बैनीको कोसेलीलाई नगरपालिकाले तिरायो ४० हजार जरिवाना

|

रुकुम : आठबिसकोट नगरपालिकाले मदिरा उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा एक व्यक्तिलाई ४० हजार तरिवाना असुलेको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिबजारका रामबहादुर पुनबाट रकम लिइएको हो। नगरपालिकाले मदिरा बिक्री वितरण गरेको अभियोगमा नगर प्रहरीमार्फत काटिएको ४० हजारको जरिवाना रसिद अहिले सामाजिक संजालमा व्यापकता पाएको छ। यस कार्यमा नगरपालिकाले कानुन मात्र मिचेको छैन, मगर संस्कृतिमा समेत प्रहार गरेको उनीहरूको आरोप लागेको छ।

यस्तो रहेछ घटना

मगर संस्कृतिअनुसार चाड पर्वहरूमा इष्टमित्र र पाहुनाले कोसेली केही मदिरा ल्याउने चलन चल्ती हुन्छ। रुकुम पूर्व र पश्चिमका मगर समुदायमा पनि यस्तो चलन प्रचलनमा छ। पितृपुजा, बिहे र चाडपर्वमा आफूले पुज्ने देवतालाई चढाउनका लागि पनि मदिरा उत्पादन गर्ने गरिन्छ। यस्तै क्रममा पुनको घरमा पनि साउने संक्रान्तिको अवसरमा बहिनीले दाजुलाई २ लिटर रक्सी कोसेलीको रुपमा ल्याएकी थिइन।

संक्रान्तिको अवसरमा घरमा पाहुनाको खानपान कार्यक्रम पनि चलेको थियो। त्यही क्रममा घरमा नगर प्रहरी गएर रामबहादुर पुनलाई र कोसेलीका रुपमा ल्याइएको मदिरा पनि नियन्त्रणमा लिइयो।

‘नगर प्रहरी आएर हामीलाई मदिरा उत्पादन गरेको अभियोग गरेर नियन्त्रणमा लियाे। चौकीमा लिएर ४० हजार तिर्ने भए तिर्नु नत्र थुन्ने भनियो’ टेलिफोनमा कुरा गर्दै पुनले भने,‘घरमा श्रीमती बिरामी थिइ। प्रहरीमा थुनिनु भन्दा ४० हजार रुपैयाँ तिरेर म निस्किए। हामीले उत्पादन गरेको होइन। बहिनीले संक्रान्तिका कोसेली ल्याइदिएकी हो। यो हाम्रो मगरको संकार पनि हो भन्नेर बिन्ती चढाउदा मेरो कुरा कसैले सुनेन। मैले बहिनीले त्यस सँगै ल्याएको खुर्मा र सेल पनि देखाएको हो।’

श्रीमतीको उपचार गर्ने रकम जरिवानामा

नकी श्रीमती भक्तकुमारी पुन लामो समयदेखि टाउकाको समस्याका कारण बिरामी भएर थला परेकी थिइन। उक्त उपचारको लागि केही रकम पनि घरमा जम्मा गरेका थिए। तर मदिरा उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा उनलाई नगरपालिकाले ४० हजार जरिवाना तिर्न भनेपछि उक्त उपचार गर्ने पैसा तिरे।

‘मेरी श्रीमती बिरामी भएर ढलेकी थिइ। यस्तो अवस्थामा प्रहरीमा थुनिनुभन्दा पैसा तिरेँ’ उनले भने, ‘पछि श्रीमतीको गहना धरौटी राखेर उपचार गरेँ।’ नगरपालिकाले गैरकानुनी तरिकाले मगर संस्कृतिमा प्रहार गरेको उनको भनाइ छ। ‘मैले रक्सी उत्पादन गरेर बिक्री वितरण गरेको भए त कारबाही पनि हुनुपर्‍याे। तर बहिनीले संक्रान्तिमा ल्याएको कोसेलीलाई गलत अर्थ लगाएर मबाट पैसा असुलियो’ उनले भने, ‘ममाथि अन्याय भएको छ। श्रीमतीको उपचार गर्ने पैसा जम्मा थियाे र पो तिरेँ नत्र जेल नै बस्नुपर्ने रै' छ।’

के छ कानुनमा व्यवस्था

प्रचलित मदिरा ऐनमा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र मदिराको कारोबार, उत्पादन र बिक्रिवितरण गर्ने पाइने व्यवस्था छ। तर सांस्कृतिक रुपमा चलेको चलन अनुसार र आफ्नो निजी उपयोगका लागि तोकिएको परिमाणमा रक्सी वा जाड भने बनाउन पाइन्छ। 

मदिरा ऐनको दफा सातमा लेखिएको छ,‘यस ऐनका अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भएतापनि निजी उपयोगका निमित्त तोकिएको परिमाणमा रक्सी वा जाँड बनाउन यस ऐनअन्तर्गत अनुमतिपत्र लिनुपर्ने छैन।’

आठबिसकोट नगरपालिकाले पनि मदिरा नियन्त्रणसम्बन्धी निर्देशिकका २०७५ बनाएको छ। जसमा पनि निजी प्रयोजनका लागि जाँड रक्सी बनाउन कसैबाट अनुमति लिनु नपर्ने वा गैरकानुनी नठहरिने उल्लेख गर्दै निजी प्रयोजनका लागि एक पटकमा ५ लिटरसम्म जाँड र १० लिटरसम्म जाँड बनाउन पाइने प्रस्ट पारेको छ। तर पुनको घरबाट संक्रान्तिमा कोसेलीमार्फत आएको २ लिटर मदिरालाई पनि ४० हजार जरिवाना तिराइएको हो। त्यस्तै कुनै व्यक्तिलाई दुःख दिने नियतले गैरकानुनी तरिकाले खानतलासी, कब्जा वा गिरफ्तार गर्ने व्यक्ती तथा निकायलाई सजायको व्यवस्था पनि छ।

 मदिरा ऐनमा यस ऐनविरुद्ध काम भए गरेको भन्ने मनासिव शंका नभइ अर्कालाई दुःख दिने, हैरानी गर्ने, बेइज्जती गर्ने वा क्षति पुर्‍याउने नियतले कुनै स्थानमा प्रवेश गर्न वा खानतलासी गर्ने गराउने, कसैलाई गिरफ्तार गर्ने गराउने, कब्जा वा जफत गर्न नहुने सामान कब्जा वा जफत गर्ने गराउने वा कसैलाई अनावश्यक क्षति वा चोट पुर्‍याउने वा प्‍याप्सन लगाउने व्यक्तिलाई छ। महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

रुकुम पश्चिमका अधिवक्ता गणेश हमालले स्थानीय सरकारबाट ४० हजार रुपैयाँ जरिवना तिराउने कानुन सम्भवत नभएको बताए। ‘स्थानीय सरकारमार्फत १० हजारसम्म जरिवाना तिराउन सक्ने स्थानीय सरकार संचालन ऐनमा व्यवस्था छ’ उनले भने, ‘तर त्यो पनि अन्य मुद्दाको हकमा हो। मदिराको विषयमा त प्रचलित संघीय ऐन कानुनमा अनुसार नै हुन्छ। मदिरा बिक्री वितरणको नाममा ४० हजार लिन मिल्दैन।’

४० हजार मात्र होइन दोब्बरतेब्बर जरिवाना पनि गरिन्छ : प्रशासकीय अधिकृत केसी

चाडपर्वमा मदिरा सेवनको विषयलाई लिएर नगरपालिकाले नागरिकबाट ४० हजार रुपैयाँ जरिवाना तिरेको रसिद सामाजिक संजालमा भाइरल र आलोचना भएपछि आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले नगरपालिकाले ४० हजार मात्र नभएर त्यसको दोब्बर तेब्बर जरिवाना पनि तिराउन सक्ने आफ्नो फेसबुक स्टाटसमार्फत प्रतिक्रिया दिएका छन।

उनले लामो स्टाटस लेख्दै यस विषयमा भने, ‘मदिरा बिक्री वितरण त के टाढैबाट सुग्दै गरेको पाइएमा पनि चालीस हजार मात्र होइन दोब्बर-तेब्बर सजाय हुँदै जानेछ। कोही कसैले फेसबुकको भित्तामा गाली र आलोचना गर्दैमा पातसम्म हल्लिनेवाला छैन।’

नगरपालिका मदिरामुक्त तर नगरपालिकाले नै खोलेको छ मदिरा उद्योग

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई मदिरामुक्त गरिसकिएपछि अनुमति लिएका मदिरा पसलहरू पनि संचालन गर्न दिइएको छैन। जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लालाई नै मदिरामुक्त घोषणा गर्ने अभियानअन्तर्गत यस्तो गरिएको हो। यस विषयमा व्यवसायी र सरकारबीचका मुद्दा अदालतमा गएका छन भने अन्तिम टुंगो लागेको छैन।

आठबिसकोट नगरपालिकाले ब्यवसायीमाथि मदिरा बिक्री वितरण र सेवनलाई कडाइ र ठूलो रकम जरिवाना तोके पनि आफ्नै अनुदानमा भने फलफूलमा आधारित वाइन उद्योग संचालनमा छ। आफैँ मदिरामुक्त घोषणा गर्ने तर आफैँ मदिरा उत्पादन गर्ने सरकारको दुइवटा नीति भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

नगरपालिकामा स्थानीय टिम्मुर हालेकाे वाइन उत्पादनको अन्तिम तयारीमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.