सिन्धुली : जिल्लाको महाभारत तथा गढतिर भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने तथा गेडमेल गर्ने काम भइरहेको छ।
गत फागुन, चैतमै छर्नुपर्ने भएपनि लामो समयको खडेरीले गर्दा मकै छर्न नपाएपनि अहिले बर्षायाम सुरु भई पानी परेपछि मकै छर्न सुरु गरिएको हो। जिल्लाका सुनकोशी गाउपालिका, फिक्कल गाउपालिका र गोलन्जोरको माथिल्लो भेगको सुख्खाग्रस्त क्षेत्रमा लामो सयम सम्मको खडेरीले गर्दा अहिले वर्षायाममा मकै छर्न सुरु गरिएको छ ।
सुनकोशी गापालिकाको बन्दिपुर, खनियाखर्क, भुगोलछाप, कामिछाप, थुम्का, लिटेभन्ज्याङ परेवाडाडाँ, सितलपाटी, गैखर्क, दुम्जा डाँडा, ताम्लिङ, रामटार, गोलन्जोर डुडभज्यांङ, भुवनेश्वरी, बासेश्वर, फिक्कलको खाङसाङ, महादेव डाँडा, रत्नावती लगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको छ।
पहिले पानी नपरेकाले र अन्य बाली पनि खडेरीले सुकेपछि पुनः मकै छर्ने काम शुरु गरिएको कृषकले बताएका छन्।
लामो समयको खडेरीले सबै बाली सखाप पारेपछि पाकेर थन्क्याउने बेलामा पुनः मकै छर्न थालिएको सुनकोशी गाउपालिका ५ रामटारका स्थानीयवासी पवन श्रेष्ठले बताए। ‘हाम्रो रामटारमा अहिले सम्म यसरी साउनमा मकै छरेको थिएन भने, ‘अरु बेला समयमै पानी पथ्र्यो समयमै मकै छथ्र्यौ, यस वर्ष लामो समयको खडेरीले भर्खर मात्र मकै छर्दैछौँ।’
मकै, कोदो, गहत, जुनेलो र फापर खेती मात्र हुने सुख्खाग्रस्त क्षेत्रमा लामो समयको खडेरीले असर गरेपछि ज्यालादारीको काम खोज्न शहर पसेका स्थानीयवासी समेत अहिले गाउँ फर्किएर मकै छर्नमा व्यस्त छन्। खानेपानी समेत आकाशबाट झरेको वर्षातको पानी सङ्कलन गरेर उपभोग गर्दै आएका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न शहर पसेका थिए।
खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने देखिएको छ। दैनिक छाक टार्नका लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरीले सखाप पारेपछि खुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी अहिले चिन्तित बनेका छन्।
सुनकोशी गाउपालिकामा कम पानी पर्ने र सबै वडा सुख्खाग्रस्त क्षेत्रका भएकाले यस आर्थिक वर्ष गाउपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर त्यही अनुसारका कार्यक्रम लागू गर्ने सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताइन्। ‘खडेरीले गाउपालिकामा ठूलो असर गरेको छ’, उनले भनिन्, ‘अधिकांश माथिल्लो भेगका गाउँवासीको घरमा अहिले अन्नको दाना छैन।
खडेरीका कारण यस वर्ष जिल्लामा खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र सिन्धुुलीका प्रमुख राजन ढकालले बताए। खडेरीका कारण जिल्लामा अहिलेसम्म ७० प्रतिशत मात्र रोपाइँ भएको छ।
गत असार मसान्तभित्र लगभग रोपाइँको काम सकिने जिल्लामा अहिलेसम्म पनि नसकिँदा उत्पादनमा गिरावट आउने देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।