|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका– ४ सिंगा र आगेबगरमा ६ करोडको लगानी हरियाली गु्रपले नयाँ मोडलको आधुनिक कृषि फार्म संचालन गरेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, अन्तर्राष्टिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापा लगायतको अवधारणा र लगानीमा खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समूहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो। फार्ममा स्थानीय समेत ५० जनाको लगानी रहेकोछ।

कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ। यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । 

‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकहरुको ‘आमुल’मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म संचालन गरिएको फार्मका संचालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए। थापाका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो।
 ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ’ थापाले भने ‘यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्धेश्य रहेको छ।’

३६ जना कृषकहरुको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ। कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६/६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए।

फार्ममा तरकारी खेती, ड्रागन फुड (सिउडी फल) माछा पालन, मौरी पालन, फूल खेती गरिएको छ भने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पंक्षी कालीज पालन गर्ने तयारी गरेको कम्पनीका कम्पनिका प्रवन्ध निर्देशक केसीले बताए।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदुर मध्य अधिकांश जग्गाधनी छन् । जग्गाको भाडा संगै रोजगारी पाउनुका साथै खडेरी, मल–बिउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए। ‘बजार नजिक, सडक सुबिधा, अनुकुल हावापानी र ठूलो फाँट भएपनि खण्डीकृत जमिन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिचाईको अभावले कृषि जिविकोपार्जनमा सिमित थियो,’ खड्काले भने ‘समूहकृत खेती सुरुवात भएपछि अवस्था फेरिएको छ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरि लिफ्ट प्रबिधिबाट पानी तानेर सिचाइको व्यवस्था मिलाइएको छ। बार्है महिना नियमित खेती गर्न सकिने भएको छ। सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ।

मासु र अण्डाका लागि छुट्टा÷छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताए। १०० घारमा माहुरी पालिएको र १०० रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको पलास्टिक घर भित्र तरकारी लगाइएको छ। चालीस लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताए। कम्पनीमा आवद्ध बाहेक अन्य साना कृषकहरुले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाएको छ।

तरकारी खेतीमा रासायनिक मल र विषादी प्रयोग गरिएको छैन्। गाइबस्तुको मल, कुखुराको सुली र पात पतिंगर कुहाएर प्राङगारिक मलको प्रयोग गरिएको तरकारी फिल्ड इन्चार्ज बुद्धि सुनारले बताए। कम्पनीमा कार्यरत सबैलाई सरकारले तोकेको पारिश्रमिकको व्यवस्था गरेको उनको भनाइ रहेको छ।

गत माघदेखि संचालन भएको यो फार्मले पाँच महिनाको अवधिमा असार मसान्तसम्म रु ४१ लाखको तरकारी, अण्डा,मासु विक्रि गरेको संचालक थापाले जानकारी दिए।   बेनी, पोखरा, मुस्ताङ र तनहुँका बजारमा कृषि उपज निकासी हुने गरेको उनको भनाइ छ।

खेतीमा आधुनिक कृषि औजारको प्रयोग गरिएको छ। चक्लाबन्दी गर्न नक्साङ्कन, बिजुली, निकास आदीको व्यवस्थापन कम्पनीलेनै गरेको थियो। गोरखा र रोल्पामा पनि हरियाली मोडलमा कृषि फार्म सञ्चालन हुन लागेको संचालक समितिका सदस्य थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.