|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेन बजार। बजारको बीचमा टुँडिखेल मैदान। यो मैदानमा अधिकांश खेलहरू हुने गर्छन्। तर, त्यही मैदानमा फरक दृष्य देखिएको थियो। जहाँ नौमती बाजाहरू घन्किरहेका थिए। त्यहाँ कसैको विवाह भएको भान हुन्थ्यो।

यसरी बाजा घन्किन थालेपछि तानसेन नगरपालिका–वसन्तपुरका वृद्ध आनन्द बुढाप्रिथि दंग परेका थिए। 'हैन के हुँदैछ' भन्दै उनले जिज्ञासा राख्न थाले। उनी मात्र होइन अन्य दर्शक हेर्न जाने कि नजाने भन्नेमा दोधारमा नै परिरहेका थिए। यदि कसैको विवाह भएको भए निम्ता छैन् भन्ने पनि धेरै थिए। तर, त्यो कसैको विवाह, पूजाआजा थिएन। थियो त तानसेन नगरपालिकाले आयोजना गरेको नौमती बाजा बजाउने प्रतियोगिता।

विभिन्न आफ्नै पोषाकमा सजिएर बाजा बजाउने कलाकारहरू बाजागाजासहित बसेका दृष्य थिए। कसैले सहनाई, कसैले दमाह, कसैले ट्याम्को, कसैले ढोलकी, कसैले कर्नाल, कसैले झ्याली समातेको दृष्य थियो। केही समयमा बाजा बज्न थाल्यो। यहाँको माहोल रमाइलोतर्फ मोडियो। 

पछिल्लो समयमा गाउँघरमा बजाइने मौलिक बाजाहरू हराउन थाले पनि यसको संरक्षणको लागि तानसेन नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्यक्रम संचालन गरेको हो। 'पुरानो मौलिकपन नै हराउन थालेको छ,' तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले भने, 'यसको संरक्षण गर्नु स्थानीय सरकारको मात्र नभई केन्द्र सरकारको पनि दायित्व हो।'

नेपाल कला, संस्कृति र प्रकृतिले धनीदेश नेपाल भएको उनको भनाइ छ। 'यो चिज जगेर्ना गर्नु आवश्यक छ' उनले भने। कला संस्कृतिमा महत्व रहेको नौमती बाजालाई संरक्षण गर्न अझै प्रभावकारी कार्यक्रम ल्याइने नगरप्रमुख शाहीले बताए।

खासगरी दलित समुदायको कलाको सम्मानस्वरूप आयोजना गरेको यो कार्यक्रमले युवालाई प्रोत्साहित गर्ने प्रतियोगितामा भाग लिन आएका रैनादेवी छहराका हरिबहादुर दमाइले बताए। उनले लोप हुँदै गएको दमाइ समुदायको पहिचानअन्तर्गत पर्ने नौमती बाजा अहिले गैह्रदलित समुदायका युवाले पनि बजाउन थालेकोमा खुसी लागेको छ।

बाजाबजाउने दलित समुदायका हुन् र यिनीहरू अछुत हुन भन्ने समाजमा भ्रम छ अर्का सहभागी सुरज परियारले भने यसरी सबै समुदायका युवाले बाजा बजाउन थालेपनि विभेद न्यूनीकरणमा सहयोग पुग्ने छ। कला र कलाको सम्मान गर्न सके समाजमा गरिने विभेदलाई हटाउन सकिने बाजा समूहकै नेतृत्व गरेर आएका सहभागी भीमबहादुर गाहाले बताए।

प्रातियोगितामा जिल्ला भरीका १० समूहको सहभागीता रहेको थियो। जसमध्य सेतीपोखरी धरमपानी नौमती बाजा समूह तानसेन–५ प्रथम, लालुपाते नौमती बाजा समूह तानसेन–७ काजीपौवा दोस्रो र चण्डीका टोलविकास संस्था तानसेन– ११ तेस्रो भएका छन्।

प्रथम हुनेले ५० हजार नगद, दोस्रो हुनेले २० नगद र तेस्रो हुनेले १० नगद पुरस्कार पाएको तानसेन नगरपालिका कार्यालयका सरसफाई विभागका संयोजक शंकर भण्डारीले बताए। 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.