|

दमक (झापा) : छोटो समयको तालिम र सानो पुँजीले पनि स्वरोजगार बन्न सकिने पेशाको रुपमा स्थापित भएको सौन्दर्यकला व्यवसाय। ‘व्युटी पार्लर’ व्यवसायको रुपमा चिनिएको यस क्षेत्रमा झापामा मात्र ४ हजार महिला स्वरोजगार बनेका छन् भने २ हजार भन्दा बढी पार्लरहरू सञ्चालनमा छन्।

सामान्यतया एउटा पार्लरमा दुई तथा सो भन्दा बढीले रोजगारी पाउने भएकाले ४ हजार भन्दा बढीलेनै सौन्दर्यकला व्यवसाय मात्र रोजगारी पाएको संघको भनाई छ।सौन्दर्यकला व्यवसायी संघ झापाका अनुसार झापाका २ हजार भन्दा ‘व्युटी पार्लर’ सञ्चालन गरी महिला यो पेसामा व्यावसायिक रुपमा आबद्ध भएका छन्।

सीप सिकेर व्यवसाय सुरु नगरेका महिलाको संख्या अझै बढीरहेको संघको भनाइ छ। संघकी जिल्ला सचिव जानुका न्यौपानेका अनुसार जिल्लाका दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर लगायतका स्थानमा सौन्दर्यकला व्यवसाय रोजेका महिलाको संख्या उच्च छ। यीबाहेक गौरादह, गौरीगञ्ज, सुरुंगा जस्ता भर्खरै शहरीकरण हुँदै गएका स्थानमा पनि यो व्यवसाय प्रतिको आकर्षण उच्च छ।

‘अन्य रोजगारीका अवसर नपाएपछि महिला घरमा त्यसै बस्नु पर्ने अवस्था थियो, खेती गर्ने ठाउँ पनि सबैको हुँदैन, शहरी क्षेत्रमा घरमा एक्लै बस्नु पर्दा त महिलालाई झनै गाह्रो थियो,’ उनले भनिन्, ‘तर तीन वा छ महिनाको तालिमपछि यसरी बेरोजगार बसेका धेरै दिदीबहिनीले आफैँ पेसा थाल्नु भएको छ ।’

संघकी जिल्ला कोषाध्यक्ष रमा लिम्बू सौन्दर्य कला व्यवसायले स्वरोजगार बनाएसँगै महिलाको आत्मसम्मान र स्वाभिमानमा पनि वृद्धि गराएको बताउँछिन्। आफैँ व्यवसाय सञ्चालन गरेपछि महिलामा आर्थिक पहुँच बढेको र अरुमा निर्भर रहनुपर्ने बाध्यताको पनि अन्त्य भएको उनले बताइन्।

व्यवसायमा आबद्ध भए पछि यसैको माध्यमबाट महिला अन्य सामाजिक काममा समेत अग्रसर हुने र व्यक्तित्व तथा नेतृत्व विकासको अवसरसमेत पाउने गरेको उनी बताउँछिन्। २० वर्षदेखि यो पेसामा आबद्ध उनी सौन्दर्यकला व्यवसाय महिलालाई स्वरोजगार बनाउन सबैभन्दा प्रभावकारी क्षेत्र भएको पनि तर्क गर्छिन्।

विलासिकता होइन, आवश्यकता

सौन्दर्यकला व्यवसायमार्फत झापामा ४ हजारभन्दा बढी महिला स्वरोजगार बनेका छन्। अधिकांश पार्लरमा सञ्चालकसहित कम्तीमा दुई जनाले रोजगारीको अवसर पाउने गरेको व्यवसायीहरू बताउँछन्। संघकी सचिव न्यौपानेले भनिन्, ‘सुुरुसुरुमा त एक जनाले पनि चलाउन सकिन्छ। तर अलिक चलेको पार्लरमा ४/५ जना भन्दा बढीले पनि रोजगारीको अवसर पाउनु भएको छ।’ 

प्रत्यक्ष रोजगारीबाहेक वैदेशिक रोजगारीमा जाने महिलाका लागि पनि यो पेसा रोजाइमा पर्ने गरेको छ। बेसिक, एड्भान्स तथा डिप्लोमा कोर्स गरेर जानेहरूले त्यहाँसमेत यही पेसा अपनाउन सक्ने भएकाले विदेश जानेको रोजाइमा पर्ने गरेको संघकी उपाध्यक्ष लीला राईको भनाइ छ।

सौन्दर्यकला व्यवसाय विलासी मात्र नभई आवश्यकतासमेत बन्दै गएकाले अझै यस क्षेत्रले स्वरोजगारी सिर्जना गर्न सक्ने उनी बताउँछिन्।

बदलिँदै छ दृष्टिकोण

झन्डै तीन दशकदेखि दमकमा सौन्दर्यकला व्यवसाय सञ्चालन गर्दै आएकी सोनू वज्राचार्य १० वर्षयता यस पेसाप्रतिको आकर्षण बढिरहेको बताउँछिन्। आफूले दमकमा पहिलोपटक व्यवसाय सुरु गर्दा यसप्रति धेरै अभ्यस्त नभए पनि समयका कारण धेरैका लागि यो आवश्यकता बन्दै गएको उनको अनुभव छ। सहरी क्षेत्रमा बढेको जनघनत्व, अन्य रोजगारी पाउन कठिनाइ, सानो लगानीबाट पनि सुरु गर्न सकिने र छोटो तालिमले पुग्ने भएकाले धेरै महिलाले यो पेसा रोजेको उनको भनाइ छ।

संघकी झापा जिल्ला अध्यक्ष खुविन शेर्मा पनि सौन्दर्यकलालाई सौख वा विलासीभन्दा आवश्यकताको रुपमा बुझ्न आग्रह गर्छिन्। सौन्दर्यकलाले छाला तथा शरीरको सुरक्षासमेत गर्न सिकाउने भएकाले यसलाई स्वास्थ्यका दृष्टिकोणले पनि हेर्न आवश्यक रहेको उनी बताउँछिन्। यही महत्व विस्तार हुँदै गएकाले पछिल्लो १०/१५ वर्षमा सौन्दर्यकला सीप सिक्ने तथा व्यवसाय गर्नेहरू बढ्दै जाँदा धेरै महिलाहरू स्वरोजगार बनेको उनले बताइन्।

गुणस्तरमा सजग हुन सुझाव

सौन्दर्यकला व्यवसाय प्रतिको आकर्षण सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्र सम्म पनि देखिन्छ। बिवाह, अन्य समारोह, भोज-भतेरमा जानेहरू सकेसम्म व्युटी पार्लर पुगेर राम्रो हुन चाहन्छन्। धेरैको बाध्यता हुन्छ, सिमित खर्चमा सुन्दर बन्ने। तर यसरी सस्तोको पछि लाग्नु भन्दा गुणस्तर प्रति सजग हुनु पर्ने सौन्दर्यकला व्यवसायीको भनाई छ।

दमककी सौन्दर्यकला व्यसायी ईश्वरी श्रेष्ठ भनिन्,‘कमसल सामाग्रीको प्रयोगले क्षणिक सुन्दर बनाए पनि छाला, केश लगायतलाई नोक्सानी समत पुर्‍याउन सक्ने हुन्छ। त्यसैले हप्तै पिछे पार्लर जानुको साटो महिना दिनमा एकचोटी गएर गुणस्तरी सामाग्रीको उपयोग गर्न मेरो सुझाव छ।’

सौन्दर्य सामग्रीको लागतका आधारमा पार्लरहरूले सेवा शुल्क लिने भएकाले कतिपय ग्राहक थोरै खर्चमा सुविधा लिन आउँछन्। तर खर्चको सट्टा आफ्नो सौन्दर्य र स्वास्थ्यलाई ध्यानदिन आग्रह गर्ने गरेको अर्की व्यवसायी सावित्रा श्रेष्ठको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.