|

कपिलवस्तु : कपिलवस्तुस्थित भारतीय सीमामा रहेका सीमास्तम्भ बाढीले करिब एक महिना भयो। तर, अहिलेसम्म मर्मतसम्भार भएको छैन।

सीमास्तम्भ मर्मतसम्भारका लागि नेपाल–भारतका सीमा सर्वेक्षण टोली नखटिइ काम अगाडि नबढ्ने भएकाले अहिलेसम्म अलपत्र भएको हो। सीमास्तम्भ मर्मत गर्न कसैले चासो नदिएको स्थानीयको गुनासो छ। विजयनगर गाँउपालिका–५ स्थित चिरई खोलाले चार वटा सीमास्तम्भ ढलेको थियो।

विजयनगर गाउपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको सिमास्तम्भ नम्बर ५७८/७ ढलेको छ। ढलेको सिमास्तम्भ अझै पानीमा डुबेको छ। सोही सिमास्तम्भको आधा किलोमिटर उत्तरमा नम्बर ५७८/१० को सिमास्तम्भ पनि पानीमै लडेको छ। वडा नम्बर ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको सिमास्तम्भ नम्बर ५७७/७ र ५७७/९ ढलेका छन्। ५७७/९ नम्बरको पिलर तेर्सो परेर वालुवामा धसिएको छ। ५७७/७ नम्बरको सिमास्तम्भ पानीमा डुबेकाले देखिनै छोडेको छ। गेडवाजोतकै ५७७/६ नम्बरको सिमास्तम्भ ढल्न अवस्थामा पुगेको छ।

सुरक्षा निकायसँग चारवटा सीमास्तम्भ ढलेको तथ्याङ्क भए पनि विजयनगर गाउपालिका–१, चमरमा अरर्रा नदीको भेलले थप २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनाएको छ। गुगौली रेन्जपोष्टका वन रक्षक नारायणप्रसाद तिमल्सिनासहितको साता दिनअघि सीमास्तम्भ क्षतिग्रस्त भएको पाएको हो। सो स्थानमा पुग्दा एउटा सीमास्तम्भ बाढीको भेलमा पुरिएको र एउटा सीमास्तम्भ टुक्रिएको फेला परेको वन रक्षक तिमल्सिनाले बताए। 

सीमास्तम्भ लडेको एक महिना बित्दा पनि मर्मतका लागि कुनै पहल नभएको विजयनगर–५ ठकुरापुरका रामबहादुर थापाले बताए। उनले भने, ‘अहिलेसम्म न त सीमास्तम्भ निर्माणको पहल भएको छ। न त सुरक्षा निकायका जिल्लाका प्रमुखहरु नै आएका छन्।’

बाढीले सीमास्तम्भ लडाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले निगरानी गर्दै आएको छ। सीमास्तम्भ क्षतिग्रस्त भएपछि चन्द्रौटास्थित सशस्त्र प्रहरीको प्रदेश ५ को बिन्दबासिनी बाहिनीका बाहिनीपति नारायणदत्त पौडेल र तत्कालीन सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति प्रहरी उपरीक्षक दीपक अधिकारीको टोलीले स्थलगत अवलोकन गरेको थियो। सीमास्तम्भ ढलेबारे सम्बन्धित निकायमा जानकारी दिइएको र नियमित निगरानी गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए।

यता, नापी विभागका सूचना अधिकारी दामोदर ढकालले वर्षाका भेलले बगेका सीमास्तम्भ तत्कालै मर्मत वा निर्माण गर्न सक्ने अवस्था नभएको बताउँछन्। सीमास्तम्भ ढलेको र बगेको स्थानमा नक्सा र कोडिङका आधारमा सीमास्तम्भ राख्न दुवै देशको सीमा सर्वेक्षण टोलीको आवश्यकता रहने ढकालले प्रष्टीकरण गरे। 

‘संयुक्त सर्वेक्षणअन्तर्गत सीमा मर्मतसम्भारको कार्यअन्तर्गतको फिल्ड कार्य सञ्चालन कात्तिक वा मंसिर महिनामा हुन्छ,’ उनले भने, ‘त्यसअघि छुट्टै टोली खटिनेभन्दा सोही दुई पक्षीय टोलीको उपस्थितिमा कार्य अगाडि बढ्छ।’ 

कपिलवस्तु जिल्लासँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन्। दुई देशका सीमामा ४६ मुख्य सीमास्तम्भ (मेन पिलर), २२६ सहायक सीमास्तम्भ (सब्सिडायरी)  र २६० साना सीमास्तम्भ गरी कुल ५३२ सीमास्तम्भ छन्। तीमध्ये हाल तीन मुख्य सीमास्तम्भ, १६ सहायक सीमास्तम्भ र ६ साना सीमास्तम्भ गरी कुल २५ सीमास्तम्भ बन्न बाँकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.