को हुन् चिकित्सा शिक्षा आयोगका पहिलो उपाध्यक्ष प्रा. डा. गिरी?

|

काठमाडौं : सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. गिरीलाई नियुक्त गरेको शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका प्रेस सल्लाहकार सुनील खड्काले जानकारी दिए।

आयोगको उपाध्यक्ष नियुक्त गर्नका लागि मन्त्रालयले ‘सर्च कमिटी’ बनाएको थियो। जसले प्रा. डा. गिरीसँगै प्रा. डा. सुरेन्द्र शेरचन र प्रा. डा. शम्भुकुमार पहारीको नाम सिफारिस गरेको थियो।

मन्त्रिपरिषद बैठकले यी तीन नाममध्ये प्रा. डा. गिरीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

आयोगको उपाध्यक्षका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए। जसमध्ये कार्ययोजना र प्रस्तुतीका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा लगिएको थियो।

प्राध्यापक डाक्टर गोविन्द केसीले लामो समयदेखि चिकित्सा शिक्षा आयोग गठन गर्नका माग गर्दै आएका थिए। उनी पटकपटक यसका लागि अनशनसमेत बसेका थिए।

यो आयोग गठनसँगै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुने अपेक्षा गरिएको छ।

को हुन् गिरी?

प्रा. डा. गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जन पदमा कार्यरत छन्। ३७ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रजिष्ट्रार पद सम्हालिसेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखसमेत रहिसकेका प्रा. डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जबाट एमबीबीएस र एमएस अध्ययन गरेका छन्।

सरकारका स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रमको प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा प्रा. डा. गिरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समिति संयोजक र चिकित्सा शिक्षा ऐन शुल्क निर्धारण समितिमा रहिसकेका व्यक्ति हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.