'पर्याप्त छलफल भएन'

|

हेटौंडा : प्रदेश ३ मा लोकसेवा आयोगको गठन गर्ने बाटो खुलेको छ। मंगलबार 'प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' सर्वसम्मतले पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो।

विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राखेका थिए। विधयेकमाथि दफावार छलफल भएर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा 'प्रदेश लोकसेवा आयोगको गठन, काम , कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' सर्वसम्मतले पारित भएको हो।

पर्याप्त छलफल भएन

प्रदेश-३ का नेपाली कांग्रेसका सांसदले भने विधेयकको प्रतिवेदनमाथिको छलफलमा बोल्दै लोकसेवा आयोग गठनसम्बन्धी विधेयकमा पर्याप्त छलफल नभएको बताएका छन्। कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठ र नरोत्तम वैद्यले पर्याप्त छलफलको लागि समय नदिएको बताएका थिए।

जवाफमा मुख्यमन्त्री पौडेलले प्रतिपक्ष भएकोले मात्रै विरोधको लागि विरोध नगर्न आग्रह गर्दै प्रजातन्त्रिक ढंगले पर्याप्त समय र छलफल गरेर विधेयक ल्याएको बताएका थिए। उनले प्रदेश सरकारले छिट्टै निजामती कर्मचारी ऐन ल्याएर सरकारलाई तीव्रता दिनेसमेत बताए। आफूमा दुई तिहाईको दम्भ कहिले नभएको भन्दै प्रतिपक्षको रचनात्मक सहयोगको अपेक्षा गरेको उनले बताए।

राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन : मुख्यमन्त्री

मुख्यमन्त्री पौडेले अब प्रदेश राजधानीको विषय उठाउनु नपर्ने बताएका छन्। प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदमा प्रश्न उठाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाएका थिए।

मंगलबारको बैठकमा मुख्यमन्त्री पौडेलले सरकारले कामको गति बढाएको दाबी गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताए। उनले प्राकृतिक विपदमा जनधनको क्षति भएकालाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै उनले अवरुद्ध सडकहरू सुचारु गराउन प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले निकाशा भएको बताए।

मंगलबारको बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले 'सरकारी निजी सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयक'को समितिको प्रतिवेदन संसदमा पेस गरेका थिए। यस्तै मंगलबारकै बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले 'प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयक'को पनि  प्रतिवेदन पेस भएको छ। उक्त विधेयकको बुधबार प्रतिवेदनसहित छलफल भएर पास हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.