|

तनहुँ : शहर वा गाउँका बालबालिकादेखि युवा, प्रौढ सबै प्रविधिको प्रयोग र इन्टरनेटबिना एकपल पनि बस्ने नसक्ने भइसकेका छन्। अहिलेको युगमा बालबालिका युट्युव, पव्जी, विभिन्न चलचित्र, कथा, खेलकुदका कार्यक्रम, अनलाइन गेममा व्यस्त भएको भेटिन्छन्।

धेरै ठाउँका बालबालिका खेलकुद, पढाई, अनलाइन गेमका साथै सामाजिक सञ्जाल समेत प्रयोग गर्दै च्याटिङ गर्ने गरिरहेका भेटिन्छन्। तर तनहुँको म्याग्दे गाउँपालिका १ गुणादी शान्तिटोल खनाल बस्तीका ६ देखि १३ वर्ष उमेर समूहका बालबालिकाले भने बैठकबाट निर्णय गरी सामाजिक काममा लागेका छन्, नमूना काममा लागेका भेटिन्छन्।

शनिबार वा बिदाको दिन पारेर घरबाट लहरै लागेर एक ठाउँमा बैठक बसी सामाजिक कामका बारेमा छलफल गरेर कामतर्फ जाने गरेका छन् उनीहरू। घरबाट माइन्युट, गैंची, सावेल, कुटो, कोदालो, हंसिया, ठेला र एउटा झोला सहित चौरमा गएर गोलाकार अवस्थामा बसेर फटाफट माइन्युटमा उपस्थिति उठाउन थाल्छन्।

माइन्युटमा उपस्थितिसँगै पालैपालो एकएक गरी उठेर समस्याको प्रस्ताव राख्ने र निर्णय गर्ने काम समेत गर्दछन् उनीहरू। बैठकमा निर्णय गरिएका विभिन्न सामाजिक कार्यहरूमा निस्कने गरेका छन् गाउँ भरिकै वालबालिका हरेक महिनाको एक पटक बैठक बसेर महिनामा के के काम गर्ने, कहाँ के भएको छ, कसरी गर्ने भन्ने विषयको निर्णय गरेर शनिबार लगायत विद्यालय बिदाको दिनमा सामाजिक काममा जुट्दै आएको उनीहरू बताउँछन्।

तीन हप्ता अगाडि एउटा क्लवको स्थापना गरी विभिन्न एजेण्डासहितको काम गर्दै आएको उनीहरू बताउँछन्। अहिले उनीहरूले चेतना जागरण बाल क्लब नामकरण गरी काम गर्दै आएका छन्। हप्ताको एक पटक गाउँ वरपरका बाटोघाटो, फोहोरमैला सरसफाई लगायतका काम गर्दै आएको उनीहरूको भनाई छ। हुन त उनीहरूको यो उमेर विद्यालय जाने, पढाइलाई प्राथमिकता दिने, खाने, खेल्ने भए पनि उनीहरूले सामाजिक सेवालाई अध्ययनसँगै अगाडि बढाउँदै आएका छन्। 

मुलुककै नमूना बालबालिकाको समूह

हरेक क्षेत्रमा बाल क्लवहरू गठन भए पनि बालबालिकाको अग्रसरतामा बाल क्लव स्थापना गरी काम गर्ने गरेको पाइँदैन। बालबालिकाकै नेतृत्वमा आफूहरू मात्रैको सल्लाहले सामूहिक काम गर्न अग्रसर बालबालिकाको समूह बिरलै भेटिन्छ होला। म्याग्दे गाउँपालिका स्रोत व्यक्ति हुतमणि अधिकारीले सानो उमेरका बालबालिकाले विकासका काममा सचेत हुनु नमूना भएको बताए। उनले भने, ‘यहाँका बालबालिकाको जस्तो सोच्ने र निर्णयसहित काम गर्ने बालबालिका भेटिँदैन। यो नै नमूना र पहिलो नै हुन सक्छ।’

यी बालबालिकाले जसरी विकास निर्माणमा युवा तथा नेतृत्व तहमा रहेका व्यक्तिले पनि सोच्ने हो भने विकासले गति लिने जिल्लावासीको भनाई छ। यी बालबालिकाको सोच कसरी बन्यो भन्नेहरूको जमात उस्तै छ। 

सायद नेपालमा नै यी साना बालबालिकाले जसरी योजनाबद्ध र सामूहिक रुपमा काम गर्ने पहिलो तथा नमूना हुने अपेक्षा स्थानीयवासीको छ। यो बाल क्लव देशकै नमुना बाल क्लव हुन पनि सक्ने अनुमान गर्न सकिन्छ। अध्ययन अनुसन्धानले पनि यी बालबालिकाको सोच र दुरदर्शी काम गर्ने भावना सायद भेट्न सकिँदैन।

अब यस्ता प्रेरणाका स्रोत बनेका बालबालिकालाई भविष्यमा पनि देशको विकास निर्माणलाई सचेत बनाउन सबै पक्षको साथ सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। 

विद्यालय जाने बाटो आफैंले मर्मत्

गाउँमा युवा नहुँदा विद्यालयले जाने आउने बाटो हिलाम्मे, झाडीले बाटो पहिल्याउन समेत सास्ती भएपछि सामाजिक काम गर्न प्रोत्साहन मिलेको चेतना जागरण बाल क्लवका अध्यक्ष साशोत खनालले बताए। विद्यालय जाने बाटो फोहोर झाँडीका साथै हिलाम्मे हुँदा हिड्न समस्या भएकाले साथीसँग सल्लाह गरेर सामाजिक काममा अगाडि बढेको उनको भनाई छ।

‘हामी विद्यालय जाने बाटो सधैं हिलो हुने र विद्यालयको बस गाउँसम्म आउन नसक्ने हुँदा यो सोच बनाएका हौं। अनि गाउँका बृद्धबृद्धा भएका हजुरबुवा, हजुरआमालाई हिलोले हिड्न अप्ठ्यारो भएको देखेर बाटो बनाउन हामी नै लाग्नुपर्छ भन्ने सोच आयो' बाल क्लवका अध्यक्ष खनालले भने,'विशेषतः बाटो हिलाम्मे हुँदा नै हामीले यो कदम चालेका हौं। हामीले सबै मिलेर खाल्डाखुल्डी पुर्ने, गाउँको सरसफाई आफैँले गर्दै गर्दा हाम्रो लागि बाटो सफा हुने रहेछ भनेर प्रेरित हुँदै गयौ। अभिभावकको साथ, सहयोग र  प्रोत्साहनका आधारमै हामीले काममा निरन्तरता दिइरहेका छौं।’ 

सबै १३ वर्ष मुनिका बालबालिका

पृथ्वी राजमार्गको छेउमै भएको गाउँमा सडक हिलाम्मे हुँदा विद्यालय जान, गाउँका बृद्धबृद्धाले सास्ती खेपेको देखेर पनि आफैले समस्या सुल्झाउन काम गर्नुपर्छ भन्ने सोच हामीमा उब्जिएको उनीहरू बताउँछन्।

कक्षा तीनदेखि सातसम्म अध्ययनरत बालबालिकाले यसरी मिलेर काम गर्दा सजिलो हुने र बाटो पनि सफा बन्ने विश्वासले गर्दा काम गर्न थालेको क्लवका सचिव रोशन खनालले बताए। 

‘विशेष गरी हामीलाई पानी पर्दाका समयमा विद्यालय जान हिलाम्मे बाटोले विद्यालय पोशाक बिग्रिने, हिलोको चिप्लोमा लड्ने समस्याले हामीलाई सामाजिक काम गर्न प्रोत्साहित गरेको हो’, उनले बताए। यसरी गैंची, सावेल, कुटो, कोदालो, हँसिया, ठेला लिएर निस्कँदा पहिले अभिभावकले पढ्न छोडेर यस्ता काममा लागेको भनेर कराउने गरेपनि पछि राम्रो काम गरे भनेर अभिभावकले पनि प्रोत्साहन, सहयोग गर्ने गरेको उनीहरू बताउँछन्।

उनीहरूका अभिभावकले पढ्ने र खेल्ने समयमा सामाजिक सेवामा लाग्दा अध्ययनमा समस्या बताए पनि पढाई र कामको समयको आफैंले व्यवस्थापन गर्ने भनेपछि भने अभिभावकले स्वीकृति दिएको उनीहरू बताउँछन्। 

अशक्त बालवालिका र बृद्धबृद्धालाई सहयोग

१२/१५ जनाको समूहमा बनेको बाल क्लवका बालबालिकाले मासिक शुल्क १० रुपैयाँ समेत उठाउने गरेका छन्। उठाएको मासिक शुल्क जम्मा गरी विद्यालय जान नसकेका न्यून वर्गका बालबालिकालाई सहयोग गर्ने, अशक्त बालबालिका तथा बृद्धबृद्धालाई सहयोग गर्ने उद्देश्य उनीहरूले लिएका छन्।

हालसम्म वाल क्लवका सदस्यहरूले जम्मा १४० रुपैयाँ संकलन गरेको बताए। अहिलेसम्म उनीहरूले सामाजिक कार्यका लागि कुनै पनि संघसंस्थाको सहयोग मागेका पनि छैनन् र हालसम्म कहींबाट पनि सहयोग प्राप्त समेत नभएको बालबालिका बताउँछन्।

विकासका कामका लागि बजेट चाहिन्छ, बालबालिकाहरुका लागि गाउँपालिकाले कति विनीयोजन गरेको भन्ने समेत उनीहरूलाई थाहा छैन। तर उनीहरू गाउँको विकासमा भने जुटेका छन्। यी बालबालिकाले गरेका कामलाई ठूलाबडाले पनि अनुसरण गर्न सके समयमै देशको विकास गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेका छन्। 

सामाजिक कार्यमा लागेपछि आफ्ना बालबालिका पनि कुलतमा नफस्ने अभिभावक नारायण प्रसाद खनालले बताए। ‘सामाजिक कार्यले विद्यालयबाट घर आइपुग्दासम्म देखिने कुलत तथा विकृतिका क्रियाकलापतर्फ उनीहरूको ध्यान नजाने भएकाले सहयोग गरिरहेका छौं’, उनले भने।

त्यस्तै अविभावक उर्मिला खनालले भनिन्, ‘पहिले त गैंची, सावेल, कुटो, कोदालो, हँसिया बोकेर काम गर्न निस्किँदा हामीले सुविधा दिन नसकेको जस्तो लागेर नरमाइलो लाग्थ्यो। अहिले भने उनीहरूको कामले अभिभावक तथा सबै पक्षका लागि नमूना र उदाहरण बन्दा खुशी लागेको छ। केही कुरामा सुधार्न सहयोग समेत गर्दै आएका छौं।’ 

१२ वर्षीय क्लवका अध्यक्ष खनाल बाराही आवासीय मावि कक्षा ६ मा अध्ययनरत छन् भने १३ वर्षीय उपाध्यक्ष अनित थापा र १३ वर्षकै सचिव रोशन खनाल शान्तिवर्ष आवासीय मावि कक्षा सातमा अध्ययनरत छन्। त्यस्तै कोषाध्यक्ष विक्रम परियार गुणादीस्थित महेन्द्र मावि कक्षा ७ मा अध्ययनरत छन्।  

९ सदस्यीय क्लव गठन

हालै मात्र उनीहरूले अभिभावकको निर्देशनमा क्लव गठन गरेका छन्।  खनालको अध्यक्षतामा क्लव गठन गरी कामलाई तिव्रता दिने उनीहरूको लक्ष्य छ। क्लवको उपाध्यक्षमा अनित थापा, सचिवमा रोशन खनाल, कोषाध्यक्षमा विक्रम सुनार र सदस्यहरूमा समिर खनाल, सादृश्य खनाल, विवचन राना, स्पन्दन थापा र अच्युत खनाल रहेका छन्। सल्लाहकारमा विजय थापा, राजिन थापा, सलभिन राना, शिरिस थापा र अस्टिन थापा रहेका छन्। 

क्लवमा हाल १२ जना आवद्ध छन् भने उनीहरूले गाउँका अरु बालबालिकालाई समेत समेट्ने प्रयासमा रहेका छन्। उनीहरू सरसफाई, बाटो मर्मतका साथै विद्यालय जानुपर्छ शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्‍याउन सचेतना गर्दै आएका छन्।

उनीहरूले बालबालिका, युवा, बृद्ध तथा अभिभावकलाई समेत जथाभावी फोहोरमैला फाल्नु हुँदैन डस्टविनको प्रयोग गर्नुपर्छ, आफ्ना काम आफैले गर्नुपर्छ भन्ने जस्ता विषयमा जोड दिन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.