|

काठमाडौं : नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि पराजित भएको छ। कोलम्बोमा आइतबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

बंगलादेशी युवा टोलीले २६२ रनको विजयी लक्ष्य ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। उत्कृष्ट ब्याटिङ गरेका बंगलादेशका कप्तान अकबर अली शतक बनाउनबाट २ रनले चुके। ८२ बल सामना गरेका उनले १४ चौकाको मद्दतबाट ९८ रन बनाए। कमलसिंह ऐरीले बंगलादेशका २ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। रासिद खान र हरी चौहानले एकएक विकेट लिए। बंगलादेशको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो। नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धसतक प्रहार गरे। पवनले १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए। बिस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाएका थिए। यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए। भीम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन जोडे। बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २-२ विकेट लिए।

'समूह बी' को आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले यूएईलाई पराजित गरेको छ।  'समूह बी' मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। बंगलादेशले दुईवटै खेल जितेर ४ अंक बनाउँदा समान खेल खेलेको श्रीलंकाको २ अंक छ।

नेपाल र यूएई अंकबिहीन छन्।

नेपालले अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.