|

पोखरा : गण्डकी प्रदेश पनि डेंगुको उच्च जोखिममा रहेको छ। प्रदेशको राजधानी कास्कीमा यसको सबैभन्दा जोखिम छ। गण्डकीका कास्कीसहित, स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, नवलपूरमा डेंगुको संक्रमण भएका विरामी भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। 

बिहीबारसम्मको तथ्यांक अनुसार कास्कीमा मात्र ६४९ जनामा डेंगुको संक्रमण भएको पाइएको छ। तनहुँमा १०, स्याङ्जामा १८, पर्वतमा दुई, म्याग्दीमा २ र नवलपूरमा ४ जनामा डेंगुको संक्रमण भएको पाइएको निर्देशनालयले जनाएको छ।  

निर्देशनालयका अनुसार नवलपुरकी ६७ वर्षीया एक बृद्धाले ज्वरोबाट ज्यान गुमाएकी छन्। डेंगुकै कारण ती वृद्धाको ज्यान गएको आशंका गरिएको छ। यद्यपि वृद्धाको मृत्यु डेंगुकै कारणले हो या होइन भन्‍ने अनुसन्धान सुरु गरिएको जनाइएको छ।

कास्कीसहितका जिल्लामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुवै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीले बताए।

‘डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ। यसको नेपाली नामाकरण 'टाइगर मस्क्युटो' राखिएको छ,’ उनले भने, ‘यो लामखुट्टे अरु भन्दा फरक छ। यो लामखुट्टेले बाघले जसरी नै एक्कासी आएर टोक्ने, एउटालाई टोकेपछि अर्काे, अर्काेलाई टोक्दै जाने गर्छ।

अरु लामखुट्टेहरु एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैन।’ डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो।

पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए। प्रहरीले आन्तरिक शिविर गरेर डेंगुको परीक्षण गरिसकेको छ। 

डेंगुको नियन्त्रणको लागि गण्डकी सरकारले २१ लाख रुपैयाँ विनियोजन गरिसकेको छ। उक्त रकम डेंगुको परीक्षण गर्ने कीट खरिद र विभिन्‍न सचेतना कार्यक्रममा खर्च हुने अधिकारीले बताए। ‘यसको ठ्याक्कै यही उपचार भन्‍ने छैन,’ उनले भने, ‘लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, सचेतना फैलाउने नै हो।’

गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। गण्डकी क्षेत्रीय अस्पतालमा अहिले डेंगुको परीक्षण गर्ने कीटको अभाव हुन थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.