कुखुरापालनपछि मौरी र बाख्रापालनको योजना

|

रुकुम : भरिलो, हँसिलो मुहार। खाइलाग्दो ज्यान। कलकलाउँदो जोवन। जोसजाँगरले भरिएको मन। शिष्ट, सरल स्वभाव। रुकुम पूर्वको भूमे गाउँपालिका ३, क्याङ्सीका विक्रम रोका मगरको हातमा छ, बिए पासको प्रमाणपत्र।

तर, कुखुरापालन व्यवसायमा रमाइरहेका छन् उनी। भन्छन्, ‘ पढाइमा बिए पास भए पनि जागिरको आस छैन। विदेशमा गएर पसिना बगाउनुभन्दा नेपालकै माटोमा काम गर्नु ठिक ठानेर कुखुरापालन व्यवसायमा लागेको हुँ।' बिए पास गरेर अनेकौँ जागिरको हण्डर खाएर उनी ०७१ मा मलेसिया गएका थिए।

मौरी र बाख्रापालनको योजना

चार वर्षको मलेसिया बसाइपछि उनी नेपाल फर्किएका हुन्। अहिले उनी व्यावसायिक रुपमै आफ्नै जग्गामा  ब्रोइलर कुखुरा पालनमा होमिएका छन्। ‘कृषिमा रम्न पाउँदा औधी खुशी छु' कुखुरालाई दाना हाल्दै, मन्द मुस्कुराउँदै उनले भने, ‘स्थानीय सरकारसँग अनुदान माग गरेर कुखुराका विभिन्न प्रजातिका पाल्ने सोचका साथ आवश्यक कामदार खटाएर मौरी र बाख्रापालन गर्ने आगामी योजना पनि राखेको छु।’

समृद्धिको लक्ष्यमा सहयोग

पढेर जागिर मात्र होइन आफ्नै गाउँठाउँमा व्यवसाय गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पनि उनी बनेका छन्। पहिलो चरणमा ५ सय र दोस्रो चरणमा ७ सय ८० वटा चल्ला हुर्किराखेका छन्। क्रमश: बिक्री पनि भइरहेको छ भने आम्दानी पनि भइरहेको छ।

‘पाँच वर्ष विदेशमा बस्दा कमाइ राम्रो भएता पनि अर्काको देशमा पसिना बगाएर त्यहाँको देशलाई फाइदा पुर्‍याइरहेका त छैनौं भन्ने भावना जाग्यो’ उनले भने, ‘विदेशकै जस्तै परिश्रम गरियो भने यहाँ आफ्नो घर परिवारसँगै व्यवसाय सञ्चालन गर्न पनि सकिन्छ, अनि सरकारले लिएको समृद्धिको लक्ष्यमा सहयोग गर्न सकिन्छ।’

अहिले ग्रामीण क्षेत्रबाट कृषिजन्य वस्तुहरू निर्यात गर्नेभन्दा आयात भइराखेको हुँदा पनि युवाहरू गाउँगाउँमा व्यवसायमा लाग्न आवश्यक रहेको उनको भनाइ छ। कुखुरापालनका लागि खोर  निर्माण सामग्री, चल्ला खरिद व्यवस्थापन गर्दा साढे २ लाख लागत लागेको उनको भनाइ छ।

‘दुई महिनामा कुखुरा बिक्रीबाट ९० हजार आम्दानी भएको छ, कृषि व्यवसायबाट राम्रो आम्दानी हुने अनुभव पाएको छु’ उनले भने। उनले कुखुरालाई दाना किनेर मात्र खुवाउने गरेका छैनन् उत्पादन राम्रो र अर्गानिक होस भनी स्थानीय मकै, गहुँ र जौँ पिँधेर पनि खुवाइराखेका छन्।

पढे लेखेकाले व्यवसाय गर्दा खुसी

यसरी पढे लेखेकाले व्यवसाय सञ्चालन गरी देशमै बसी कृषिमा रमेको देख्दा गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर पनि खुसी छन्। पालिकाले भौतिक पूर्वाधार निर्माणका लागि माग आएमा अनुदान प्रदान गरिराखेको बताउँदै कृषि र पशु शाखाबाट पनि मागमा आधारित योजनाहरुलाई सम्बोधन गरिराखेको बताए।

उद्यमशीलताका लागि माग गर्न आएमा पालिकाले अनुदान दिने जानकारी दिए। अरू युवाले पनि सिको गरी देशकै माटोमा उद्यम गर्न सकेमा राम्रो हुने गरेलु तथा साना उद्योग महासंघ रुकुम पूर्वका तदर्थ समितिका अध्यक्ष भिउमान घर्ती मगरले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.