२४४ विद्यार्थीको भविष्य अन्योलमा

|

जुम्ला : जिल्लाको हिमा गाउँपालिका-७ बाँझागाडमा रहेको रुपाकोट आधारभूत विद्यालय दुई भागमा विभाजित भएको छ।  गाउँमा भएको चर्को राजनीतिका कारण  एउटै विद्यालय  दुई ठाउँमा फुटाइएका हो। गाउँका स्थानीयहरु दुई कित्तामा विभाजित भएपछि एउटै विद्यालय दुई स्थानबाट सञ्‍चालन भएको छ।

एउटा पक्षले पुरानो र एउटा पक्षले नयाँ ठाउँबाट पठनपाठन कार्य सुरु गरेका छन्। गत वर्षको भदौ २२ गतेबाट रुपाकोट आधारभूत विद्यालय दुई भागमा विभाजन भएको हो।

भवन निर्माणका विषयमा विवाद

पुरानो ठाउँमा भवन निर्माण गर्ने विषयमा विवाद भएपछि विद्यालय फुटाइएको त्यहाँका स्थानीयले बताएका छन्। एउटै विद्यालय दुई ठाउँबाट पढाइ हुँदा त्यसको प्रत्यक्ष मार विद्यार्थी र शिक्षकलाई परेको छ। उक्त विद्यालयमा  विद्यालयमा १६ घण्टी पढाइ हुने गरेको छ।  दुई भागमा विभाजित गरेपछि शिक्षकलाई क्लास लिन समस्या भएको छ।

शिक्षकलाई समस्या

पुरानो रुपाकोटमा तीनवटा कक्षाका विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ। ३, ४ र ५ तथा ६, ७ र ८ कक्षाका विद्यार्थीलाई एउटै ठाउँमा राखेर

पढाउने गरिएको छ, भने  वारि रुपाकोटमा प्रत्येक कक्षाका विद्यार्थीलाइै छुट्टै राखिए पनि इसिडि र १ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ। एउटै विद्यालयका  शिक्षकलाई भागबण्डा गरी पढाउन लगाइएको छ।

विद्यालय दुई भागमा विभाजन भएपछि दुवैतिर रेखदेख र अध्यापन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले जानकारी दिइन्। विद्यालयमा भवन निर्माणका लागि आएको रकम खर्च गर्न लागि नयाँ ठाउँमा भवन निर्माण भएपछि विवाद चर्किएको छ।

जम्मा २४४ विद्यार्थी

एकै गाउँका स्थानीय दुई धुव्रमा विभाजित भएपछि विद्यालय फुटाएका हुन्। नियमित पढाइ नभएपछि आधाभन्दी बढी विद्यार्थी विद्यालय नै आउन छोडेका छन्। केही विद्यार्थी नजिकको विद्यालयमा गएका छन्। नयाँ भवनमा १ सय ६७ जना विद्यार्थी छन् भने पुरानो विद्यालयमा ७७ जना विद्यार्थी रहेको विद्यालय स्रोतले जनाएको छ।

बाँझागाड गाउँका स्थानीयबीच विगतमा भएको सहमतिअनुसार नयाँ ठाउँमा विद्यालय सार्ने निर्णय भएको थियो। अभिभावकहरुको विवादले शिक्षक र विद्यार्थी तनाबमा परेका छन्। विद्यार्थी मन लागे आउने, मन नलागे घर जाने गर्दछन्। एउटै शिक्षकले सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु गरेका छन्।

आलोपालो अध्यक्ष हुने सहमति

गएको असार महिनामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुँदा नेकपा र नेपाली कांग्रेसका उम्मेदार सहभागी भएका थिए। नेकपाका तर्फका नरबहादुर रावत र नेपाली कांग्रेसका दलसिंह रोकायाबीच चुनाव भएको थियो।

दुवैजनाले बराबर मत ल्याएपछि आलोपालो अध्यक्ष हुने सहमतिअनुसार हाल नेकपा तर्फका नरबहादुर रावत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन्। डेढ वर्षपछि रावतको कार्यकाल सकिएमा नेपाली कांग्रेसका दलसिंह रोकाया त्यसलगतै अध्यक्ष हुने सहमति भएको हो।

अभिभावकहरुको व्यक्तिगत स्वार्थका कारण एक पक्षले पुरानो विद्यालयमा एकदेखि आठ कक्षासम्म र अर्को पक्षले नयाँ विद्यालयमा एकदेखि आठ कक्षासम्म सञ्चालनमा ल्याउँदा बालबालिकाहरुको शैक्षिक भविष्य अन्योलमा परेको छ।

गाउँमा नेपाल कम्युनिष्ट पार्टी पक्षले पुरानो भवनमा विद्यालय सञ्चालन गरिरहेका छन् भने नेपाली कांग्रेस पक्षले छुट्टै नयाँ भवनमा विद्यालय सञ्चालनमा ल्याएका छन्।

कतिपयले निजी शिक्षक राखेका छन् : प्रअ शाही

विद्यालयका ३ जना दरबन्दी, २ जना निजी र एक जना ईसीडी (प्रारम्भिक बाल विकास) शिक्षकले १८ वटा कक्षा धानेका छन्। यसका साथै अभिभावकहरुले आफ्नै निजी शिक्षकहरुसमेत निःशुल्क राखेको विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले जानकारी दिइन्।

उनका अनुसार एउटै विद्यालय दुई ठाउँमा बाँडिएकाले शिक्षक तथा शैक्षिक सामग्री अपुगदेखि विभिन्न समयमा अभिभावकहरुबीच झगडा नै हुने गरेको छ। आइतबार जिल्लाबाट गएको सर्वपक्षीय र सर्वदलीय बैठकले पनि विद्यालयको विवाद मिलाउन नसकेपछि विना निष्कर्ष टुंगिएको छ।

पुरानो ठाउँमा १ देखि ४ र नयाँ ठाउँमा ५ देखि ८ कक्षासम्म संचालन गर्ने सहमति नजिक पुगेका स्थानीयहरुले कुरा मिलाउन नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको हो।

जिल्लाबाट गएको टोलीले गरेको निर्णयलाई पालन गर्ने बाँझागाड गाउँका स्थानीय सहमति जनाएका छन्। राजनीति दलहरूले गरेको निर्णय स्वीकार गर्ने त्यहाँका स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.