दोहोरो जिम्मेवारीले पार्टी हाँस न कुखुराको चालमा

|

उदयपुर : पूर्वमाओवादी केन्द्र र नेकपा एमालेको एकीकरणपछि अहिले नेकपा बनेको छ। जो अहिले सरकारको नेतृत्व पनि गरिरहेको छ। एकतापछि आफूलाई जनतामा लोकप्रिय र त्याग, तपस्‍या र पार्टीको सिपाहीँ बताउने नेताहरू दुवै पार्टीबाट हराउन थालेका छन्।

नव गठिन सत्ताधारी नेकपाका  लोकप्रिय नेता तथा कार्यकर्ता भूमिकाविहीन भएको चर्चा चिया पसलमा चर्कंदै गएको छ। त्यसैको एक उदाहरण मानिन्छन् उदयपुरमा विघठित उदयपुरको माओवादी आन्दोलनको एक कुशल कमाण्डर मानिने मोहनबहादुर खत्री उर्फ 'हेनरी' तथा दीपक।

माओवादीको १० वर्षे 'जनयुद्ध'को उदयपुरका एक कमाण्डर मानिने खत्री ०६४ सालमा भएको संविधानसभाको निर्वाचित सभासद हुँदै पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका खत्री तत्तकालीन माओवादी केन्द्रको पोलिटव्युरो सदस्यसमेत थिए।

दुवै पार्टीमा भाग्य विधताले साथ पाएकाहरू अहिले पार्टीको नेता बनेका छन्। तर, खत्री नेकपा प्रदेश १ को सदस्यमा खुम्चिनुपरेको छ। ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भनेको कान्छा... भएको छ,’ उनले व्यङगर्दै गुनासो पोखे।

पूर्वमाओवादी केन्द्र र एमालेको एकता प्रक्रियाबाट केन्द्रीय सदस्य बनेका उच्च पदमा पुगेका खत्री जस्ता गुनासो गर्ने धेरै नेता कार्यकर्ता भेटिन्छन। त्यसैको पंत्तिकारबाट खोज्दा खत्री फरक धारका नेता मानिन्छ। ‘'जनयुद्ध'मा मर्न समेत तयार भएको मान्छे हुँ,’ उनले भने, ‘मैले बन्दुक बोकेर लडेको 'जनयुद्ध'ले देशमा गणतन्त्र ल्याउँदै दुवै पार्टीलाई एकता प्रक्रियासम्म ल्यायो, तर, त्यही एकताले राजनीतिक जीवनमा आत्मासन्तुष्टी दियो भनौ की दिएन भनौ।’ उनको मन बाझिएको छ।

खत्रीको नजरमा पार्टी एकता

'जनयुद्ध'को जगमा भएको जनआन्दोलनले राजनीतिक परिर्वतन गर्न सफल भएको खत्रीको दाबी छ। जसको परिमाण आज देशमा संघीय गणतन्त्र, राज्यको पुनसंरचना, समावेशी, समानुपातिक, लोकतन्त्रको स्थापना भएको खत्रीको उद्घोष छ। उनै खत्री भन्छन्, ‘'जनयुद्ध' र जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि र जनअधिकारलाई नेपालको संविधान २०७२ ले  संस्थागत गरेको छ।

शान्ति प्रक्रियापछि दुई ठूला कम्युनिष्ट पार्टीहरूमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र आपसमा चुनावी प्रतिस्पर्धी गरेको जनतलाई चित्त बुझेको थिएन। त्यसको फाइदा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले उठाईरहेका थिए। बहुमत जनताको सर्मथन कम्युनिष्ट पार्टीहरूलाई हुँदाहुँदै पनि आपसमा प्रतिस्पर्धा गर्दा नेपाली कांग्रेसले मुलुकमा सत्ता र सरकारको नेतृत्व लिएर हालीमुहाली गरिरहेको अनुभव खत्रीको छ।

खत्री नै भन्छन्, 'देशमा स्थिर सरकार निर्माण हुन सकिरहेको थिएन। सरकार बनाउने र ढाल्ने प्रवृत्तिले जनता निराश थिए। यस्तो परिवेशमा दुई ठूला कम्युनिष्ट पार्टी मिल्नु अन्त्यत जरुरी थियो। एकता भयो, यो सकारत्मक पक्ष हो। एकतापछि जनता खुसी छन्।'

 त्यसैले नेकपालाई जनताले आज साथ सर्मथन दिएको खत्रीको भनाइ छ। तिनै तहको सरकारमा नेकपालाई बहुमत दिएका छन। यो सकात्मक चुनौती र सुखद हो। जुन दुवै कम्युनिष्ट पार्टीको एकताले ल्याएको सुखद पक्ष हो।

दोहोरो जिम्मेवारीले पार्टीमा परिमाण आउँदैन

दुवै पार्टीको एकतासँगै समस्याहरू देखा परेको भन्दै खत्रीले आन्दोलनमा योगदान गरेका कार्यकर्ताहरूको सही व्यवस्थापन र कार्यविभाजन नभएको दुखेसो पोखे। ‘कसैलाई दोहोरो, तेहेरोसमेत जिम्मेवारी दिइएको छ, खत्री भन्छन, ‘कसैलाई भूमिकाविहीन बनाइएको छ। पार्टीको विधि पद्धति मिचिएको छ।’

विधानमा एक व्यक्ति एक जिम्मेवारीको नीतिमा जाने भनेर लेखिएको छ। तर, व्यवहारमा ठिक उल्टो छ। खत्रीकै शब्दमा पार्टीको तल्लो तहदेखि माथि केन्द्रतहसम्म एउटै व्यक्तिलाई पार्टी र सरकारको जिम्मेवारी प्रदान गर्नु ठिक होइन। जसले गर्दा न पार्टी, न सरकार दुवै अवस्था हाँस न कुखुराको चाल भएको विश्लेषण गरेका छन्। ‘दाहोरो जिम्मेवारीले पार्टीकै जनप्रतिनिधिले गरेको काम सही वा गलत गरे भनेर पार्टीबाटै नियमन वा अनुगमन  गर्ने निकाय नै छैन' उनल भने।

खत्रीले थाहा खबरकै कुराकानीमा सवै तहका सरकारले अपेक्षाकृत राम्रा काम गर्न नसकेको दुखेसो पोखेका छन। सरकारबाट जनताले सकारत्मक अनुभुती गर्न सकेका छैनन। पार्टी नेतृत्व र जनप्रतिनिधी दुवै जिम्मेवारीमा एउटै व्यक्ति हुने विधि र प्रक्रिया जनताले पनि राम्रो मानेका छैनन्।

जिल्लामा पार्टी समायोजन गर्दा पनि गुटगत संक्रिणता, इतिहासमा सक्रियतापूर्वक योगदान गरेका र निरन्तर पार्टीको काममा खटिरहेका साथीहरूलाई पूर्वाग्रह राखेर अन्ययपूर्ण ढंगले जिम्मेवारविहीन बनाउने संकीर्ण प्रवृति नेतृत्वमा देखिएको बताए। ‘फिल्डमा काम गरिरहेका कार्यकर्ताले निरुत्साहीत गराउने कामले जनतामा निराशा र अविश्वास बढेको छ,’ उनले भने, ‘जसले गर्दा पार्टी ध्वस्त हुँदैछ, म ठोकुवाका साथ भन्छु, अबका दिनमा पनि यस्तै प्रवृत्ति अपनाइयो र हाबी भयो भने पार्टीको उधो गतिलाई कसैले रोक्न सक्दैन। यस्तो कुराले पार्टी ओरालो लग्दै जान्छ, उनको सुझाव छ।

खत्रीको नजरमा नेकपा समीक्षा

पार्टी र सरकारले गरेका कमी कमजोरीको समीक्षा नगरे पार्टीलाई ठूलो खतरा रहेको खत्रीको ठम्‍याइ छ। उनले भने, ‘भारतको बंगाल प्रदेशमा कम्युनिष्ट पार्टी र सरकार किन सकियो? त्यस्तो अवस्था नेपालमा भोलि नआउला भन्न सकिन्न।

कार्यशैलीमा सुधार ल्याउनुपर्ने, गुटबन्दीको अन्त्य गर्नु पर्ने, छलफल र बहस पार्टी नीति तथा पद्धतिको आधारमा विचार र पार्टी कार्यदिशामा आधारित हुनुपर्ने खत्रीको सुझाव छ। पार्टी र सरकारको काममा सुधार ल्याउनुपर्ने जरुरी छ। ‘मेरो समीक्षा नेताहरूलाई प्रिय नलाग्ला, कामको प्रशंसा नगरेको भन्ने लाग्ला, यसैले ममाथि नेताको बक्र दृष्टि पर्ला, तर मलाई डर छैन। देखेको कुरा भनेको हुँ, अखिर सत्य तीतो नै हुन्छ। समस्यानै समस्याले नेकपा बेरिँदै छ।’

खत्रीको नाफाको जीवन

'जनयुद्ध'कर्मी खत्री अहिले नाफाको जीवन पाएकोमा खुसी पनि व्यक्त गर्छन्। खत्रीले १० वर्षे 'जनयुद्ध'मा १० वर्ष व्यतित गरेका छन्। सँगै युद्धमा गएका साथी सहकर्मी गुमाएको अनुभव सुनाउने खत्रीले १० वर्ष पूर्णकालीन माओवादी कार्यकर्ता भएरै बिताए।

धेरै जिल्लामा पूर्णकालीन योद्धा भएर काम गरेका खत्रीले उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, रामेछाप, सप्तरी, सिन्धुली, धनुषा लगायतका जिल्लामा समेत राजनीतिक संगाठानिक जिम्मेवारी सम्हालेका छन्। ‘पार्टीले जुन भूगोलमा जिम्मेवारी दिएर पठाउँछ, त्यही भूगोलमा जिम्मेवारी निर्वाह गरेको छु,’ उनले भने, ‘पार्टीले पठाएको ठाउँमा काम गर्दै आएको पनि हुँ, अहिले पनि गरिरहेको छु।’

पूर्वी कमाण्ड अन्तर्गतको धेरै जिल्लामा भएका युद्ध मोर्चाहरू र भिडन्तहरू प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी खत्री भएका छन्। घोडेटार, चोहरवा चुरे क्षेत्र र उदयपुरको महाभारत भेगमा भएका दर्जनौं भिडन्तमा लडेको खत्री बताउँछन्। भिडन्तहरूमा बालबाल बचेको उनी सुनाउँछन्। उनले भने, ‘भोजपुरको तिवारी भन्ज्यङ र चुरेको खुट्टी खोला, पलार जस्ता भिडन्तमा सेकेन्डको भरमा बाँचेको मान्छे हुँ, त्यसैले मैले मेरो जीवनलाई नाफाको जीवनको रूपमा लिएको छु।’

अबको बाँकी जीवन पनि देश जनता र पार्टीको सेवामै समर्पित गर्ने अठोट लिएका छन्। खत्री भन्छन्, ‘पूर्णकालीन रूपले कम्युनिष्ट पार्टीलाई समय दिएको २३ वर्ष भयो। २१ वर्षको ऊर्जाशील उमेरदेखि हालसम्म पूर्णरूपले पार्टीलाई समय दिँदै आएको छु।'

अझै २०/२५ वर्ष पार्टीलाई पूर्ण समय दिन सक्ने उनको सोच छ। त्यो अवसर प्रदान गर्नु वा नर्गनु पार्टीकै विषय भएको खत्रीको बुझाइ छ। खत्रीले उदयपुरको कम्युनिष्ट आन्दोलनको संगठन र संर्घषको इतिहास समेटिएको पुस्तकसमेत लेखेका छन्।

सुत्केरी श्रीमती र छोरो लिएर जंगलमै बसेँ

पार्टी नै घर सम्झेर 'जनयुद्ध' लड्नेमध्येका खत्री एक पात्र हुन्। ‘पार्टी नै घर हो भनेर हिँडेको  पार्टीको सिपाहीँ हुँ' खत्रीले भने। खत्रीको वैवाहिक जीवन यात्रा पनि पार्टीभित्रै भएको हो।

२०५९ माघ १२ गते खोटाङको तत्कालीन फेदी गाविसको सारालुङको चर्च भवनमा भएको राजनीति प्रशिक्षण कार्यक्रममा पार्टी कार्यकर्ता तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमरेड अमृता राई (नम्रता) सँग उनको विवाह भएको हो। पहिलो सन्तान सन्तान छोरो युगिन खत्री पनि युद्धमै जन्मेको उनले सुनाए।

युद्धकालीन अवस्थामा कटारी स्वास्थ्य चौकीमा जन्मेको छोरा र आमालाई नै तत्कालीन नेपाली शाही सेनाले आधार क्षेत्र फर्कंदै गर्दा घेरामा पारेको सम्झना दिमागमा ताजै रहेको उनी सम्झन्छन्। 'कैयौं दिन तत्कालीन दुष्मनले घेरा हाल्दा जनताको सहयोगले परिवार बचाए। सुत्केरी श्रीमती गाउँमा राख्दा गाउँ नै छापा मार्ने, जंगलमा लैजाँदा बच्चा रुने, अनि दुष्मनले जंगल सर्च गर्ने गर्दथ्यो' उनले विगत सम्झिए।

आफू परिवर्तनका लागि जीवन मरणको लडाइँ लडेर राजनीतिक भविष्य खोज्दै जनताको साथ र सहयोगमा आएको राजनीतिककर्मी रहेको खत्री बताउँछन्।

खत्रीको राजनीतिक तथा सांगठानिक यात्रा

हालको कटारी नगरपालिका-८ सिरिसे तथा साविकको सिरिसे ७ पट्नाभन्ज्यङमा बुबा यत्नबहादुर र आमा स्वर्गीय यमकुमारी खत्रीको जेठो सन्तानका रूपमा ०३२ साल पुस २८ गते जन्मेका हुन्।

खत्रीले गाउँमै माध्यमिक तहमा पढ्दै गर्दा राजनीतिक यात्रा सुरु गरेका हुन्। शिक्षामा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका खत्रीले २०४९ सालमा अखिलको जनमुखी माध्यमिक विद्यालय बसेरी हर्देनीको इकाई अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेको बताउँछन्। ‘त्यसपछि म जिल्ला सम्मेलनमा प्रतिनिधि भएर गाईघाट आएको थिए,’ उनले भने, ‘०५० सालको सुरुतिर तत्कालीन नेकपा एकता केन्द्रका नेता पूर्णबहादुर खत्रीले अखिल क्रान्तिकारीमा जोडेर क्रान्तिकारी धारमा लाग्न उत्प्रेरण दिनुभयो, त्यसपछि म, नेकपा एकता केन्द्रको निकट रहेको अखिल क्रान्तिकारीमा लागेँ।’

त्यही अखिल क्रान्तिकारीको २०५० सालमा त्रिवेणी बेलसोतमा भएको जिल्ला भेलाबाट उनी जिल्ला सदस्य बने। ‘२०५२ सालमा अखिल क्रान्तिकारीको कटारीमा भएको प्रथम जिल्ला भेलाबाट उदयपुर जिल्ला संयोजक भएँ,’ उनले भने, ‘०५३ सालमा भएको अखिल क्रान्तिकारीको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए।’

तत्कालीन नेकपा माओवादीमा २०५३ सालदेखि पर्णकालीन भए। अनि २०५३ सालमा संयुक्त जिल्ला समिति तीन नम्वर इलाका सदस्य, २०५६ साल अन्तिमतिर संयुक्त जिल्ला संगठन समिति सदस्य हुन पुगे।

२०५९ सालमा खोटाङ, सोलुखम्बु, भोजपुर र संखुवासभाको केही भूगोललाई मिलाएर बनाएको विशेष जिल्ला सेक्रेटरी र जनकपुर सगरमाथा ब्युरो सदस्यको जिम्मेबारी पाए।

२०५९ भदौदेखि २०६१ कात्तीकसम्म जनकपुर (सगरमाथा ब्यूरो कर्यालय सचिव, ०६१ कात्तीकदेखि २०६२ मध्यसम्म उदयपुर जिल्ला इन्चार्ज भएर काम गरे। २०६२ देखि ०६५ सम्म उदयपुर जिल्ला सेक्रेटरी र साथै पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट उदयपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य भए।

०६८ देखि ०६९ सम्म उदयपुर जिल्लाको पुन जिल्ला इन्चार्ज, ०६९ देखि ०७१ वैशाखसम्म एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको जिल्ला संयोजक, ०७४ सालदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य, हुँदै पोलिटब्युरो सदस्य र उदयपुर जिल्ला इन्चार्ज भएर अहिले नवगठिन सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश-१ समिति सदस्य बनेको बताउँछन्।  

पहिलो संविधानसभामा निर्वाचित भएपछि प्रमाणपत्र देखाउँदै

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.