तुरतुरे ताल फुट्यो

|

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा आइतबार राती बागलुङको तमानखोलामा तीन जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन्।

तमानखोला गाउँपालिका ४ लाम्मेलामा आइतबार राती १ः३० बजे गाउँको करिब १५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका हजुरआमा र नातिको मृत्यु भएको हो। ७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण श्रीपालीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

पहिरोले पुरिँदा उनकै छिमेकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

पञ्चकुमारीको सोमबार बिहानै शव फेला परेको थियोभने प्रविण र अनसरीको शव सोमबार बिहान ११ बजे पहिरोबाट निकालिएको हो। पहिरोमा परी गम्भीर घाईते भएका तीन जनालाई हेलिकप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको छ। प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार, उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो।

पोखरा पठाइएकामध्ये ओमबहादुर श्रीपालीको टाउकोमा गम्भिर चोट लागेको छभने ढाडभन्दा तलको भाग चल्दैन। उनको कानबाट रगत आएकाले तत्कालै हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा पठाइएको हो। अर्का घाइते अनील श्रीपालीको टाउकोमा चोट छ। हात भाँचिएको छभने घाइते अनिल श्रीपालीको पनि टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। पहिरोमा आएको ढुंगामाटो र काठ दाउराले लागेका कारण घाइतेको टाउको, छाती र शरीरका बिभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

सोही ठाउँका ३४ वर्षीया सुनिता श्रीपालीको छातीमा चोट लागेर घाइते बनेकी छिन्। उनका तीन भाई छोरा पहिरोमा परि घाइते बनेका छन्। छोराहरूमध्ये ओम श्रीपाली र राम श्रीपालीलाई पोखरा पठाईएको छ। सुनिता र कान्छा छोरा कमल श्रीपालीको जिल्ला अस्पताल बुर्तिबाङबाट घटनास्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ।

सोही ठाउँकी ४० वर्षीया चित्रादेवी श्रीपालीको छातीमा चोट लागेको बताइएको छभने ५० वर्षीया अमेसरा श्रीपालीको टाउकोमा चोट छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रजिअ क्षेत्रीले जानकारी दिए। चिकित्सकहरुको टोलीले घाइतेहरुलाई स्थानीय स्वास्थ्य केन्द्र लाम्मेलामा राखेर उपचार गरेको वडा अध्यक्ष उदिन छन्त्यालले बताए। 

मृतकको तमानखोलामा नै पोष्टमार्टम गरिएको छ। डा. कृष्णहरी श्रेष्ठको समूहले तमानखोलामै पुगेर मृतकको पोष्टमार्टम गरेको हो। स्थानीयको सहजताका लागि स्वास्थ्यकर्मीको समुह खटाएर घटनास्थलमै पोष्टमार्टम गरिएको प्रजिअ क्षेत्रीले बताए। उद्धार र उपचारको काम सकेर तमानखोला गाउँपालिकाले सोमबार नै पहिरोले पुरिएका घरका बासिन्दाको व्यवस्थापनको काम थालेको छ। उनीहरूलाई खानेबस्ने प्रबन्ध गाउँपालिकाले मिलाएको प्रमुख प्रसाशकीय अधिकृत कमल प्रसाद गौतमले बताए। 

जिल्ला दैविक प्रकोप उद्धार समितिले सोमबारनै इलाका प्रशासन कार्यालय बुर्तिबाङमार्फत मृतकको परिवारलाई एक लाख रुपैयाँ र पुरीएका घरहरूलाई प्रतिपरिवार दश हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेको छ। पहिरोले ल्याएको विपत्तिको सामना गर्न सोमबार तमानखोला स्वास्थ्यकर्मी, स्थानीय सरकार र सर्वसाधारणले निकै उदाहरणीय सक्रियता देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ठूलो पहिरो खसेकाले आसपासका घरहरुलाई साबधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ। 

तुरतुरे ताल फुट्यो, राजमार्ग अवरुद्व

अविरल बर्षासँगै आएको बाढीका कारण तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ। गत वर्ष भदौ २९ गते पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो। अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो। सो तालमा पर्यटन व्यवसायीले डुंगा समेत सञ्चालन गर्दै आएका थिए।

तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेको स्थानीयले बताएका छन्। तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताए।

ताल फुटेसँगै बडिगाड गाकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ। बाटो बगाउँदा बागलुङ–बुर्तिबाङतर्फ आवतजावत अवरुद्ध भएको छ। पैदल हिँड्ने बाटोसमेत बाँकी नराखेको पाइजाले बताए। ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बागलुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

गुल्मीतर्फ नदी किनारमा पानीको बहाव बढ्नासाथ साथ सोमबार बिहान ३ बजेबाट पूर्व सूचना यन्त्रमार्फत् सूचना प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

‘वर्षा पनि भइरहेकाले नदी किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ,’ प्रजिअ क्षत्रीले भने। तालको पानी बग्न थाले पनि कुनै मानवीय क्षति भने भएको छैन। तर पनि सतर्कता अपनाइरहेको क्षेत्रीको भनाई छ। गत वर्ष पहिरोले खोला थुनिएर ताल बन्दा बागलुङको सिमलचौरका चार घर डुबानमा परेका थिए।

पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो। मध्यपहाडी लोकमार्ग बाढीले बगाएपछि अहिले बागलुङको पश्चिमका तीन स्थानीय तहमा सडक सम्पर्क टुटेको छ। लोकमार्ग आयोजनासँग समन्वय गरेर बैकल्पीक मार्गको खोजी भैरहेको प्रजिअ क्षत्रीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.