले तनाव लिनुनपर्ने भएको छ। यो अवधारणा देखेपछि बाटोमा हिँड्नेहरू दंग मानेर प्रशंसा गरिरहेका भेटिन्छन्।

के भन्छन् त अभियन्ता ?

अनामनगरमै बस्छन्, हन्ड्रेड्स ग्रुपका सदस्य पाल्पाका विमल पन्त। उनी गाडीमा जारको पानी बेच्ने काम गर्छन् र बचेको समय कपडा बैंकका लागि नि:शुल्क उपलब्ध गराउने गरेको बताउँछन्। अभियानले चार दिनमै उत्साहित बनाएको भन्दै उनले अब काठमाडौंकै शंखमुलको सुकुम्बासी बस्ती, समाशखुशी, भक्तपुर र ललितपुरमा पनि छिटै यस्तै कपडा बैंक खोल्ने तयारी भइरहेको जानकारी दिए।

यस किसिमको अभियान देशैभर आवश्यक रहेको बताउँदै विमल भन्छन् ‘हामी अगाडि बढिरहेका छौं, हेरौं कहाँसम्म पुग्न सकिन्छ।’ उनका अनुसार ग्रुपका करिब ५० जना अहिले यो अभियान सकृय छन्। समृद्ध नेपाल बनाउन युवाहरु नै लाग्नु पर्ने सोचकासाथ अगाडि बढेको उनको भनाइ छ।

यसअघि असहाय बालबालिका, बाढि पीडित तथा आगलागी पीडितका लागि लगाउन मिल्ने कपडा सकंलन गर्ने गरिन्थ्यो। तर अब जब पर्छ तब संकलन गर्ने कार्य गर्नुन पर्ने गरी आफुले काम थालेको उनिहरुले बताएका छन्।

समाजिक सन्जालको दुरुपयोग गरेर विभिन्न अपराध जन्य कार्यमा लाग्ने युवाहरुको कमी नरहेको अवस्थामा यस्ता सकारात्मक र रचनात्मक काम गर्ने युवाहरू उदाहरणीय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.