|

झापा ( दमक) : जिल्लाको दमकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आंगिक प्राविधिक शिक्षालय संचालन गर्ने भएपछि नगरपालिका पछि हटेको छ। यसअघि नगरपालिकाले नै बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेको थियो। तर सिटिइभिटीले नै सोही प्रकृतिको आंगिक शिक्षालय चलाउने भएपछि नगरपालिकाले छुट्टै सञ्चालन नगर्ने भएको छ।

सिटिइभिटीले क्याम्पस संचालनका लागि आवश्यक सबै प्रक्रियाहरु पूरा गरी मुख्य कर्मचारीसमेत खटाएको छ। सिटिइभिटीको तर्फबाट क्याम्पस प्रमुखका रुपमा ठाकुर भट्टराईलाई औपचारिक रुपमा क्याम्पस संचालनका लागि आवश्यक पूर्वाधारहरु खडा गर्ने गरी पठाइएको छ।

झापामा यस्तो खालको आंगिक क्याम्पस संचालनमा आउन लागेको यो पहिलोपटक हो। क्याम्पस प्रमुख भट्टराईका अनुसार दमकमा क्याम्पस संचालनका लागि गएको असार २८ गते सिटिइभिटीले औपचारिक निर्णय गरेको थियो। सोहीअनुसार दमक नगरपालिकालाई गएको साउन २८ गते सो को औपचारिक जानकारी गराइएको हो।

नगरपालिकाले पनि सिटिइभिटीको निर्णयमा सहमति जनाउँदै दमक २ को भूटानी शरणार्थी शिविर बेलडाँगीमा खाली रहेको संयुक्त राष्ट्रसंघीय उच्चआयोग (यूएनएचसीआर)को कार्यालय र भवनहरु उपलब्ध गराएको छ।

सो कार्यालय र भवनमा क्याम्पस संचालनका लागि रंगरोगन गर्ने कार्य थालिएको छ। केही दिनभित्रमा ति कार्यालय र भवनहरु रंगरोगन गरिसकिने र वरिपरिको कम्पाउण्ड सफा गरी व्यवस्थित गरिने क्याम्पस प्रमुख भट्टराईले जानकारी गराएका छन्। यो क्याम्पस स्थापनाका लागि दमक नगरपालिकाले जग्गा र अर्को व्यवस्था नभएसम्मका लागि पढाई हुने ठाउँको व्यवस्था गरिदिनुपर्ने भएको छ।

त्यसैगरी नगरपालिकाले हाललाई आवश्यक भौतिक पूर्वाधार,  भवन मर्मत तथा रंगरोगन, खानेपानीको व्यवस्था, बिजुली बत्ती  जडान, सरसफाई तथा डेक्स बेन्चको व्यवस्था गरिदिनु पर्ने छ। यि सबै कामहरु नगरपालिकाले गर्न थालिसकेको पनि जनाएको छ।

५ वर्षमा ५ संकाय

सिटीईभीटीले दमकमा दमक पोलिटेक्निक इन्स्टिच्यूटको रुपमा आंगिक शिक्षालय सञ्चालन गर्न लागेको हो। पहिलो वर्ष सिभिल इन्जिनियरीङ्मा ४८ जनाको भर्ना खुलाईने जनाईएको छ।

क्याम्पस प्रमुख भट्टराईका अनुसार यस शैक्षिक सत्रमा सिभिल इन्जिनियरिङको डिप्लोमा तहको ३ वर्षे शैक्षिक कार्यक्रम संचालन गरिने छ। क्याम्पसमा विद्यार्थीलाई लिइने शुल्क पनि तुलनात्मक रुपमा कम नै हुने उनको भनाई छ।

यसका साथै कम शुल्कमा सिभिल इन्जिनियरिङको पढाई हुने भएकाले स्थानीय विद्यार्थीहरुलाई पनि यसबाट लाभ मिल्ने भएको छ। उनका अनुसार क्याम्पसमा ५ वर्षभित्रमा ५ वटा विषयमा डिप्लोमा तहका कक्षाहरुको अध्ययन अध्यापन गरिने छ। क्याम्पसमा जग्गाको व्यवस्थापन नहुन्जेलका लागि अस्थायी रुपमा पुरानो शरणार्थी शिविर बेलडाँगीकै संरचनालाई प्रयोग गरिने भएको छ।

‘हामीलाई करिव ७ देखि १० विगाहा जमिन चाहिन्छ। यो जग्गा उपलब्ध गराउने काम नगरपालिकाको हो। , क्याम्पस प्रमुख भट्टराई भन्छन् –बाँकी भवन बनाउने देखिका सबै लगानी सिटिईभिटीले नै गर्छ।’ उनका अनुसार देशका विभिन्न क्षेत्रमा आंगिक क्याम्पस स्थापना गर्ने क्रममा दमकमा पनि यसै शैक्षिक सत्रदेखि संचालन हुनेगरी यो योजना कार्यान्वयनमा ल्याइएको हो।

यससँगै सिटिइभिटीका आंगिक क्याम्पसको संख्या ४५ बाट बढेर ५२ पुगेको छ। यस वर्ष ७ वटा आंगिक क्याम्पस संचालनमा ल्याइन लागेको हो। यसअघि  प्रदेश नम्वर १ मा ४ वटा मात्र क्याम्पस संचालनमा थिए। जसमा इलामको रत्नकुमार बान्तवा पोलिटेक्निक, भोजपुरको सुम्निमा पोलिटेक्निक, धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालय र खोटाङको माहुरीगढी प्राविधिक शिक्षालय रहेका छन्।

नगरपालिका सहयोगी

दमकको पोलिटेक्निक क्याम्पस संचालनका लागि झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक संचालक समिति रहनेछ। जसमा दमक नगरपालिकाका प्रमुखका प्रतिनिधि, दमक उद्योग वाणिज्य संघको प्रतिनिधि, विज्ञ इन्जिनियर, कर्मचारी प्रतिनिधि र सदस्य सचिवमा क्याम्पस प्रमुख रहने व्यवस्था छ।

यता दमक नगरपालिकाले भने आफैं एउटा प्राविधिक शिक्षालय संचालन गर्ने भनेर चालू आर्थिक वर्षको नीति तथा योजना पारित गरेको थियो।

‘तर सिटिईभिटीले आफैं आंगिक क्याम्पस संचालन गर्ने निर्णय गरेर आएपछि हामीले त्यसैमा सहमति जनाएका छौं।, दमक नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश कुमार न्यौपानेले भने– क्याम्पस संचालनका लागि अर्वको लगानी चाहिने रहेछ।

तर अहिले सिटिइभिटी आफैंले सबै लगानी हामी गर्छौं भनेर आएको छ। त्यसलाई हामीले नस्वीकार्ने कुरै भएन। ’ उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि बेलडाँगीको पुरानो शिविर रहेको ठाउँमा यूएनसिएचआरको संरचना उपलब्ध गराइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.