|

मुगु : जिल्लामा रहेका दुईवटा विशेष शिक्षाका कक्षा अन्तर्गत छायानाथ रारा नगरपालिका २ बाल मन्दिर आधारभूत विद्यालयमा पढ्ने दृष्टिविहीन कक्षाका लागि दक्ष शिक्षक नहुँदा विद्यार्थीको पठन पाठन प्रभावित हुँदै आएको छ।

एकदेखि पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै विशेष कक्षा सञ्चालन हुँदै आएको छ। २०६० बाट दृष्टिविहीन विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन हुँदै आए पनि अहिले ब्रेल लिपि भाषासम्बन्धी तालिम प्राप्त शिक्षक नभएपछि दैनिक रुपमा विशेष शिक्षाको कक्षा सञ्चालनमा समस्या आएको हो। 

'विद्यालय खुलेको चार महिना भइसक्यो। हामीलाई पढाउने सर आउँदैनन। अरु कक्षाका साथीहरू पढ्छन्। हामी सुनी मात्र बस्छौं। यस्तै भयो भने परीक्षा कसरी दिने?' आधारभूत विद्यालय बाल मन्दिरका विशेष शिक्षा कक्षा ४ मा पढ्ने दृष्टिविहीन विद्यार्थी अनिल शाही गुनासो गरे। 

धेरै पटक नगरपालिकामा पुगेर दृष्टिविहीन कक्षाका लागि एक शिक्षक दरबन्दी व्यवस्था गरी दिन अनुरोध गरे पनि नगरपालिकाले वेवास्ता गरेको आधारभूत विद्यालय बालमन्दिरका प्रधानाध्यापक दिलिपकुमार शाहीले बताए।

लामो समयसम्म दक्ष तालिम प्राप्त शिक्षक नहुँदा दृष्टिविहीन विद्यार्थीको कक्षा प्रभावित हुन थालेपछि विद्यालयमा कार्यरत अरु शिक्षकले सकी नसकी कक्षा सम्हाल्नु परेको शाहीको भनाई छ। नगरपालिकामा धेरै पटक गुनासो राखेपछि छायानाथ रारा नगरपालिका ६ मा रहेको आधारभूत विद्यालयमा कार्यरत शिक्षिका बोविमाया घर्तीलाई  काजमा पठाएको शाहीले बताए।

विगतमा दृष्टिविहीनका लागि हिरालाल रावतले काम गर्दै आइरहे पनि शिक्षा सेवा आयोगको आन्तरिक परीक्षामा उतीर्ण  नभएपछि रावतको जागिर गएको र उनको दरबन्दीमा अहिलेसम्म कोही नआउँदा समस्या भएको हो।

यसरी विद्यार्थीको पठन पाठनमा समस्या आएको र नगरले पनि वास्ता नगरेपछि जिल्लामा कार्यरत अपांग पुनस्थापना तथा ग्रामीण विकास संस्था (डार्डो ) नेपाल युएमएन मुगुसँग अनुरोध गरेपछि माध्यामिक तहसम्म दृष्टिविहीनका लागि पढाई भइरहेको जुम्लाको भैरब माध्यामिक विद्यालय नरकोटका शिक्षक रावतलाई ल्याएर एक हप्ताको ब्रेल भाषा प्रशिक्षण दिइएको आधारभूत विद्यालय बाल मन्दिरले जनाएको छ।  

एक हप्ताको प्रशिक्षणमा ब्रेल लिपिसम्बन्धी आधारभूत ज्ञान सिकेको र यसले दृष्टिविहीन विद्यार्थीलाई पढाउन सकिने भए पनि यति नै पूर्ण नभएको तालिममा सहभागि शिक्षिका जानसा मल्लले बताइन।

दृष्टिविहीन विद्यार्थीका लागि कर्णाली प्रदेश सरकारले अहिलेसम्म वेवास्ता गरेको र विगत दश पन्ध्र वर्षदेखि आफूले गैर सरकारी संस्थामार्फत न्यून पारिश्रमिकमा माध्यामिक तहसम्मका दृष्टिविहीन विद्यार्थीलाई पढाउदै आएको प्रशिक्षक रावतले बताए।

अहिले बाल मन्दिरमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि आयोजना गरिएको ब्रेल लिपि प्रशिक्षण अवधि निकै छोटो भएको र यसलाई कम्तीमा एक महिना चलाउनु पर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.