रंगेहात पक्राउ पर्ने कर्मचारी बढ्दै

|
गत चैतमा घुसहित पक्राउ वन कार्यालयका सव-डिभिजन प्रमुख सलाउदिन अन्सारी

विराटनगर : प्रदेश १ मा घुस लिँदालिँदै रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्या बढ्दै गएको छ। मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताइरहँदा कर्मचारी भने घुसमा लिप्त हुँदै गएका छन्। 

यो कुरा प्रदेश १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको सक्रियताले पनि देखाउँछ। अख्तियारको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा रंगेहात पक्राउ पर्नेको संख्या बढेको छ।

प्रदेश १ बाट गत २ वर्षमा ३४ वटा स्टिङ अप्रेसन गरेर ४४ जना कर्मचारी र अन्य पक्राउ परेका थिए। प्रदेशका १४ जिल्लाबाट अख्तियारले स्टिङ अप्रेसन गरेर घुसखोर कर्मचारीहरूलाई रंगेहात पक्राउ गरेको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा घुससहित रंगेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन चलाएको थियो । जसमा २४ जनालाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले  बताए। घुससहित रंगेहात पक्राउ पर्ने सरकारी कर्मचारी र चिकित्सकसम्म छन्।

अख्तियारको अभिलेखअनुसार घुससहित रंगेहात पक्राउ पर्नेको संख्यामा बढिरहेको हो। आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १६ वटा स्टिङ अप्रेसन भएका थिए। त्यसक्रममा २० जनालाई घुससहित रंगेहात पक्राउ गरिएको थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा ४ जनाले धेरै हो।

इटहरीस्थित आयोगमा विभिन्‍न माध्यमबाट गत आर्थिक वर्षमा एक हजार सात सय ८६ जुरीहरूमध्ये प्रारम्भिक छानविनबाट ९ सय २१ वटा फर्स्योट गरिएको छ।

जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएको आयोगले जनाएको छ। प्रारम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो।

को को पक्राउ परे?

गत १५ चैतमा विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङको परिसर भित्रबाट सब डिभिजन प्रमुख सलाउदिन अन्सारीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको थियो।

आयोगका इटहरीस्थित तत्कालीन डिएसपी डिल्लीनारयण पाण्डे नेतृत्वको टोलीले सुन्दरहरैचादेखि आएका एक सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस रकम लिदै गर्दा अन्सारीलाई अख्यितारले रंगेहात पक्राउ गरेको थियो।

यस्तै अख्यितारको विशेष टोलीले २७ असारमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार ८ लाख घुषसहित पक्राउ गरेको छ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरूलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रंगेहात नियन्त्रणमा लिएका थियो।

उपकुलपति पक्राउ परेको तीन दिन बित्‍न नपाउँदै ३० असारमा पुनः भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका थिए।

प्रदेश १ मातहत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

आफ्ना मातहतका कार्यालयका कर्मचारी घुषसहित पक्राउ परेको घटनालगत्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूसँग विशेष सूचना आएको र अझै पक्राउ पर्नसक्ने भन्दै कर्मचारीलाई सचेत हुन निर्देशन दिएका थिए।

विशेष अदालतमा ९ मुद्दा दायर

विस्तृततर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ६३ र आर्थिक वर्षमा ४७ वटा नयाँ गरि ०७५/०७६ मा १ सय १० वटा उजुरी इटहरीस्थित आयोगको कार्यालयमा दर्ता भएको अभिलेखमा छ। जसमध्ये ३९ वटा अनुसन्धान पुरा गरि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाएकोमा आर्थिक वर्षमा विशेष अदालतमा ९ वटा मुद्दा दायर गरेको छ।

इटहरिस्थित आयोगले घुससहित पक्राउ गरेको र उजुरी परेकोमा माथि अनुसन्धान पूरा गरि केन्द्रीय कार्यालयमा पठाउने गरेको छ। अख्तियारको केन्द्रीय कार्यालयले विशेष आदलतमा मुद्दा दायर गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.