|

सल्यान : जिल्लाको वाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढीको आलु निकासी भएको छ। बागचौर नगरपालिका-११ र १२ न वडाबाट मात्रै यस सिजनमा १५ करोडको आलु निकासी भएको हो।

साविकको बाफुखोला गाविसका स्थानीयले यो वर्ष दुई हजार रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ। आलुको पकेट क्षेत्रको रूपमा चिनिएको बाफुखोलाबाट वार्षिक सोही अनुमानमा आलु निकासी हुँदै आइरहेको कार्यालयले जनाएको छ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक आलु खेतीमा आकर्षित हुँदै आइरहेका छन्। परम्परागत अन्नबाली छोडेर व्यावसायिक आलु खेती गर्दै आइरहेका बाफुखोलाबासीले झन्डै ८० प्रतिशत जमिनमा आलु खेती गर्ने गर्दछन्।

विगतमा घरपरिवा पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलुखेतीमा रमाइरहेको स्थानीय कोमला ओलीले बताए। आलु खेतीको किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाइ छ। ‘२ दशकअघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपथ्यो' उनले भने 'अहिले आलुले गाउँमा रोजगारी दिएको छ। यस सिजनमा आलुबाट सात लाख आम्दानी गर्न सफल भएको छु।’

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्ने गरेको किसान दुर्गा बहादुर वलीले बताए। यो वर्ष गाउँबाटै प्रतिकिलो २५ रुपैयाँका दरले व्यापारीले आलु खरिद गरेको बताए। ‘अन्य खेतीपातीको जस्तो खासै दुःख पनि छैन, उत्पादन र मूल्य पनि बर्सेनि बढिरहेको छ' उनले भने 'बारीबाटै व्यापारीले जिल्लाबाहिर लैजाने गरेका छन्।’

आलु उत्पादनबाट गाउँमा बर्सेनि १० देखि १५ करोड रुपैयाँ भित्रिने गरे पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको वडा नम्बर १२ का अध्यक्ष दीपक वलीले बताए। 'गाउँका सबैजसोले आलु उत्पादन गर्दै आइ रहेका छन्। अर्गानिक आलु भएकाले देशका ठूला सहरमा समेत यहाँको आलुको माग छ' उनले भने ‘तर गाउँमा कोल्डस्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता छ।’

सल्यानको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म जाने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.