पोखरामा सुईबाट मात्रै ड्रग्स सेवन गर्नेको संख्‍या तीन हजार बढी

|

पोखरा : नेपालमा राजधानी काठमाडौंपछि सबैभन्दा धेरै पोखराका युवाहरू दुर्व्यसनीमा फसेको बतान्छ। पोखरालाई ट्रान्जिटको रूपमा हेरिन्छ। पहिले विभिन्न माध्यमबाट ड्रग्सको सेवनमा लागेका किशोर-किशोरी र युवा अहिले इन्जेक्सनबाट सिधै ड्रग्सको डोज पूरा गरिरहेका छन्।

पहिले मानिस बिरामी हुँदा सेवन गर्ने औषधिलाई बिना बिरामी धेरै मात्रामा प्रयोग गरेर मानिसहरू ड्रग्समा फस्ने गर्थे। अहिले समय फेरिएको छ। ड्रग्स सेवन गर्नेहरूको परिपाटी पनि फेरिएको छ।

पहिले खोकी लाग्दा बिरामीले खाने फेन्सिडिल नामको औषधि धेरै खाएर ड्रग्सको प्रयोग गर्नेहरूले डोज पूरा गर्थे। अहिले यो उत्पादन नै हुन छोड्यो त्यसको नसामा झुम्न बानी परिसकेकाहरूले इन्जेक्सनलाई रोजे। ‘सुईबाट प्रयोग गर्ने सबै सामानहरू महंगो हुने,’ लागुऔषध न्यूनीकरणको क्षेत्रमा झण्डै दुई दशकदेखि पोखरामा काम गर्दै आएका लालबहाद गुरुङले भने, ‘सुई र सुईमा भरेर प्रयोग गर्ने सामानहरू किन्न नपाइने। इलिगल रूपमा भने पाइने। तर, पनि प्रयोगकर्ताहरूले प्रयोग गर्न छोडेनन्।’

पोखरामा लागुपदार्थ दुर्व्यसनीमा लागेकाहरूको न्यूनीकरणमा काम गर्ने एक मात्र संस्थाका कार्यक्रम व्यवस्थापकसमेत रहेको गुरुङका अनुसार लागुपदार्थ प्रयोगकर्ताकै भाषामा ‘सेट’ मिलाउन विशेष गरी तीनवटा औषधिहरू मिसाउने गरेको पाइएको छ।

‘उनीहरूले यसलाई सेट भन्छन्,’ उनले भने, ‘ड्रग्सको डोज मिलाउनलाई नुर्फिन, डाइजोपाम र फेनार्गन मिसाउँछन्। यति मिलाएपछि तीन डोज बन्दो रहेछ।’

महँगो तर, दैनिक प्रयोग कसरी?

नियमित ड्रग्स सेवन गर्नेहरूले हरेक दिन कम्तीमा पनि १२ सय रुपैयाँ खर्चनुपर्छ। यो दैनिक खर्चनको लागि चानचुने कुरा हुँदै होइन। सन् २००५/००६ ताका पोखरा सिटीभित्र सयजना युवामा ९० जना युवाले नियमित ड्रग्स सेवन नगरे पनि चाखेको वा एक पटक प्रयोग गरेकै पाइएको थियो।

तर, अहिले १०० मा ४० जना युवायुवती यसको सेवनमा रहेको हुनसक्ने अनुमान छ। यसको वास्तविक तथ्यांक भने कतै भेटिँदैन। पछिल्लो समय सचेतनाको क्रियाकलाप, मानिसहरू शिक्षित हुन थालेकोले यसको दर घटेको हो।

‘ड्रग्स नियमित गर्नेले एकै पटक इलिगल रुपमै भएनी धेरै ल्याउने रहेछ,’ त्यस्ता प्रयोगकर्तासँग गरेको कुराकानीलाई आधार मानेर उनले भने, ‘त्यसरी ल्याएको आधा सामान आफुले नै यूज गर्न राख्ने, आधा त्यस्तै प्रयोग गर्नेलाई बिक्री गर्ने पनि गर्ने रहेछन्। त्यसरी आएको पैसाबाट अर्कोपटकलाई सामान किन्ने रहेछन्।’

कम्युनिटी सपोर्ट ग्रुपले अहिले एचआइभी संक्रमण नहोस्, हेपटाइटिस 'बि' र 'सि' पनि नहोस् भनेर क्षति न्यूनीकरणको कार्यक्रम गर्दै आइरहेको छ। उनीहरूले यो कार्यक्रम चलाइरहँदा तीन जनामा एचआइभी संक्रमण भएको भेटिसकेका छन्।

कति छन् पोखरामा त्यस्ता मानिस?

पोखरामा सुईबाट मात्रै ड्रग्स प्रयोग गर्नेहरूको संख्या तीन हजार एकसय १५ जना हुन सक्ने अनुमान नेपाल सरकारको छ। यो २०१७ मा गरेको सर्वेक्षण देखाएको हो। राष्ट्रिय रूपमा अधिकतम ३४ हजार सातसय ३५ जना हुन सक्ने अनुमान छ।

ड्रग्सको प्रयोगकर्ता किशोर अवस्थादेखि युवायुवती र ५० वर्षसम्मका मानिस रहेको पाइन्छ। पछिल्लो सरकारी तथ्यांकअनुसार कास्कीमा लागुपदार्थ सेवन गर्नेहरूको संख्या ६ हजार नौ सय १७  छ। यो २०६९ सालको तथ्यांक हो।

योभन्दा पहिले २०६३ मा पाँच हजार एक सय १२ मात्र थियो। अब छिटै सर्वेक्षणको तयारी नेपाल सरकारले गरिरहेको छ। विभिन्न क्षेत्रबाट भएका प्रयासबाट अब हुने सर्वेक्षणमा संख्या घट्ने अनुमान लालबहादुर गुरुङको छ।

कसरी सुरु गर्छन त ड्रग्स सेवन?   

ड्रग्सको सेवन मानिसले यत्तिक्कै गर्दै गर्दैन। कहिलेकाहीँ त्यसको अनुभव गर्नु छुट्टै कुरा हो। तर, नसाकै रूपमा त्यसलाई लिन थाल्नुका पछाडि धेरै कारणहरू छन्। पहिलो त उमेर चढ्दै जाँदा जस्तोसुकै जोखिम पनि मोल्न तयार हुन्छ मानिस। अर्को जीवनमा एकपटक चाखौँ न त भनेर चाख्ने अनि पछि नसाकै रूपमा नियमित सेवन गरेको पनि पाइन्छ।

एउटाले त्यसको नियमित प्रयोग गर्छ भने साथीको लागि यत्ति पनि गर्दैनस् भन्ने, भावनात्मक कुराहरूले पनि यसमा लागि रहेको पाइन्छ। अर्को महत्वपूर्ण कुरा पारिवारिक वातावरणको कारणले पनि किशोरकिशोरीहरू ड्रग्सको शिकार भइरहेका छन्। परिवारको वातावरणसँग वाक्कदिक्क भएको बच्चाले लागुऔषध प्रयोगको बाटो रोजेको लालबहादुरको अनुभव र अध्ययनले देखाउँछ।

‘सबैभन्दा ठूलो कुरा त पारिवारिक वातावरण कस्तो भन्नेले जनाउँदो रहेछ,’ उनले भने, ‘परिवारमा सधैँ टर्चर दिने, परिवारका सदस्यले खाली नराम्रो भइस्, बिग्रिस् मात्रै भन्ने उसलाई हौसला, प्रोत्साहनभन्दा पनि गाली अनि भेदभावको रूपमा हेरेपछि ऊ चाहिँ यसमा लाग्दो रहेछ।’

आफ्नो छोराछोरी ड्रग्समा फसेको थाहा पाउने अभिभावकले यसलाई समस्या नभई इज्जतसँग जोडेर हेर्नेगर्नाले पनि यो ठूलो दुर्घटनाको खाडलतिर लम्किरहेको उनी बताउँछन्।

‘बच्चाले यसको सेवन गर्ने गरेको थाहा पाएका अभिभावक यसलाई समस्याको रूपमा स्वीकार्दैनन्,’ उनी भन्छन्, ‘अभिभावकले यसलाई समस्याको रूपमा ग्रहण गरेर समाधान खोज्नतर्फ लाग्ने हो भने मात्रै पनि यसको धेरै न्यूनीकरण हुने देखिन्छ। तर, त्यस्तो हुँदैन। अभिभावक यसलाई इज्जतको रूपमा हेर्छन्। सेवनकर्तालाई झन घृणा गर्छन्। उनीहरूले माया नपाएपछि झन नसामा झुम्न थाल्छन्।’

अहिले लागुपदार्थ प्रयोगकर्ताहरूको परिपाटी पनि फेरिएको छ। पहिले पोखरामा मनोरञ्जनको माध्यम कहीँ-कहीँ रहेको फिल्म हलबाहेक खासै केही थिएनन्। अहिले जहाँतहीँ बार, क्लबहरू, मेला महोत्सव धेरै हुने गरेका छन्। अहिले ड्रग्सलाई पार्टीहरूमा पनि प्रयोगमा ल्याउन थालिएको छ।

पार्टीमा रक्सीहरूबाहेक नै ड्रग्सले जस्तै काम गर्ने केमिकलयुक्त वस्तु मिसावट गरेर त्यसको सेवन गरेर पनि मानिसले ड्रग्सको न्यास्रो मेट्ने गर्छन। अर्को कुरा सिरिन्जबाट ड्रग्स सेवन गर्नेहरू कुनै रमाइलोमा, मेला पर्वमा पनि कमै जान्छन्।

अनि उनीहरूको लत छुट्दैन . . .

साथीसंगीको संगत या अरू कुनै कारणले ड्रग्समा फसेको उसलाई ड्रग्स सेवन गर्न हुँदैन, म गलतबाटो रोजेको छु भन्ने थाहा हुँदा हुँदै पनि सेवन गरिरहन्छ। यसको पछाडि थुप्रै कारणहरू छन्।

‘उनीहरू मानसिक रूपमा, शारीरिक रूपमा भावनात्मक कुराहरू सुन्ने मुडमा हुँदैनन्,’ उनले भने, ‘उनीहरूलाई कसैले रोजगारी पनि दिँदैन, सीप पनि प्रयोगमा आउँदैन। कहिलेकाहीँ उनीहरूसँग भेटेर यस्तो युज नगर भन्दा अब छोड्ने हो दाई छोड्ने हो भन्छन्।

यस्तै टाइपको जवाफ आउँछ। उनीहरूलाई यसले जीवन बर्बाद पार्छ भन्नेनी थाहा छ। एक दिन छोड्नै पर्छ भन्ने पनि थाहा छ तर, किन रेगुलर युज गरिराख्छन् यसको उत्तर अहिलेसम्म पाइएन।’ परिवार समाज नै नलागे यो न्यूनीकरण हुनेमा लालबहादुर शंका गर्छन्।

ड्रग्सको शैली नै फरक

नेपालकै पूर्वी क्षेत्र, काठमाडौं र पोखरा आसपासमा ड्रग्स प्रयोगकर्ताको अवस्था फरक-फरक देखिएको छ। नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा काठमाडौं, पोखरा र पूर्व क्षेत्रमा प्रयोग हुने लागुऔषधको अवस्था र प्रकृति फरक देखिएको हो। प्रहरीले पुर्वी क्षेत्रमा सबै भन्दा ड्रग्स तथा लागुऔषधको प्रयोग हुने भनिएको मोरङ जिल्लालाई आधार मानेर अध्ययन गरेको थियो।

तीन महिना लगाएर गरिएको अध्ययनमा यहाँ इन्जेक्सनमार्फत ड्रग्सको सेवन गर्नेको संख्या धेरै छ। अध्ययनका क्रममा एक हजार ६ सय १८ लागुऔषध प्रयोगकर्तासँग सोधपुछ गर्दा औषधिजन्य ड्रक्स कोरेक्स, फेन्सिडिल नाइट्रोजनलगायत सेवन गर्ने गरेको भेटिएको प्रहरी स्रोतले जनायो।

चिकित्सक के भन्छन्?

लागुपदार्थ प्रयोग गरेकालाई नजिकबाट नियाली रहेका, उनीहरूको स्वास्थ्यजाँचमा संलग्न रहेका चिकित्सक हुन् डा. मैनलाल झा। उनी पनि परिवारकै कारणले मानिसले ड्रग्सको प्रयोगको सुरु हुने बताउँछन्।

‘मेरो झण्डै २० वर्षभन्दा धेरै अनुभवले पनि यै भन्छ, किशोर किशोरीको, युवायूवतीको पहिलो ड्रग्स परिवारबाट सुरु हुन्छ। परिवारको ड्रग्स भनेको कुनै नसा हैन वातावरण हो,’ उनले भने, ‘उनीहरूलाई राम्रो वातावरणमा हुर्काउन सके, शिक्षा दिन सके यो समस्या नै आउँदैन।’

पोखरा महानगरपालिकाभित्र सुईद्वारा लागुऔषध प्रयोगकर्तामा एचआइभी संक्रमणको दर केही न्यून भएको पाइन्छ। २००३ मा २२ प्रतिशत त्यस्ता मानिस थिए, २००५ मा २१ प्रतिशतमा झरे। २००७ मा ६.८ प्रतिशतमा झरे, २००९ मा ३.४ प्रतिशत, २०११ मा फेरि बढेर ४.६ प्रतिशत, २०१५ मा घटेर २.८ मा झर्‍यो। यो संख्या २०१७ मा बढेर फेरि ४.९ प्रतिशतमा उक्लियो। केन्द्रीय तथ्यांक विभागले नयाँ तथ्यांकको लागि अहिले पुनः सर्वेक्षण गर्ने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.