|

धनगढी : कैलालीको घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थामा बुधबार तालाबन्दी गरिएको छ।

स्थानीयसँग रकम संकलन गरेको ८ वर्ष बितिसक्दा पनि बत्ती नबालेको भन्दै स्थानीयले सहकारी संस्थामा तालाबन्दी गरेका हुन्। घोडाघोडी नगरपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्गसमेत केही बेर बन्द गरेका थिए।

विद्युतिकरणका लागि घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाले २०६८ र २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाउँपालिकाको वडा नं ८ बाट प्रति घरधुरीबाट १ हजार ५ सयदेखि ३ हजारसम्म रकम संकलन गरेको थियो।

रकम संकलन गरेको ८ वर्ष बितिसक्दा पनि बिजुली उपलब्ध नगराएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्। एक साता पहिले ज्ञापनपत्र बुझाएका स्थानीयवासीले तोकिएको समयसम्म पनि समस्याको समाधान नभएको भन्दै तालाबन्दी र सडक अवरुद्ध पारेको बताएका छन्।

घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाले जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग १८ महिनामा विद्युत् उपलब्ध गर्ने सम्झौता गरेको थियो। तर, नागरिकसँग रकम संकलन गरेको ८ वर्ष पूरा हुँदा पनि तीनवटा स्थानीय तहका छ वटा वडाहरू विद्युत्‍विहीन बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.