भाइरल ज्वरो फैलियो

|

बैतडी : देशभरजस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगु रोगको संक्रमण देखा पर्न थालेपछि बैतडीमा सतर्कता अपनाइएको छ। बैतडीमा हालसम्म डेंगुको रोगको संक्रमण देखा नपरेको भएपनि संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

 डेंगुको संक्रमणवाट बच्नको लागि जिल्लाका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण तथा प्रकाशन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिए। यसका साथै १० वटै स्थानीय तहका स्वास्थ्य संयोजक र स्वास्थ्य चौकी इञ्चार्जहरूलाई पनि डेंगुको रोगको संक्रमणसम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न पत्राचारसमेत गरिएको छ।

'यहाँका अधिकांस नागरिकको बसाइँ तराईमा पनि रहेकोले त्यहाँ लामखुट्टेले टोकेर डेंगु संक्रमण भएको भए ती नागरिकले डेंगु सार्न सक्छ' उनले भने, 'डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ।'

बिहान, दिउँसो र साँझ घाम अस्ताउने समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका छन्। खास गरेर तराईमा मात्रै देखिने डेंगु रोग पहाडी जिल्लामा पनि फैलिदै गएको छ। सुदूरपश्चिम प्रदेशमा डेंगु रोगका २ दर्जन बढी जना बिरामी फेला परेका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ।

सबै स्थानीय तहमा द्रुत प्रतिकार्यटोली

जिल्लाका दशवटै स्थानीय तहमा स्वास्थ्यको द्रुत प्रतिकार्यटोली(आरआइटी) गठन गरिएको छ। स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा आरआइटी टोली गठन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

उक्त टोलीले स्थानीय तहमा कुनै पनि रोगको महामारी फैलिएमा तत्काल समाधान गर्ने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिए। कुनै पनि रोगको महामारी फैलिए महामारी नियन्त्रणको लागि आरआइटी टोलीले समन्वय गर्ने जनाइएको छ।

उक्त टोलीले तत्काल महामारीको सूचना संकलन गरी औषधि उपचार  समेत गर्ने जनाइएको छ। आरआइटी टोली जुनसुकै बेला पनि तयारी अवस्थामा राखिएको छ।

दनपाले दियो जिल्ला अस्पताललाई डेंगु परीक्षण कीट

जिल्लाको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण कीट उपलब्ध गराएको छ। देशैभरी डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पुर्‍याउने हेतुले कीट उपलब्ध गराएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। नगरपालिकाले अस्पताललाई ४५ ओटा कीट उपलब्ध गराएको हो।

लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण परीक्षणका लागि कीटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताए। जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको जिल्ला अस्पतालले जनाएको छ। डेंगु रोग लागेमा उच्च ज्वरो आउने, शरीर कम्पन हुनेलगायतका लक्षण देखा पर्दछन्।

यस्तै, डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरीका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ। आफ्नो वरपरको वातावरण सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाले जनाएको छ।

भाइरल ज्वरो फैलियो

वर्षातको समयसंगै जिल्ला अस्पताल जिल्लामा बिरामीको चाप बढेको छ। बिरामीमध्ये धेरै भाइरल ज्वारोका रहेका छन्। अस्पतामा हाल दैनिक १२० जना बिरामी आउने गरेका अस्पतालले जनाएको छ। अस्पतालमा आउने बिरामीमध्ये दैनिक ६० जना ज्वरोका बिरामी आउने गरेका जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए।

बिरामीमध्ये आधा भाइरल ज्वरोका र अरू झाडापखाला, टाइफाइट लगायतका रहेका छन्। ज्वरोका बिरामी बढी देखा परे पनि हालसम्म जिल्लाका डेंगु रोगको संक्रमण देखा नपरेको जनाएको छ। डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइवाट बच्ने साथै ज्वरो तथा झाडापखालाको लागि वर्षातको समयमा नयाँ पानीका मुहानको पानी पिउँदा फिल्टर तथा उमालेर पिउन चिकित्सकको सुझाब रहेको छ। 

पहिलोपटक मलेरिया बिरामी फेला

दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा पहिलोपटक औलो (मलेरिया) का बिरामी भेट्टिएका छन्। जोशीबुंगा स्वास्थ्य चौकीमा बिरामी भएर आएकी स्थानीय ३० वर्षीया लक्ष्मी ओडमा औलोरोग भेट्टिएको स्वास्थ्य चौकी इञ्चार्ज हेल्थ असिस्टेन्ट शिवकुमार कठरियाले जानकारी दिए।

कामेर ज्वरो आउँने, बेहोस हुने लक्षणसहित स्वास्थ्यचौकीमा चेकजाँचको लागी आएकी लक्ष्मीको रगत परिक्षण गर्दा औलो भएको पुष्टि भएको हो। लक्ष्मी गएको १ महिनायता जिल्ला बाहिर कतै नगएको भए पनि औलो रोग देखापर्नुले आशंका पैदा गरेको स्वास्थ्य चौकीले जनाएको छ।

चिसो ठाउँ हिउँदको समयमा हिउँ पर्ने भए पनि यस्तो ठाउँमा औलो देखिनुले अरू पनि औलो भएको हुनसक्ने स्वास्थ्य चौकी इञ्चार्ज कठरियाको भनाई छ। पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टको टोकाइबाट बच्न स्वास्थ्यकर्मीको सुझाव रहेकोछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.