'नेकपा सरकारको परराष्ट्र नीति बचकना र अस्पष्ट'

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको परराष्ट्र नीति अस्पष्ट र बचकना देखिएको आरोप लगाएका छन्। उनले हालै नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छिमेकी चीन र भारतका परराष्ट्रमन्त्रीसँग सरकारले फरक-फरक व्यवहार गरेको भनेर सरकारको आलोचना गरेका हुन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सिंहले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई स्वागत गर्न परराष्ट्र सचिव शंकरदास वैरागी गएको र चिनियाँ विदेशमन्त्री वाङ यीलाई स्वागत गर्न राज्यमन्त्री डा. सुरेन्द्र यादव गएकोप्रति असन्तुष्टि जनाएका हुन्।

भारतीय विदेशमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा आफू राजा र विदेशमन्त्री रैती भएको व्यवहार देखिएको र चिनियाँ विदेशमन्त्रीलाई भेट्दा समान हैसियतमा भेटेको भन्दै सांसद सिंहले आक्रोश पोखेका हुन्। त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्रीलाई होटेलमा गएर नभेटेको र चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटेलमा गएकोबारे पनि उनले प्रश्न उठाएका थिए।

त्यस्तै, केही दिन पहिले पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नेबेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आफू बसेकै लहरमा नराखेकोप्रति पनि सांसद सिंहले आपत्ति जनाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि नेपाली राजदूतलाई आफू बसेको लहरमा राखेका थिए।  

सांसद सिंहले नेपालको बिआरआई र इन्डोप्यासेफिकसम्बन्धि नीतिले पनि नेपालको अस्तित्वमाथि प्रश्न गरेको बताए। उनले भने, 'नेपाल रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ। हाम्रो परराष्ट्र नीति के हो? अस्पष्ट र बचकना परराष्ट्र नीति देखियो।'

चीनले थालेको बिआरआई र अमेरिकी नेतृत्वको इन्डोप्यासेफिक दुवै सैन्य कुटनीतिक अभियान भएकाले नेपाल दुवैमा संलग्न नहुनुपर्ने सिंहको धारणा थियो।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.