|

काठमाडौं : भनिन्छ संघर्षले मानिसको जीवनलाई सफल बनाउँछ। संघर्ष गर्न नथाक्ने र नडराउनेहरुले नै सफलताका शिखर चुमेका थुप्रै उदाहरण छन्। यस्तै उदाहरण बनेकी छन् धादिङकी बसुमाया तामाङ। 

बसुमाया अहिले सफल उद्यमी महिलाको रुपमा परिचित छन्। तर, उनले ठूलो फ्याक्ट्री खोलेकी भने छैनन्। गाउँघरतिर पाइने टिमुरबाट बनाइएको छोपले नै उनलाई उद्यमीको रुपमिा परिचित गराएको हो। नेपाली मनको उद्योग स्थापना गरेकी उनले अहिले वर्षमा दुई करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएकी छन्। टिमुरको छोपले उनलाई १० वर्षको अवधिमा सफल उद्यमी बनाएको हो। अहिले उनलाई उद्यमीहरुको सभा, समारोह, बैठकमा जान भ्याइनभ्याइ छ। 

काठमाडौंको मनमैजुमा बसुमायाको नेपाली मनको उद्योग छ। १० वर्षअघि एक हजार रुपैयाँले व्यवसाय थालेकी हुन्। आइएसम्म अध्ययन गरेकी उनले कामका लागि काठमाडौंमा भौतारिँदाको दुःख कति छन् कति। ‘धेरै हण्डर ठक्कर खाइयो, नगरेको काम केही पनि छैन। कुल्ली कामदेखि भाँडा माझ्नेसम्मका काम गरेँ। सिलाइबुनाइ तालिम पनि लिएँ,’ दु्ःखका दिन सम्झिँदै बसुमायाले भनिन्, ‘मैनबत्ती बनाउने तालिम लिएर काम गरें तर कतैबाट केही भएन। म घरमा टिमुरको छोप बनाउँथेँ। छरछिमेकले मैले बनाएको छोप खान्थे। मीठो छ भनेर प्रशंसा गर्थे। मैले यसो सोचें, यो छोप बनाएर बजारमा लग्यो भने त मेरो माग पो बढ्छ कि?’ 

यही सोंचले अहिले बसुमायालाई उद्यामी बनाएको छ। ‘मैले मोजा, स्विटर र टोपी बुनेर कमाएको हजार÷बाह्र सय रुपैयाँ थियो। त्यही पैसाबाट व्यवसाय सुरु गरें,’ उनले संघर्षका दिनहरु सम्झिन्, ‘एक किलोको छोप बनाएर व्यवसाय सुरु गरेको हो। अहिले वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने भइसकेको छु।’ 

बसुमायाले अहिले ४० जनाभन्दा बढी महिलालाई रोजगारी दिएकी छन्। मनमैजुस्थित उनको उद्योगमा कोही खुर्सानी कुट्दै, कोही सिलौटामा लसुन पिस्दै त कतिपय खुर्सानी केलाउन, टिमुर सफा गर्न र प्याकिङको काम गर्न भ्याइनभ्यइ देखिन्छन्। काम पाएपछि आफूहरु खुशी रहेको ती महिलाहरु बताउँछन्। डेढ वर्षदेखि उद्योगमा जोडिएकी अनिता कुँवरले घरको धन्दा भ्याएर बिहान १० देखि बेलुकी ६ बजेसम्म काम गर्दै आएकी छन्। यहाँ काम गर्न पाएकोमा आफुलाई खुशी लागेको यनले बताइन्। ‘बालबच्चा स्कुल पठाएर घरको काम सकाएर यति सजिलोे काम घर नजिकै पाउँदा एकदम राम्रो लागेको छ,’ अर्की कामदार बिमला तामाङले बताइन्।

उनको घरको भित्ताभरी प्रमाणपत्र, प्रसंशापत्र र सम्मानपत्र छन्। बसुमायाको उद्योगको उत्पादन नेपालभन्दा बढी विदेशमा निर्यात हुँदै आएको छ। त्यति मात्र होइन, टिमुरको छोपले नै उनलाई देशविदेश पनि घुमाएको छ। जापन, हङकङ, चीन, भारत, थाइल्यण्ड, फ्रान्ससम्म उद्यमीको परिचय लिएर पुगेकी छन्। यस व्यवसायले जीवनमा सुन्तुष्टि दिलाएको उनको भनाइ छ।

‘कामबाट एकदम सन्तुष्ट छु,। मान सम्मानहरु पाइरहेको छु। देशविदेश घुम्न पाएको छु,’ उनले भनिन्, ‘अरुलाई काम दिन सक्या छु, नेपाली वस्तुलाई प्रवर्द्धन गरेर। यसमै खुशी र गर्व लाग्छ।’ 

नेपाली मनको उद्योगमा मेसिनको प्रयोग गरिँदैन। यस उद्योगको विशेषता सबै कुरा हातैले नै तयार पार्ने हो। छोपका लागि चाहिने सयौं केजी कच्चा पदार्थ सिलौटा र हाते ओखलमा पिसेर तयार पारिन्छ। अझ लोप हुन थालेको ढिकी र जाँतोलाई समेत उद्योगमा प्रयोगमा ल्याई जर्गेना गर्ने उनको योजना छ। 

बसुमायाले धादिङको उद्योगमा आवश्यक टिमुरका लागि सेर्तुङमा रहेको आफ्नो र आफन्तको जग्गामा टिमुर खेती नै थालेकी छन्। नेपालमै दुःख गरे सुन फल्ने खेतबारी बाँझो राखेर विदेशिनुभन्दा टिमुर खेती गरे मनग्य आम्दानी हुने उनको सुझाव छ। 

‘टिमुरको महत्त्व छ। यसलाई जडीबुटीको राजाकै रुपमा लिइन्छ। नेपाली दाजुभाइ विदेशमा जाँदा खेतबारी बाँझो छ। त्यहाँ टिमुर रोपौं, धैर्य गर्नुपर्छ नेपालमै सुन फल्छ नि,’ उनले भनिन् ‘म त त्यही भएर विदेश पनि नजानू भन्छु युवा वर्गलाई। दिदीबहिनीहरुलाई विदेशमा गएर जोखिम मोलेर आउनुभन्दा यहि केही गरौं भन्छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.