|

काठमाडौं : मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएका छन्। स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौँदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरूको सुझाव थियो।

सातौँ विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासँघले राजधानीमा  आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरूले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरूलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरूको क्षमता विकास गर्नुपर्नेमा जोड दिए। बेलैमा यस्ता उद्योगहरूको विकास र प्रवर्द्धन गर्न नसकिए केही वर्षपछि आफैँ बन्द हुने उनको भनाई थियो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पूरा गर्नका लागि त्यसको मुख्य आधारको रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिए।

आफैँसँग रहेको स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवर्द्धनबाट मात्रै बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने भन्दै उनले यसका लागि सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद खनालले विज्ञान र प्रविधिलाई कसरी लघु, घरेलु तथा साना उद्योगसँग जोड्न सकिन्छ भन्नेतर्फ सरकारले योजना बनाउन लागेका जानकारी दिए। अहिले भएका लघु, घरेलु तथा साना उद्योगबाट पाउन सकिने प्रतिफल पनि पाउन नसकिएको भन्दै उनले परम्परागत उद्योगधन्दालाई विज्ञान र प्रविधिसँग जोडेर मात्रै उत्पादकत्व र उत्पादन क्षमता वृद्घि हुने बताए।

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले समृद्घिको लागि उद्यमी हुनैपर्ने भन्दै उद्यम र उद्यमशीलता परम्परागत नभएर आधुनिक हुनुपर्नेमा जोड दिए। सो अवसरमा विज्ञान/प्रविधि तथा उद्योग क्षेत्रका विज्ञहरुबाट विज्ञान/प्रविधि र उद्यमशीलताका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.