|

तनहुँ : सेती नदीको कटानबाट भीमाद नगरपालिका–६ का दुई दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। वर्षायाममा भीमाद क्षेत्र असुरक्षित हुने गरेको छ। नदीको टाकुरामा बनेको बजार क्षेत्र पानीको बहाव बढ्नासाथ जोखिम पनि बढ्ने गर्दछ। ०६१ मा नदी कटानले पहिरो गएपछि भीमाद असुरक्षित बन्दै गएको हो।

भीमाद क्षेत्रका स्थानीयवासी वर्षाको समयमा पानी पर्न थालेपछि भागादौड गर्नुपर्ने अवस्था आउँछ। यतिबेला दिउँसो व्यापार व्यवसाय गर्ने र रात परेपछि सुरक्षित स्थानतर्फ फर्कने गरेको त्यहाँका स्थानीय बताउँछन्। सेती नदी नियन्त्रणका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजन गर्दै आइरहे पनि आवश्यकभन्दा कम भएको भीमाद–६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले बताए। उनका अनुसार प्रत्येक वर्ष नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याउदै आएको छ।

तर, यसवर्ष भने गण्डकी प्रदेश सरकारको तर्फबाट ४० लाख रुपैयाँ नदी तटबन्ध गर्न बजेट छुट्याएकोले नगरपालिकाले बजेट विनियोजन गरेको छैन। वर्षै पिच्छे यस क्षेत्रमा वर्षायाममा नदी कटानको जोखिम कसरी सुरक्षित बनाएर स्थानीयको सुरक्षा गर्ने भन्ने चिन्ताको विषय बनेको छ। त्यसैले सुरक्षाको लागि पनि संघीय सरकारले कम्तीमा दश करोड बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ।

सेती नदी कटानले भीमादका एक सयभन्दा बढी घर पहिरोको उच्च जोखिममा छ। त्यसले गर्दा राज्यले समयमा नै त्यसको दीर्घकालीन समस्या पहिचान र समाधान गर्न आवश्यक देखिन्छ। पहिरोको जोखिम बढेपछि दुई दर्जनभन्दा बढी घरपरिवार भने त्यहाँबाट विस्थापित भइसकेको स्थानीय ध्रुव भण्डारीले बताए। केही भने दिउँसो व्यापार व्यवसायका लागि आउने र सुरक्षित स्थानमा बसोबास गर्ने गरेको उनको भनाइ छ।

‘नदीको मुहानमा पानी पर्दा पनि बहाव बढ्छ कहिलेकही, पानी पर्ने वित्तिकै नदीको बहाव बढ्छ जसले गर्दा जमिन कटान गर्छ, जसले गर्दा पहिरोले घरको डिल खस्न सुरु हुन्छ, त्यसपछि स्थानीय भागाभाग गर्न बाध्य हुन्छन्,’ उनले भने ‘वर्षायाम सुरु भएसँगै त्यहाँका अधिकांश घरपरिवारको निन्द्रा भंग हुन्छ।’ निरन्तरको वर्षाले सेती नदीको बहाव बढ्ने र घरहरू नै पहिरोको जोखिममा पर्दा उनीहरूमा त्रास ज्युका त्यु छ। नदीले वर्षेनी जमिन कटान गर्दै जाँदा नदी वरपरका घरहरू विस्थापित भएको उनले बताए।

त्यस्तै, भीमादका धेरै घरपरिवार विस्थापित भइसकेका छन्। कतिपय आफ्नो घर भए पनि पहिरो खस्ने डरले घर भाडामा लिएर बस्न बाध्य छन्। अहिले २५/३० घरका मानिसहरू पानी परेको बेलामा घर छाड्ने र नपरेको बेलामा त्यहीँ बस्ने गरेको उनीहरू बताउँछन्। उनीहरूले दिउँसोको समयमा पानी पर्न थालेपछि सामानहरू बाहिर निकालेर सुरक्षित स्थानतर्फ लाने गर्दछन्। रघु प्रिय सामुदायिक वनको एक हेक्टर क्षेत्रफलसमेत नदीले कटान गरिसकेको छ। नदी नियन्त्रणका लागि पटक–पटक मन्त्रालयमा डेलिकेशन जाँदासमेत कुनै सुनुवाइ नभएको वडाध्यक्ष जोशीले भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.