|

पोखरा : नेपालमा आविस्कार केन्द्र सञ्चालन गरिरहेका महाबिर पुनले उत्तरी गोरखामा सञ्चालनमा ल्याएको इन्टरनेटका विभिन्न सामग्रीहरू चोरी भएको छ।

महाविर पुनमार्फत नेपाल वायरलेस कम्पनीले हिमालपारीको चुमनुब्री गाउँपालिकामा निशूल्क वितरण गरेको थियो। उक्त सामग्री इन्टरनेट सेवा नै दिँदै आएको सुविसुका कर्मचारी प्रबल लामाले चोरी गरी सुविसुको टावरमा प्रयोग गरेको पर्यटन ब्यवसायी तथा नुब्री सांस्कृतिक उत्थान समितिका अध्यक्ष लाक्लाढुण्डुप लामाले थाहा खबरलाई जानकारी दिए। 

‘सामान भुसुक्कै पारेर लगेर सुविसुको टावरमा हालेछ’, उनले भने, ‘उसले केही सामान सुविसुको टावरमा हालेको छ। केही भने बेचिसक्यो।’ पर्यटकीय सीजन सुरु हुनै लाग्दा मनास्लु पदमार्गमा पर्ने चुमनुब्री गाउँपालिका ५ को धोर्जोङडाँडा र वडा १ लिमिडाँडा इन्टरनेटविहीन भएको उनले बताए।

प्रबल लामाले आठ वटा सोलार प्यानल, चार वटा ड्राइ ब्याट्री, वाएरलेसको सेटहरू र टावरमा प्रयोग हुने उपकरणहरू चोरेको लामाले जानकारी दिए। सामान चोरीको आरोपी रसुवाको ठुलोगाउँका प्रबल लामाविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको अध्यक्ष लामाले जानकारी दिए।

प्रवल सुविसुको चुमनुब्री प्राविधिक प्रतिनिधि हुन्। उनी यस अघि महाबीर पुनको नेपाल वायरलेस इन्टरनेट कम्पनी, वल्डलिंक र नुब्री सांस्कृतिक युवा उत्थान समितिद्वारा सञ्चालित इन्टरनेट सेवाको प्राविधिक कर्मचारीको रुपमा काम गर्थे।

लामाले दिएको जाहेरीमा उनले पहिले आफूहरूले सञ्चालन गरेको इन्टरनेटमा पनि सामान चोरेपछि कारबाही गरिएको उल्लेख छ। लामाले गत भदौ ११ गते सामान चोरेको जिल्ला प्रशासनमा दिएको जाहेरीमा उल्लेख छ।

नेपाल वायरलेस कम्पनीले सन् २०१२ को डिसेम्बरमा चुमनुब्री गाउँपालिकाका सरकारी विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयहरूमा निशुल्क इन्टरनेट सेवा दिँदै आएको छ। यस अघि पनि उसले सामानहरू चोरी गरेर बिक्री वितरण गर्दै आएको महाबिर पुनले जानकारी दिए।

‘दुई वर्ष पहिले हाम्रो कम्पनीको प्राविधिक भएर काम गर्दा उसले विभिन्न सामानहरू चोरेर बेचेपछि हामीले सामागाउँ प्रहरी चौकीमा उजुरी दिएर सामान फिर्ता गराएका थियौँ’, थाहाखबरसँगको कुराकानीमा महाबीर पुनले भने,‘सामानहरू चोरेपछि हाम्रोबाट हुने सेवा ठप्प छ। अब त्यहाँ सजिलै सामान लैजान पनि सकिन्न।’ 

१२ लाख रुपैयाँ बराबरको सामान चोरेको आरोप स्थानीय पर्यटन ब्यवसायीले लगाएका छन्। उत्तरी गोरखाको चुमनुब्रीमा सडक सञ्जाल नजोडिएकोले सामग्री ढुवानी गर्न समस्या छ।

लाक्पाढुण्डुप लामाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाले प्रबल लामालाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.