पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवतीको रथ यात्रा निकालिएको छ। रथ यात्राको प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि अवलोकन गरेका थिए।
भगवतीको रथयात्राले नेपाल अंग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१ /०७२ तिर जितगढीमा भएको अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्रज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसीयालीमा विजयउत्सवसहित भगवतीको रथयात्रा निकालिने चलन छ।
जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रागरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।
२०१ औं संस्करणको रुपमा आज जात्रा निकालिएको हो। साइत अनुसार दिउँसो ठीक पौने एकवजे भगवतीको रथ उठाइएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्तिवाचन गरेर रथ यात्राको प्रारम्भ भएको हो।
रथ यात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले आफ्नो पहिचान झल्कने झाँकी र्याली प्रस्तुत गरेका थिए। पञ्चेबाजा र भजनकीर्तनकाबीच रथलाई तानसेन बजार परिक्रमा गराइएको छ।
जात्रा अवलोकनको लागि राजधानी काठमाडाैंसहित छिमेकी जिल्ला स्याङजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वत लगायतका जिल्लाहरूबाट हजारौको संख्यामा दर्शकहरू आएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।