|

बुटवलः बुटवल उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण गर्ने भएको छ। आइतबार लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुन लागेको पार्किङसहितको तीन तलाको भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे।  

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आय स्रोतको आधार बन्न सक्ने गरी बहुउद्देश्यीय भवनको उपयोग हुने उपमहानगरपालिकाको विश्वास छ।

प्रमुख सुबेदीले बुटवलमा जनसंख्या र घर निर्माण बढेसँगै जग्गाको अभाव हुन थालेकाले ठूला व्यवसायिक भवन र आवास निर्माणका लागि नगरपालिकाले बिज्ञमार्फत अध्ययन गरिरहेको बताए। सोही अनुरुप यो भवनको शिलान्यास गरिएको उनको भनाई छ। 

‘साना–साना घर बनाएर बस्ने र व्यवसाय गरेर अव यहाँको विकास सम्भव छैन बहुतले भवन बनाउनुपर्छ त्यसका लागि बिज्ञसँग छलफल र प्राविधिक अध्यय्न भइरहेको छ’ प्रमुख सुवेदीले भने,‘अध्ययन पश्चात कति तला सम्मका ठूला भवन बनाउने नगरपालिकाले निणर्य गर्ने छ।’ 

२०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए। बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालीन महत्वका योजनाहरू मध्येकै एउटा योजना अत्याधुनिक पार्किङ भवन अर्थात सपिङ कम्पलेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसंगको सहकार्यमा अरु योजनालाई पनि प्रभावकारी रुपमा अगाडि बढाइने बताए।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरू निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका अर्का इन्जिनियर रुक्मागत बस्यालले बताए। भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर बन्नेछन्। 

शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, वडाअध्यक्षहरू जगदिशचन्द्र आचार्य, पदमबहादुर थापा, भीमबहादुर श्रेष्ठलगायत कार्यपालिका सदस्य, व्यवसायिक संघ संस्थाका प्रमुखहरूको सहभागिता थियो। त्यसअवसरमा निर्माण कम्पनी प्रेम सुनिल समिर जेभिका प्रोपराइटर नारायण पोख्रेलले निर्माण कार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी नागरिक अगुवाले तोकेको समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। बस टर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो। यस्का लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो।

निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.