|

उदयपुर : उदयपुरको पहाडी क्षेत्रमा उत्पादित भुइँ स्याउ (ग्राउण्ड एप्पल) मदिरामै सीमिति हुने गरेको छ। बजारमा पहुँच नहुँदा ग्रामीण क्षेत्रका किसानले खेती गर्ने भुइँ स्याउ गाउँ घरमै मदिरा बनाउन प्रयोग हुने गरेको हो।

भुइँ स्याउले बजार नपाएपछि किसान मारमा परेका छन्। ‘बजारमा बिक्री हुन्छ भन्छन्, खानलाई मीठो पनि हुन्छ,’ उदयपुरगढी गाउँपालिकाका स्थानीय कमला खनालले भनिन्, ‘गाउँ घरमै रक्सी बनाउलाई छरछिमेकहरुले लैजाने गरेका छन्।’

बजारमा पनि भुइँ स्याउ खान हुन्छ कि हुँदैन भन्ने रहेकाले पनि बिक्री हुने गरेको छैन। ‘कटारीलगायतका बजारमा खासै बिक्री हुँदैन,’ खनालले भनिन्, ‘विराटनगर, काठमाडौंलगायतका बजारमा बिक्री हुन्छ भन्ने सुनेका छौं, तर लैजाने गरेका छैनौं।’

विभिन्न सरकारी तथा गैरसरकारी निकायले बिक्री प्रवर्द्धन गरिदिने भन्दै खेती गर्न लगाए पनि बिक्री गर्ने ठाउँबारे जानकारी नपाउँदा समस्या परेको रौतामाई गाउँपालिकाका डम्बरकुमारी मगरले बताइन्। उनले भनिन्, ‘उत्पादन पनि ग¥यौं, तर कता लगेर कस्लाई बेच्ने थाहा नपाएर समस्यामा परेका छांै।’

गत एक वर्षदेखि करिब दश रोपनीमा भुइँ स्याउको खेती सुरु गरेका एकराज मगरले  बिक्री नभएपछि रक्सी बनाउन र गाईवस्तुलाई खुवाउने गरेको दुःखेसो पोखे। वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने सपना बोकेर भुइँ स्याउको खेतीमा लागेका किसान बिक्री नभएको बताउँछन्। 

‘सामान्य खेती गरे पनि वर्षमा लाखौं रुपैयाँ आम्दामी हुन्छ भनेर खेती सुरु गरियो,’ एकराज मगरले भने, ‘बजारमा त्यसको महत्त्वबारे जानकारी नहुँदा गाईभैंसीको खोले र मदिरा बनाउनुको विकल्प छैन।’

उदयपुरको रौतामाई, लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी गाँउपालिका, कटारी नगरपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रमा भुइँ स्याउको खेती हुने गरेको छ। व्यावसायिक रूपमा खेती सुरु गरेका किसानले खेती छाड्न थालेका छन्। ओख्ले, बौरेनी, माझखर्क, भालेबास, यारी खोला, रतने, ठाडाखोलाका किसानहरु भुइँ स्याउ खेतीमा लागेका छन्। 

न्युनतम वार्षिक पाँचदेखि ५० क्विन्टलसम्म त्यस क्षेत्रका किसानले उत्पादन गरेको भुइँ स्याउ बिक्री हुन सकेको छैन। ‘यातायाताका लागि सडक समेत छ, बजारमा लग्यो मान्छेहरुले के भनेर हैरान बनाउँछन,’ किसान शेरजंग राउतले भने, ‘उपभोक्तालाई समेत भुइँ स्याउनको महत्त्व थाहा नहुँदा बिक्रीमा समस्या भइसकेको छ।’

औषधीय गुण भएको भुइँ स्याउको जानकारी नहुँदा बारीमै खेर गइरहेको राष्ट्रिय कृषक समूह नेपाल उदयपुरका अध्यक्ष कुशल राउत बताउँछन। ‘सुनेको र जानेसम्म ब्लड प्रेसर, सुगरलगायका अन्य बिरामीका लागि भुइँ स्याउ अति उपयुक्त हुन्छ,’ उनले भने, ‘स्वास्थ्यलाई लाभदायी हुन्छ भन्ने सुनेको छु,। तर, सर्वसाधारणलाई जानकारी छैन, किसानले उत्पादन गरेर बजार लगे पनि बिक्री हुन सकेको छैन।’

पछिल्लो समय गाईघाटलगायतका बजारमा सलादको रुपमा फट्टफुट्ट प्रयोगमा आउन थालेको छ। पूर्वी नेपालका धरान, विराटनगर, इटहरीलगायतका बजारमा माग भए पनि उदयपुरको बजारमा भुइँ स्याउले बजार पाउन सकेको छैन। उदयपुरमा उत्पादन हुने भुइँ स्याउबारे प्रचारप्रसार नहुँदा धरान, विराटनगर, वीरगन्ज  काठमाडौंका उदयपुर आउन नसकेको जानकारहरु बताउँछन्।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले भुइँ स्याउ पनि फलफूल खेतीनै भएको बताउँछन्। ‘विभिन्न संघसंस्थाले झन्डै ५/७ वर्षको बीचमा पहाडी क्षेत्रका किसानलाई यस खेतीतर्फ आर्कषित गरेका छन्,’ उनले भने, ‘अनुमानित ५२ हेक्टरभन्दा बढी जग्गामा खेती हुने गरे पनि बजार प्रवर्द्धन नहुँदा समस्या हुने गरेको छ।’

प्रतिकिलो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने भुइँ स्याउ प्रसस्तै उत्पादन भइरहेको छ। प्रचारप्रसार नभएका कारण जिल्लाबाहिरका व्यापारी नआउने र उदयपुरका बजारमा त्यसको महत्त्व बुझाउन नसक्दा गाईवस्तुलाई खोले पकाउन र गाँउमा रक्सी बनाउन मात्र प्रयोग हुने गरेको छ। 

जिल्लामा हुने विभिन्न कृषिप्रदर्शनी देखाउने र सदरमुकामबाट गाउँ गएका विभिन्न संस्थाका प्रतिनिधिलाई भुइँ स्याउबारेमा किसानको एउटै गुनासो हुन्छ, ‘बारीमा रोपेर फलायौं, कहाँ लगेर बेच्नु?’

यस्तो छ फाइदा

भुइँ स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सीसमेत उत्पादन हुने बताइएको छ। एक दर्जनभन्दा बढी रोग निको बनाउने औषधिका रूपमा प्रयोग हुँदै आएको भुइँ स्याउ मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, कमलपित्त, क्यान्सर, एलर्जी लगायतका रोगको औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। 

खेती सुरु गरिएको नौ महिनामै फल्न सुरु हुने र एउटै बोटबाट पाँच केजीसम्म उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आयआर्जनमा राम्रो सहयोग पुग्ने कृषकहरुको भनाइ छ। भुइँ स्याउबाट सलाद, जुस र अन्य परिकार तयार हुन्छन् भने ‘वाइन’ बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.