|
फाइल फोटो

धनगढी : नविल बैंक कञ्चनपुरको रकम लुटिएको सम्बन्धमा ६ वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले  बैंकका तत्कालीन सुरक्षा गार्ड र गाडी चालकलाई सोधपुछ सुरु गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गत बुधबार साँझ कैलालीको धनगढीबाट चार थान पेस्तोल, दर्जनौँ तमसुक, चेक र नक्कली छापसहित तीनजना पक्राउ परेपछि ६ वर्षदेखि अनुसन्धानमा रहेको घटनामा प्रहरीले नयाँ ‘क्लु’ फेला पारेको हो।

प्रहरीले उनीसँग बरामद गरेका ट्राफिक प्रहरीका सिट, बेल्ट, नेमप्लेट र ड्रेसका आधारमा नविल बैंकको पैसा लुट्न पनि राणा समूहको संलग्नता रहेको आशंका प्रहरीले गरेको थियो। त्यसपछि प्रहरीले नबिल बैंक लुटपाट प्रकरणबारे पनि अनुसन्धान सुरु गरेको हो।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीले तत्कालीन सुरक्षा गार्ड गंगादत्त भट्ट र गाडी चालक दिलबहादुर चन्दलाई सोधपुछ गरेको छ। हाल उनीहरू दुवै जनाले नविल बैंकको जागिर भने छोडिसकेका छन्। चालक चन्द बैतडी र सुरक्षा गार्ड भट्ट कञ्चनपुरमा रहेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले त्यो घटनासँग जोडिएका सबै व्यक्तिहरूसँग पुनः सोधपुछ गर्ने जनाएको छ।

‘हामीले केहीलाई सोधपुछ गरिसकेका छौँ केहीलाई गर्छौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष्य बस्नेतले बताए।

२०७० साल मंसिर २५ गते नविल बैंक कञ्चनपुरबाट नेपाल राष्ट्र बैंक धनगढीमा राख्न ल्याउँदै गरेको दुई करोड ३० लाख ६० हजार रुपैयाँ कैलालीको मालाखेतीमा गाडीबाट लुटिएको थियो। लुटपाटमा संलग्न व्यक्तिहरू ट्राफिक प्रहरीको पोसाकमा रहेका थिए।

६ वर्ष बितिसक्दा पनि प्रहरीले उक्त घटनामा संलग्न व्यक्ति पक्राउ गर्न सकेको छैन। राणासँग फेला परेका ट्राफिक प्रहरीका पोसाक र सामग्रीका आधारमा प्रहरीले उनलाई नविल बैंकको रकम लुटपाट प्रकरणमा समेत जोडेर अनुसन्धान गरिरहेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.