|

पोखरा : स्याङ्जाको साल्मेडाँडामा निर्माणाधीन रहेको ‘गोरखा स्मारक’ विवाद र झमेलामा तानिएको छ। गोरखा स्मारक ट्रष्टको अगुवाइमा निर्माण भइरहेको स्मारकमा पूर्व सांसदसमेत रहेका गणेशमान गुरुङले ट्रष्टका पदाधिकारीहरूलाई जानकारी र समन्वय नगरी नेपाल सरकारका विभिन्न निकायबाट रकम निकासी गरी आफूखुसी संरचना बनाएको आरोप ट्रष्टको छ। 

कुनै पनि कारण बिनै विदेशी भूमीमा मरेका, मारिएका र बेपत्ता पारिएका हजारौँ गोर्खा ब्रिटिस सैनिकको सम्झनामा स्याङजा फेदीखोला गाउँपालिकाको साल्मे डाँडामा समाधी स्थल बन्न लागेको हो। भूपू गोर्खा सैनिकबाटै ऋण उठाएर निर्माण सुरु गरिएको स्मारकमा नेपाल सरकारका विभिन्न निकायबाट उपलब्ध भएको रकममा षडयन्त्र भएको आरोप निर्माणको अगुवाइ गरिरहेको ट्रष्टले लगाएको छ।

तत्कालीन महासचिव चन्द्रबहादुर गुरुङ नै अहिले स्मारक बन्न नदिन साल्मेडाँडा गएर सक्रिय बनेको ट्रष्टको आरोप छ। यसमा पूर्वसांसद् गणेशमान गुरुङसमेत जोडिएको र उनले कीर्ते गरेको ट्रष्टको भनाइ छ।

‘त्यहाँ काम गरिरहेका कामदारलाई समान चलाउन पाइँदैन भनेर धम्क्याउने गरिएकाे छ। बेलायतमा चन्द्रबहादुरले भूपू सैनिक साल्मेडाँडाको योजनाका लागि उठाएको रकमबाट गणेशमानको कार्यकर्तालाई दिइएकाे छ। मासिक ३० हजार तलब दिएर विहान ११ बजेदेखि साँझ ४ बजेसम्म पोखराबाट साल्मेडाँडा पठाइएको छ’ गेसोका संस्थापक सभापति तथा गोर्खा स्मारक ट्रष्ट साल्मेडाँडाका सभापति पदमबहादुर गुरुङले भने। उनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर भने, ‘आफूहरू गणेशमानको मान्छे हुँ भन्दै कामदारलाई गाली गरेको पाइयो।’

सभापति गुरुङले ब्रिटिस साम्राज्यले नेपालप्रति विगतमा गरेको आपत्तिजनक रहस्य खुल्ने डरले निर्माणमा विभिन्न तत्वहरूले चलखेल गरेको आरोप समेत लगाए। ‘ब्रिटिस साम्राज्यले नेपाली युवालाई बँधुवा मजदुर बनाएर गरेको शोषणविरुद्ध लड्न हामीले गेसोको स्थापना गरेका थियौं। तर हामीलाई धोका दिएर चन्द्रबहादुरले बेलायत सरकारको सेवा गरे’, उनले भने, ‘यिनै गुरुङ अहिले पितापुर्खाको सम्मानमा स्थापना गर्न लागिएको स्मारक बन्न नदिन चलखेल गरिरहेका छन्।’

पूर्वसांसद गणेशमान गुरुङले साल्मेडाँडामा निर्माण भइरहेको स्मारकको संरचना विगार्ने गरी स्मारकको डिजाइनमै नभएको ठाउँमा खानेपानीको ट्यांकी स्थापना गरेको ट्रष्टको आरोप छ। 

छानविन गर्न ट्रष्टको माग

एक अर्कामा दोष थुपारेर निर्माणाधीन स्मारकलाई भद्रगोल बनाउन भन्दा छानविन गनुपर्ने सभापति पदमबहादुर गुरुङको भनाई छ। पूर्वसांसद् गुरुङले साल्मेडाँडाको योजनाका लागि ट्रष्टले तयार पारेको अवधारणापत्रबाट सभापति गणेशबहादुर गुरुङको नाम र ठेगाना हटाएर कीर्ते काम गरेको ट्रष्टले आरोप लगाएको छ।

सम्पदाका गुरुयोजनाकारलाई थाहै नदिई चन्द्रबहादुरले पर्यटन विभागबाट रकमसमेत लिएको ट्रष्टले बताएको छ। चन्द्रबहादुरले सरकारी रकमले गुरुयोजनाविपरीत काम गरेर दुरुपयोग गरेको भन्दै ट्रष्टले यसबारे छानविन गर्न माग गरेको छ। 

‘ब्रिटिसको घमण्डलाई तोडेर विश्वसामु नेपालीको शिर ठाडो बनाई राख्नको लागि ब्रिटिसको आफ्नो स्वार्थको लागि युद्धमा पठाएर मारेका नेपालीको सम्झनामा स्मारक बन्न लागेको हो’, सभापति गुरुङले भने, ‘ब्रिटिसको रक्षाको लागि लडेर मरेका नेपाली १९ जातजातिहरूको हजारौँ पितापुर्खाको सम्झनामा यो समाधीस्थल बनाउन लागेका हौँ।’

गोरखा स्मारकमा  गोरखा समाधीघर, गोरखा संग्रहालय, गोरखा सांस्कृतिक ग्राम, गोरखा टावर, गोरखा रल बन्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.