|

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ (साबिकको काडामाडौं गाविस) मा २०६९ सालमा खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले ८ वर्षपछि राहत पाएका छन्। खोपमा असावधानीका कारण चार बालबालिकाको मृत्यु भएको थियो।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले ०७५ असार १४ गते खोप लगाएपश्चात् मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरूप जनही १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई आदेश गरेको थियो।

अदालतको आदेशपश्चात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदन भण्डारी फाउण्डेसनका अध्यक्ष लक्ष्मण मलासीसँग ४ जनाको १० लाखका दरले ४० लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको थियो। प्राप्त रकम बैँक खातामार्फत पीतिड परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताए। ‘स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासनलाई पठाएको थियो, हामीले पीडित परिवारलाई हस्तान्तरण गरेका छौँ’ पौड्यालले भने।

०६९ सालमा  दादुरा खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु बिकको मृत्यु भएको थियो। ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको अन्जुका बुवा हरिभक्त बिकले बताए। ‘हामीले धेरै पटक सबैसँग आग्रह गर्‍यौँ तर पाउन सकेका थिएनौँ, सर्वोच्च अदालतको फैसलापछि पनि लामो समय लाग्यो’ बिकले भने।

सर्वोच्चको फैलसापछि पनि छिटो काम गर्नका लागि धेरै पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाउनु परेको मदनभण्डारी फाउण्डेसन डोटीका अध्यक्ष लक्ष्मण मलासीले बताए। ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा ढिलाइ भयो, पीडित परिवारसहित हामीले धेरै पटक धाउनु पर्‍यो’ मलासीले भने। पीडित परिवारले न्यायका लागि पटक-पटक आवाज उठाए पनि क्षतिपूर्तिको व्यवस्था हुन सकेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.