|

कञ्चनपुर : चराको चिरविर आवाजसँगै जंगली जनावरनजिकै अवलोकन गर्न पाउदाको आनन्द बेग्लै छ। दोदा नदीको हरियो फाँटको अवलोकनले आगन्तुकलाई मन्त्रमुग्ध पार्ने गरेको छ। 

तीनतर्फ घना जंगलले घेरिएको कञ्चनपुरको लालझाडी गाउँपालिका ४ र शुक्लाफाँटा नगरपालिका १२ को सीमा क्षेत्रमा पर्ने इटाहा क्षेत्रको अवलोकन गर्नेले यसको ऐतिहासिकता र मनोरम दृश्यबारे वर्णन गरेर थाक्दैनन्। मानव कोलाहलबाट टाढा एकान्तमा रम्नेहरूका लागि इटाहा क्षेत्र गतिलो गन्तव्यका रुपमा रहेको छ। 

इटाहा क्षेत्र राना थारु समुदायको धार्मिक आस्थाको धरोहरका रुपमा मात्रै नभएर यस क्षेत्रले प्राचीन ऐतिहासिकता बोकेको छ। ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा परिचित इटाहा क्षेत्रमा प्राचीनकालीन इट्टा, कुवा र सिक्काहरू पाइनुले यो क्षेत्र प्राचीन कालमा मानव बसोवासको क्षेत्रका रुपमा रहेको पुष्टि हुन्छ। 

डेढ इन्च मोटाइ र एक फिट लम्बाइका इँट्टा मासको गारोमा कुँवा र हवन कुण्ड निर्माण गरिएको क्षेत्रमा लगाइएका छन्। इँट्टाको चौडाइ, लम्बाइ हाल पाइने इँट्टाको भन्दा निकै बढी रहेको छ। जानकारहरूका अनुसार ती इँट्टाको प्रयोग किरातकालीन समयमा प्रयोग हुने गरेका थिए।

कुँवा र हवन कुण्ड कहिले निर्माण भएका हुन भन्नेबारे पुष्टि हुन नसके पनि बुढापाकाहरू वर्षौ पुराना हुन सक्ने बताउँछन।  तीन वटा कुँवा र एक वटा हवन कुण्ड स्थानीयले विसं २०५६ सालमा पत्ता लगाएका हुन। उत्खनन् गरे यस क्षेत्रमा अझै पुरातत्विक वस्तुहरू पाइने स्थानीय बताउँछन्। 

कुँवा माटोले परिएको अवस्थामा रहेका थिएँ इटाहा वावा मन्दिरका पुजारी कनैया रानाले भने, ‘स्थानियले दुई वटा कुवाको माटो निकाले पनि अर्को कुँवाको माटो आधा मात्रै झिकेका छन्।’

कुँवाबाट मूर्ति र सिक्का निष्कन थालेपछि प्रहरीले कुवा खन्न रोकेका थिए। पाइएका मूर्ति र सिक्का भने प्रहरीले आफूसँगै लगे पनि हालसम्म फिर्ता नगरेको स्थानीयको भनाई रहेको छ।

'वचपनमा गोठाला जाँदा यस क्षेत्रमा पाइने सिक्काको गोटी खेल्थ्यौं' बोट सिंह रानाले भने, ‘ठाउँ ठाउँमा पाइने सिक्का जम्मा गरेर साथीभाइ सँग गोटी खेल्थ्यौं। घरमा लगे अनिष्ट हुन्छ भन्थे। त्यही भएर कसैले पनि वन क्षेत्रमा पाइएका सिक्का घर लैजान पाउदैनथे।’

वनमै खेल्ने, वनमै राख्ने गरिन्थ्यो। ती सिक्का अझै पनि वन क्षेत्रमा छरिएर रहेको उनको भनाई रहेको छ। स्थानीयको सपनामा त्यस क्षेत्रमा कुँवा र हवन कुण्ड रहेको देखिए पछि खोजविन शुरु गर्दा साच्चिकै कुँवा र हवन कुण्ड पत्ता लागेको उनले बताए। कुँवा र हवन कुण्ड पाइएपछि स्थानीयले यस क्षेत्रमा पालैपालो छ महिनासम्म सुरक्षा समेत दिएका थिए।

‘स्थानीय नन्दलाल रानाले जमिनमुनि गाडिएको धन हुन सक्ने भन्दै त्यस क्षेत्रमा खाल्डो खन्न समेत शुरु गरेका थिए। खन्दै जाँदा जमिनमूनिबाट आगोको ज्वाला निष्केपछि खन्न छाडेको’ वचन रानाले भने। अहिले खाल्डो खनेको ठाउँमा स्थानीयले मिलेर मन्दिर निर्माण गरेका छन्। 

संरक्षण नहुदा वन क्षेत्रमा देखिने प्राचीन सिक्का देखिन छाडेका छन्। पुरातत्विक महत्व बोकेका इँट्टाहरू समेत हराउन थालेको बोट सिंहको भनाई रहेको छ।स्थानीयको भनाई अनुसार पञ्चायतकाल अघि इटाहा क्षेत्रनजिकै रहेको गाउँका बासिन्दा भारतीय डाँकाहरूका कारण निकै पीडित रहेका थिए। इटाहा वावाको स्थानीयले स्तुति गर्न थालेपछि डाँकाहरू मानव बस्ती रहेको इटाहा क्षेत्रमा लुटपाटका लागि पुगे पनि बाटो विराएका कारण लुटपाट गर्न नसकी फर्केकाले त्यसै दिनदेखि यस गाउँको नाम देखतभूली रहेको हो।  

वर्षौदेखि पूजारीका रुपमा राना थारु समुदायका व्यक्तिले यहाँ पूजा गर्नु पर्ने चलन रहेको छ। थारु समुदायका व्यक्तिले पूजा गर्ने यो मात्रै एक क्षेत्रका रुपमा रहेको छ। चोखो मनले भाकल गरेमा मनोकांक्षा पूरा हुने भएकाले स्थानीय यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन्। यस क्षेत्रमा इटाहा वावाको मन्दिरसँगै पूजारी वावाको कुटी पूर्णा गिरी, सिद्धनाथ, नागदेवता र कालिमाताको प्रतिमा स्थापना गरिएका छन्। 

इटाहा क्षेत्र १० विघा क्षेत्रफलमा फैलिएको छ। शुक्लाफाँटा नगरपालिकका १२ को कार्यालयले गत वर्ष यस क्षेत्रमा ४० हजारको लागतमा खानेपानीका लागि हेण्डपम्प गाडेको छ। भौतिक पूर्वाधार निर्माणका लागि यस वर्ष ४५ हजार बजेट विनियोजन गरेको वडा अध्यक्ष बाले रानाले बताए।

लालझाडी गाउँपालिका र मन्दिर आर्थिक सहयोग समितिको पहलमा धर्मशाला निर्माणको कार्य अगाडि बढाइएको छ। समितिकै पहलमा चन्दा संकलन गरेर इटाहा वावाको पक्की मन्दिर निर्माण गरिएको छ। 

पर्यटकलाई तान्नका लागि यस क्षेत्रमा पार्क निर्माणसँगै भौतिक पूर्वाधार निर्माणका कार्य अगाडि बढाउनका लागि प्रदेश सरकार सँग आग्रह गरेका छौं वडा अध्यक्ष रानाले भने, ‘प्रदेश सभा सदस्य तारालामा तामाङ र लालबहादुर खड्काले यस क्षेत्रको विकासका लागि कार्य अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।यसैले यस क्षेत्रको विकास हुनेमा आशावादी बनेका छौं।’

पूर्व पश्चिम राजमार्ग भन्दा झण्डै १० किलो मिटर टाढा रहेको इटाहा क्षेत्र नजिकै देखतभूली गाउँसम्म कालोपत्रे सडकले छोएको छ। दोदा नदीमा दुई वर्ष अघिदेखि बन्दै गरेको पक्कि पुल निर्माणको कार्य समयमै पूरा भए यो क्षेत्र सडक क्षेत्रसँग सहज रुपमा जोडिने वडा अध्यक्ष रानाले बताए। 'ठेकेदारले पुल निर्माणको कार्य बीचमै अलपत्र छाडेर गएको छ' उनले भने,‘पुल निर्माणको कार्य समयमै पूरा गराउनका लागि प्रदेश र केन्द्र सरकारसँग गुहार लगाएका छौं।’

पुल निर्माण भए यो क्षेत्र सडक सञ्जालमा सहजै जोडिने छ। प्रशस्त पर्यटकीय संभावना वोकेको इटाहा क्षेत्र प्रचार प्रसार र भौतिक पूर्वाधारको विकास नहुँदा ओझेँलमा रहेको छ। ऐतिहासिक र पुरातत्विक महत्व बोकेको क्षेत्र भएकाले यसलाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गर्न सरकारसँग यहाँका बासिन्दाले माग समेत गरेका छन्।  

विवादले विकासमा बाधा  

इटाहा धार्मिक क्षेत्र शुक्लाफाँटा नगरपालिकामा पर्ने वा लालझाडी गाउँपालिमा पर्ने भन्ने विषयमा विवाद हुँदा यस क्षेत्रले विकासमा फड्को मार्न सकेको छैन। शुक्लाफाँटा नगरपालिका १२ का वडा अध्यक्ष बाले राना इटाहा क्षेत्र शुक्लाफाटाँमा पर्ने दावी गर्छन्। 

नजिकैको पूरै वस्ती र धार्मिक क्षेत्र नजिकैको लालपूर्जा भएको जग्गा सबै शुक्लाफाँटा नगरपालिकामै पर्ने भएकाले इटाहा क्षेत्र शुक्लाफाँटाको हो। उनले भने, ‘इटाहा क्षेत्रलाई संरक्षण गरी अहिलेसम्म पुरातत्विक वस्तु जोगाउने कार्यमा शुक्लाफाँटाका बासिन्दा खटिदै आएका छन्। मन्दिरका पूजारीदेखि सबै हर्ताकर्ता हामी नै हौं।’

मन्दिर प्रवेश गर्ने द्धारमा लालझाडी गाउँपालिका सँगै शुक्लाफाँटा नगरपालिकाको नाम राख्दा विवाद गरिएको स्थानीय मंगल चौधरीले बताए। यो क्षेत्र शुक्लाफाँटाकै रहेको उनको दावी छ। लालझाडी गाउँपालिकाले दोदा नदी दुवै स्थानीय तह छुट्टयाउने सीमा भएकाले इटाहा नदी पारिपट्टि पर्ने भएकाले लालझाडीमै पर्ने दावी रहेको छ।

 इटाहा क्षेत्र कुन स्थानीय तहमा पर्ने भन्नेबारे विवाद भएपछि शुक्लाफाँटा नगरपालिका १२ ले खानेपानी र अन्य भौतिक पूर्वाधाका लागि थोरै बजेट परिचालन गरे पनि लालाझाडी गाउँपालिकले अहिलेसम्म त्यस क्षेत्रको विकास लागि बजेट विनियोजन गरी परिचालन गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.