|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रूतगतिमा आर्थिक विकास गर्ने बताएका छन्। 

एशिया प्रशान्त क्षेत्रको नागरिक हवाई नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। 

 प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरु भएको बताएका छन्। 

‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुन संशोधन गर्छौं।’

प्रधानमन्त्रीले नेपाल भौगोलिकसँगै अन्य विविधतायुक्त देश भएकोले यहाँ द्रूत विकासको सम्भावना रहेको बताए। 

विश्वकै आकर्षकमध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराए। ‘यो राइनो होइन गैंडा हो गैंडा’, प्रधानमन्त्रीले भने, ‘यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।’

नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्रै नभइ विश्वका अग्ला हिमालमध्ये धेरैवटा नेपालमै रहेको उनले बताएका छन्। नेपाललाई विश्वमै सुन्दर देश भनेर मात्रै परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’, उनले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्रगतिमा अघि बढाउनु पर्दछ ।’

प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न बर्षेनि लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ । 

‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं’, ओलीले भने, ‘यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्।’

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.