पैसा कमाउने होइन, परिवर्तन ल्याउने शिक्षा चाहियो
पैसा कमाउने होइन, परिवर्तन ल्याउने शिक्षा चाहियो
काठमाडौं : यो देशको शासकले कहिलेकाही शहरका गल्ली र चोक चोकमा च्याउ सरी खुलेका कन्सल्टेन्सी र म्यान पावरमा युवा पुस्ताको जमात देख्छन् कि देख्दैनन् होला? उनीहरूको अनुहारमा देशमा नपाएको अवसर र तितोपना पनि देख्नैपर्ने हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सपना बोकेर विदेशिने युवाको आँखामा सिधा नजर जुधाउने ल्याकत नेतृत्वले राख्ला? अवसरको लालसामा उनीहरूले आखाँमा लुकाएको आँसुलाई यो देशका शासकले विश्लेषण गर्छन् कि गर्दैनन?
उच्च शिक्षा पढेको एउटा यूवा किन विदेशिने सपना देख्छ होला ? के उनीहरूलाई विदेशका ठूला महल र चिल्ला सडकले तानेको हो? होइन। उनीहरूलाई यो देशको शासन पद्दति, भ्रष्टाचार, ढिलासुस्ती, नातावाद र कृपावादले गलाइदिएको छ। न देशमा कुनै लगानी वातावरण निर्माण हुन सक्यो नत शासकले भाषण गरे जस्तो सुशासन बोध हुन सकेको छ।
लामो समय भ्रष्टाचारविरूद्ध अभियानमा लागेका हेम-सरिता पाठक फाउन्डेसन संरक्षक हेम पाठक देशमा बढेको भ्रष्टाचार रोक्न नेता र प्रशासनले भन्दा जनताले सक्ने बताउँछन्। उनी भन्छन्, 'हरेक युवा डिप्रेशनमा जानु र विदेशको सपना देख्नुको मुख्य कारण नै यो देशको भ्रस्टाचार हो।'
हरेक भ्रष्टाचारी हाम्रो समाजमै जन्मन्छ। उनीहरूको पालनपोषण हामीले नै गरिरहेका छौं। जबसम्म उनीहरूलाई सामाजिक बहिस्कार गर्न सक्दैनौँ, तबसम्म हाम्रो पुस्ता मात्रै होइन, आउँदो धेरै पुस्ताले यही समस्यासँग जुधिरहनुपर्छ।पाठकले लामो समयदेखि भ्रस्टाचारविरूद्ध आवाज उठाइरहेका छन्। भ्रष्टाचारीले कमाएको अकुत सम्पत्तिका कारण देश दिनानुदिन गरिबीको चपेटामा फस्दै गएको हरेकलाई थाहा छ। तर पनि बोल्न कोही तयार नभएको बताउँछन् पाठक।
'हामीले चुनेको प्रतिनिधि होस् या समाजको तल्लो तप्काको व्यक्तिले कमाएको अकुत सम्पत्तिमा कुनै प्रश्न गर्दैनौँ', उनी भन्छन्, 'जबसम्म हामी प्रश्न गर्दैनौँ, तबसम्म धनी र गरिबबीचको दुरी बढ्दै जान्छ।'
भ्रस्टाचार रोक्ने अभियान
देशमा बढ्दो बेरोजगारी र नीतिगत भ्रस्टाचारको डरलाग्दो रोग नै छ। रोग, शोक र भोक यिनै हाम्रा समस्या हुन्। यसका लागि आवाज उठाउने माध्यम पत्रकार हुन्। कलाकार हुन्। साहित्यकार हुन्। फाउण्डेसनले लामो समयदेखि हरेक वर्ष आफ्नो कलम र स्वरले सामाजिक कार्य गर्नेलाई पुरस्कृत गरिरहेको छ।
उनले समाजका यिनै सदस्यमार्फत् अभियान चलाउने अठोटका साथ भ्रस्टाचारविरूद्ध आवाज उठाइरहेका व्यक्तिहरूलाई प्रोत्साहित गर्न 'टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार, हेम-सरिता संगीत पुरस्कारले सम्मान गर्ने योजना ल्याएका हुन्। लोभ देखाएर कतिञ्जेल गर्ने यस्तो काम ? उनी भन्छन्, 'सम्मानको लोभ देखाएर भ्रस्टाचारविरूद्ध बोलुन् भनेर अभियान चलाएको होइन। उहाँहरूले बिनालोभलालच गरेको कामलाई सम्मान गरेको हो। जसले असल काम गर्छ, ऊ सम्मानको हकदार पनि हो।'
भ्रष्टाचार रोक्न शिक्षा र संचार
मानव जीवनको सबैभन्दा ठूलो धन हो शिक्षा। चेतना विकास गर्न शिक्षा अपरिहार्य छ। यो नीतिगत कुरा मात्र हो। किनभने नेपालको पठन संस्कृतिले यो कुरालाई नेतृत्व गर्न सकिरहेको छैन। हाम्रो शिक्षा पद्धतिले कमाउने कसरी सिकाइरहेको छ। पैसा कमाउनु नै पढ्नुको एक मात्र माध्यम बनाइरहेका छन्। उनी भन्छन्, 'पैसा कमाउन पढ्नुपर्छ भन्ने हाम्रो मान्यता हटाउन जरूरी देखिन्छ।' दोश्रो संचार हो, उनका बिचारमा शिक्षा र संचारका माध्यमबाट धेरै कुरा सुधार्न सकिन्छ ।
धेरै बालबालिका शिक्षाको पहुँचबाट टाढा छन्। नीतिमा हरेक बालबालिकालाई पढाउने भनेपनि कार्यान्वयन हुन सकेको छैन। उनले झापामा १२ जना बालबालिका पढाइरहेका छन्। उनको योजना थियो, देशभरिका आर्थिक विपन्न परिवारका एक सय बालबालिका पढाउने।
यसैबीच काठमाडौंको साँखुमाथि घुमार चोकमा एउटा सरकारी विद्यालय भेट्टाए। ६ वर्षअघिसम्म विद्यालय भवन र विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको उग्रतारा विद्यालय उनको प्रयासले माध्यमिक तहको भएको छ। पाठककै सहयोगमा उच्च मावि बनाउने तयारी भइरहेको छ।
त्यसैमा उनले आफैले लगानी गरेर विद्यार्थी पढाइरहेका छन्। उनी भन्छन्, 'सरकारी नियमानुसार चलाएको उक्त विद्यालयमा सम्पूूर्ण खर्च आफैले गरिरहेको छु। हरेक बालबालिकाले पढ्नुपर्छ भन्ने अभियानमा यो मेरो सानो प्रयास मात्र हो।' त्यस विद्यालयमा अहिले २ सय बालबालिका पढिइरहेका छन्।
घुमार चोकको तामाङ बस्तीका अतिविपन्न परिवार भूकम्पले भत्काएका घर पुन:निर्माण गर्न नसकी गोठमा बसिरहेका थिए। त्यहाँ पनि उनले तामाङ बस्तीका १० जना अतिविपन्न एकल महिलाका नयाँ घर पनिर्माण गरिदिएका छन्। घुमारचोकमा १० वटा नमूना घर बनाइएको छ।
उनले प्रतिपरिवार चार बाख्रा वितरण गरेका छन्। सामान्य जीवन बाँचेका मान्छेले बाख्रा पालिदिए भने एक वर्षमा आफ्नो सामान्य दैनिकी गुजारा गर्न सक्छन् भन्ने अभिप्रायले यो योजना ल्याएको उनी बताउँछन्।
स्वावलम्बी बन्न घर निर्माण
तेह्रथुममा जन्मेका पाठकले केही समय त्रिभुवन विश्वविद्यालयमा जागिर खाए। उनले पुस्तक पसल र प्रकाशन गृह पनि खोले। विभिन्न पत्रिकामा आबद्ध भएका उनी एकाएक अमेरिका भास्सिए। उनी अहिले अमेरिकाको टेक्ससमा व्यापार गर्छन् ।
उनलाई त्यहाँको प्रणालीले काम पत्यायो ऋण पत्यायो र उद्यमी बनायो । जे गर्न उनले नेपालमा पाएका थिएनन् त्यही गर्ने अवसर दियो । आधारभुत आवश्यकता देशमा पुरा गर्दागर्दै अमेरिका भास्सिए पनि उनको मुटुमा देश दुखिरह्यो । उनलाई हरेक वर्ष देशले तान्छ र उनी उताको काम छोडेर आउँछन्। केही गर्ने जाँगर चलाउँछन् र अलिकति सन्तोषको सास फेरेर फर्किन्छन्।
उनी कहिलेकाहीँ सोच्छन्, ' हामी र हाम्रो चेतना किन विकास हुन सकेन होला? के कुराको कमी भयो।' यसका धेरै कारणमध्ये गरिबी पनि एक हो कि जस्तो लाग्छ।' जेसुकै भएपनि अमेरिकामा कमाएको धन र अनुभव हेम र सरिता नेपालमा खर्चिन चाहन्छन् । उनकै भनाईमा धन तन विदेशमा भए पनि मन त नेपालमै छ। विगत मात्रै होइन भविष्य पनि नेपालमै देख्छन् हेम पाठक। त्यसैले नेपालमा जन्मिनेले भविष्य खोज्न नपर्ने दिन देख्न आतुर छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।