वार्षिक सात लाख कमाउने आस

|

सिन्धुली : संघ, प्रदेश र स्थानीय सरकारले सामूहिक कृषि र पशुपालनल व्यवसायलाई जोड दिइरहेका बेला सिन्धुलीको गोलन्जोर गाउँपालिकाका युवाले सामूहिक रुपमा व्यावसायिक माछापालन सुरु गरेका छन्।

गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारका ६ जना युवाले निरन्तर कृषक समूह गठन गरी सामूहिक माछापालन व्‍यवसाय सुरु गरेका हुन्।

अध्यक्ष ओमकुमार कार्की (गौरव), सचिव रामशरण कार्की, कोषाध्यक्ष उर्मिला थापा पौडेल, सदस्यहरु ध्रुव थापा, दुर्गा थापा कार्की र तिलकबहादुर भुजेल गरी ६ सदस्यीय निरन्तर कृषक समूह गठन गरी उनीहरुले सामूहिक माछापालन व्यवसाय सुरु गरेका छन्।

गोलन्जोर गाउँपालिका–३ ज्यामिरे फाँटमा १० रोपनी जग्गा भाडामा लिई ६ रोपनी जग्गामा ३ वटा पोखरी निर्माण गरी माछापालन सुरु गरेको समूहका अध्यक्ष ओमकुमार कार्कीले बताए। ‘हाम्रो पोखरीमा लगभग ६८ सय भुरा माछा हालेका छौं। त्यसमा २० प्रतिशत ह्रास कट्टी गर्दा पनि ५६ सय माछा बिक्री गर्छौं भन्ने लक्ष्य छ’ उनले भने।

गाउँपालिकामै नमुना काम

पोखरीमा शिल्भरग्राफ, रहु, नैनी र कमनक्राफ्ट गरी चार जातका माछा हालिएको उनले बताए। केही माछा यस वर्षको दशैं अगाडि नै बजारमा पुर्‍याउने उदेश्यका साथ पुस महिनामा तयार भएका भुरा माछा ल्याएर पोखरीमा हालेको अध्यक्ष कार्कीले जनाए। बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग संचालन भएसँगै ग्वाल्टार, खुर्कोट, खाल्टे, मुल्कोट, नेपालथोकलगायत यस सडक आसपास अहिले सयौंको संख्यामा होटलहरु संचालन भएका छन्।

यस्ता होटलहरुले तराईदेखि भारतसम्मबाट ल्याएको माछा खुवाउने गर्छन्। उनले भने, ‘स्थानीय बजारमा जनकपुर वा नेपालका तराई भूभाग र छिमेकी देश भारतदेखि ल्याएको विषादीयुक्त माछा हामीले खाईरहेका छौं। होटलहरुले खुवाइरहेका छन्। त्यसलाई नै मध्यजनर गर्दै सुनकोशी नदी, महाभारतको स्वच्छ पानीमा हुर्केका स्वस्थ र ताजा माछा सर्वसाधारणको चुलो चुलोमा पुर्‍याउने सोच छ।’

मन मिल्ने र कृषि कर्मप्रति आकर्षण भएको व्यक्तिहरु मिलेर समूह गठन गरिएकाले गाउँपालिकामै नमुना काम गर्ने आत्मविश्वास रहेको समूहका सदस्यहरूको भनाइ छ।

वार्षिक सात लाख कमाउने आस

समूहले माछापालन व्यवसाय सुरु गर्न ६ जना सदस्यबाट ६०/६० हजारका दरले लगानी लगाएका छन्। भने सामूहिक माछा पालनका लागि गोलन्जोर गाउँपालिकाले अनुदानसमेत दिएको छ। ‘हाम्रो अहिले सम्मको कुल लगानी भनेको १७ लाख रुपैयाँ भएको छ।

त्यसमा गोलन्जोर गाउँपालिकाले साढे दश लाख अनुदान दिएको छ। लगानीअनुसार माछापालनबाट वार्षिक ६/७ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन सकिन्छ कि भन्ने अपेक्षा गरिएको छ।’ अध्यक्ष कार्कीले सुनाए। उनले स्वस्थ माछा उत्पादन गर्न सके बजारको अभाव नहुने दाबी गरे।

सामूहिक प्रयास नमुना बन्ने अपेक्षा

समूहका एक सक्रिय सदस्य ध्रुव थापाले करिव एक दशक वैदेशिक रोजगारीमा बिताए। साउदी र कतारमा उनले गाडी चलाउने काम गर्थे। तर, अहिले विदेशमा गाडी चलाउन छाडेर समूहमा बसेर माछाको हेरचाह गरिरहेका छन्। समूहले गरेको सामूहिक माछापालनले अरू युवाहरुमा प्रेरणा मिल्ने अपेक्षा उनले गरेका छन्। सबै युवालाई प्रेरणा होस्। अरूले पनि यसैगरी समूहमा मिलेर काम गरून् भन्ने उदाहरण बन्न सकियोस् भन्ने चाहना रहेको कार्की बताउँछन्।

तरकारी र पशुपालनको योजना

समूहको व्यावसायिक रुपमा तरकारी खेती र पशुपालन गर्ने योजनासमेत रहेको अध्यक्ष कार्कीले बताए। तरकारी खेती र पशुपालनका लागि गोलन्‍जोर गाउँपालिका–६ देउरालीटार मुनी कर्दिनी बेशीमा ६० रोपनी खेत भाडामा लिइसकिएको उनले बताए। केही समयपछि उक्त जमिनमा तरकारी र पशुपालन सुरु गरिने उनको भनाइ छ।

उनीहरूले स्थानीय एकजना युवालाई रोजगारीसमेत  दिएका छन्। माछाको हेरचाहका लागि मासिक १५ हजार रुपैयाँ दिएर एक जनालाई काममा राखिएको कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.