|

कञ्चनपुर  ः कञ्चनपुरको पुनर्वास नगरपालिका ९ विचफाँटामा रहेको प्याराताल (नाला) क्षेत्रनजिकै चार महिना अघि स्थानीयले भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती नियन्त्रण गर्न नेपाल तर्फ तारजाली राख्ने कार्य गरेपछि भारतीय सुरक्षाकर्मीले विरोध गर्दै हटाए।

नेपाली भू भागमै तारजाली राख्ने कार्य गरिए पनि भारतीय सुरक्षाकर्मीले भारतीय भू भागमा तारजाली गरेको आरोप लगाउँदै तारजाली हटाएका हुन्। तारजाली लगाउन गाडिएका खम्बा उखेलेर तार हटाइ दिए।

स्थानीय आइतबहादुर सुनारले भने, ‘हामीले वर्षौदेखि यस क्षेत्रमा खेती गर्दै आएका छौं। यो क्षेत्र नेपालमै पर्छ भन्दा पनि भारतीय सुरक्षाकर्मीले मानेन्।’ ‘पहिला जुन क्षेत्रमा खेती गर्थ्याै त्यस क्षेत्रमा हाल खेती लगाउन पाइएको छैन। सीमानजिकैको बस्तीमा विद्युत सेवा समेत भारतीयले विस्तार गर्न दिएका छैनन्’ उनले भने।

प्यारा तालनजिकै पर्ने दुधुवा निकुञ्जबाट हात्तीको बथान नेपाली बस्ती छिरेर वर्षेनी उपद्रो मच्चाउँदै आएपछि स्थानीयले नगरपालिकाको सहयोगमा तारवार गर्न खोजेका थिए। वैशाख महिनामा तारवार गर्न खोजिएको क्षेत्रमा हाल भारतीय एसएसवीले दैनिक गस्ती गर्दै आएको छ।

स्थानीय नेपालीलाई त्यस क्षेत्रमा प्रवेश गर्न समेत नदिने गरेको छ। प्यारा तालमा नाउ चढेर स्थानीयले वर्षौदेखि भारतीय बजार विशनपुरीसम्म जाने गरेका थिए। वर्षौ पहिलादेखि प्रयोग गर्दै आएको घाट समेत हाल भारतीय सुरक्षाकर्मीले बन्द गरिदिएको स्थानीय पञ्चसिंह तामाङले बताए। 

'अहिले नाउ समेत बन्द गरिदिएको छ' उनले भने, ‘निकटवर्ती भारतीय बजारबाट आवश्यक घरायसी समान खरिद गर्न समेत दिइएको छैन।’ विसं २०२२ सालदेखि प्यारा तालमा तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले एकलौटी रुपमा माछा मार्नका लागि ठेक्का दिने कार्य गर्दै आएको थियो। हाल पुनर्वास नगरपालिकाले तालमा माछा मार्नका लागि ५९ हजारमा ठेक्का दिएको छ।

'तालमा माछा मार्ने कार्यको ठेक्काको समयावधि सकिएपछि ठेक्कामा दिएका छौं' नगरपालिका ९ का अध्यक्ष नारायण जैशीले भने, ‘पहिला २७ हजारमा ठेक्कामा गएको थियो। यस वर्ष ५९ हजारमा ठेक्का भएको छ।’

भारतीयसँग मिलेर तालमा माछा मार्ने कार्य हुँदै आएको छ। प्यारा ताललाई दुधुवा नेशनल पार्कभित्र पार्न खोजेर भारतले ताल कव्जा गर्न खोजेको उनले बताए। ताल भारतीय क्षेत्रमा पारेपछि दुधुवा पार्कका जनावरलाई पानी खान सहज हुने भएकाले भारतले वर्षौदेखि विवाद झिक्दै आएको स्थानीयको भनाई रहेको छ। सीमा स्तम्भ नम्बर १९४ र १९५ वीचको क्षेत्रमा भारतले विवाद झिकेको छ।

विसं २०६२ सालमा नेपालतर्फको ५० मिटरमा भारतले सीमा स्तम्भ गाडे पनि स्थानीयले तोडेका थिए। त्यसै क्षेत्रलाई भारतले कायम गर्न खोजी रहेको वडा अध्यक्ष जैशीको भनाई रहेको छ।

२७ वर्षसम्म सीमाको कार्य गरेका पूर्व कर्मचारी मानसिंह भण्डारी साविकको सीमा स्तम्भ नम्बर १९४ हालको सीमा स्तम्भ नम्बर ७५२ देखि साविकको सीमा स्तम्भ नम्बर १९६ हालको सीमा स्तम्भ नम्बर ७६७ सम्मको आठ किलो मिटर सीमा नाका प्यारा तालमा पर्ने बताउँछन्। उनका अनुसार सन् १८६० को एफसिएण्डरसनले तयार गरेको नक्साको सिट नम्बर १३ मा प्यारा ताल (नाला) लाई सिमाना देखाइएको छ। 

सन् १९८३/०८४ को नेपाल भारत संयुक्तसम्म निरीक्षण टोलीबाट प्यारा नालाको कोर्ष चेञ्ज भए नभएको पत्ता लगाउन नसकिने र यो क्षेत्र नदी क्षेत्र भएकाले नाला स्पष्ट नहुँदा सीमा अतिक्रमणको रेकर्ड गर्न समेत नसकिने भएकाले अर्को चरणमा गर्ने भनी कैफियत जनाई काम बाँकी रहेको थियो। उनले भने, ‘सन् १९८३/०८४ मा प्याराको नेपाल-भारत दुवैतर्फ दुई/दुईसय मिटर क्षेत्रमा सर्वे कार्य समेत गरिएको थियो।’ 

प्याराको स्पष्ट स्केच नदेखिएकाले पुनः १९८८/०८९मा प्याराको दुवैतर्फ पाँच-पाँच मिटर क्षेत्रमा सर्भे गरिएको उनको भनाई रहेको छ। साविक सीमा स्तम्भ नम्बर १९४ देखि सोझो पश्चिम तर्फ प्याराको दायाँ किनारामा रहेको साविक सीमा स्तम्भ नम्बर १९५ हाल भत्केको अबस्थामा रहेको छ।

आब २०५०/०५१ मा सो सीमा स्तम्भको सट्टा हालको सीमा स्तम्भ नम्बर ७६३,७५४, ७६५,७६६ नेपालतर्फ करिव १५० मिटर भित्र प्याराको बायाँ किनारामा राखी सीमा स्तम्भदेखि सीमा स्तम्भको बीचमा सोझो रेखा तानिएको पूर्व सीमा सर्वेक्षक भण्डारीले बताए। 

परासनमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको १० एकड जग्गा भारतीय पक्षद्दारा दावी भइ पूरै प्यारा ताल (नाला) भारतमा पर्छ भन्ने भ्रम फैलाई भारतले समय समयमा तनाव पैदा गर्ने गरेको उनको भनाई छ। भारतीयले जग्गा कव्जा गर्न खोज्दा नेपाली पक्ष बाट प्रतिकार हुँदा कव्जा भने त्यति बेला गर्न सकेको थिएन।

साविककाे सीमा स्तम्भ नम्बर १९६ को नजिकमा विसं २०३५ सालमा पुनर्वास आवास कम्पनी‍बाट सुकुम्बासीलाई वितरण गरिएको जग्गामा समेत भारतीयले दावी गर्दै आएका छन्। धेरै वर्ष अगाडिदेखि प्यारामा माछा मार्ने ठेक्का नेपालको तर्फबाट लगाइँदै आएको छ।

प्याराको घाट तान्ने ठेक्का पनि नेपालबाटै हुने गरेको जानकारहरू बताउँदछन्। भारतीय मल्लाह जातिका व्यक्तिहरूले काम गर्दै आएका थिए। पुनर्वास नगरपालिकामा जनप्रतिनिधि आएपछि प्यारा क्षेत्रको सीमा विवाद समाधानका लागि कार्यपालिकाको बैठकले दुई पटक निर्णय गरेर केन्द्रमा पत्राचार गरे पनि समस्या अझै पनि समाधान भने हुन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.