गुफाको भू-बनोट विश्वमै अनौठो
गुफाको भू-बनोट विश्वमै अनौठो
उदयपुर : प्रदेश-१ मा पर्ने खोटाङ हलेसी पूर्वी नेपालकै पशुपतिनाथ भनेर चिनिन्छ। धार्मिक पर्यटनका लागि प्रमुख गन्तव्य हो, हलेसी तीर्थयात्रा। समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा अवस्थित छ हलेसी मन्दिर।
‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ। हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमिका रूपमा लिन्छन्।
गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ। मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन्।
त्रिवेणी धार्मिक स्थल हलेसी
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीयस्थल पर्छ। हिन्दू धार्मिक किम्वदन्तीअनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस’ भन्ने वरदान मागेका थिए।
भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भनेर बरदान दिए। तर, पछि वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो। भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भएको किम्बदन्ती छ।
यस्तै बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो। बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दै आएका छन्।
फेरि यता ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्तीमा उल्लेख भएको पाइन्छ। बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पूज्ने गर्छन्।
यस्तो धार्मिक विश्वास
हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ।
मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन। जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ। त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ। यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन्। हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।