|

काठमाडौं : महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न पर्यटकीय पूर्वाधारका लागि गुरुयोजना बनाएर काम गर्ने बताएका छन्। 

आइतबार आयोजना गरिएको ‘हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्धन एवं विकासका लागि आयोजित कार्यशाला गोष्ठी’मा  उनले भने,' सहरी योजनामा युवा इञ्जिनियरहरू हुनुहुन्छ, डिजाइन बनाउनुपर्‍यो भने उहाँहरुले सहयोग गर्नुहुन्छ।

यसको बिकासका लागि आर्थिक सहयोग चाहियो भने हाम्रो वडाध्यक्ष (वडाध्यक्ष रमेश डंगोललाई देखाउँदै) मार्फत योजना लिएर आउनोस्। तपाईँले महानगरको जिम्मामा परेको भनेर महसुस गरेको ठाउँमा हामी सहयोग गर्छौं।'

कार्यक्रममा प्रा. डा. सुदर्शनराज तिवारी र डा. यज्ञनाथ आचार्यले हाँडी गाउँको सांस्कृतिक महत्व र पर्यटकीय सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरे। यसै क्रममा डा. आचार्यले भने, 'आजभन्दा ४० वर्षअघि यस वडामा ९ वटा पोखरी थिए, अहिले एउटा बाँकी छ। ५ वटा ढुङ्गेधारा थिए, अहिले एउटा छ, चोक चोकमा इनार थिए, अहिले माली गाउँमा एउटा मात्र बाँकी छ।'

उनका अनुसार विभिन्न समय र पर्वमा १४ प्रकारका बाजा बजाइन्थे अहिले ११ थरीका बाजा मात्र बाँकी छन्। यी त उदाहरण मात्र हुन्। यस्ता धेरै सम्पदा मासिएर गए, अब पनि जोगाउनतिर नजाने हो भने हाँडीगाउँको सभ्यता पुस्तकमा मात्र बाँकी रहेको उनले जानकारी दिए ।

प्राडा. तिवारीले हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइने पनि सुनाए। यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्वलिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइने उनले बताए।

उनका अनुसार  इसापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन्। कार्यपत्रहरुमाथि टिप्पणी गर्दै संस्कृतिबिद् प्रा. दिनेशराज पन्तले हाँडीगाउँ लिच्छविकालीन नेपालको राजधानी भएको ठाउँ भएकोले यसको अवस्थितिलाई त्यही कालको झल्को दिने खालका बनाउन सुझाव दिए।

कार्यक्रममा हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले  हाँडीगाउँको प्राचीनता जोगाउन महानगरले छुट्टै मापदण्ड बनाएर लागू गर्नुपर्ने धारणा व्‍यक्त गरे। हाँडीगाउँको मौलिकतालाई पर्यटनसँग जोड्न आफूहरूले २०५९ सालदेखि काम गरिरहेको श्रेष्ठको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.