नगर प्रमुख भन्छन् : विस्तारै समस्या हल गर्छौं

|

पर्सा : जितपुरसिमरा उपमहानगरपालिका- ११ आमाडार गाउँकी तितरीदेवी चौधरीले विवाह गरेर आमाडार गाउँमा आएको झण्डै चार दशक भयो। उनका जेठा छोरा नै ३५ वर्षका भइसके। उनी आमाडार गाउँमा आएदेखि आजसम्म कपडा फुकालेर नुहाउन पाएकी छैनन्। उनी मात्र त्यो टोलकी एक्ली कपडा लगाएर नै नुहाउने महिला भने होइनन्।

त्यही गाउँको धाराटोल, ब्रम्हटोल, बीचटोल र इनार टोल गरी चार टोलका तितरीदेवी, पल्टी चौधरी, चम्पा विश्वा चौधरी जस्ता सबै महिलाहरु कपडा लगाएर नै नुहाउन बाध्य छन्। ३५ घरसम्मले खुल्ला ठाउँको सार्वजनिक धारो ( चापाकल) नै प्रयोग गर्दा लुगा खोलेर कहिले नुहाउन नपाएको ती महिलाहरुले बताए। 

धाराटोलमा ३५ घरको एउटै धारा

सबैभन्दा समस्या धाराटोलवासीलाई छ। उनीहरु ३५ घर परिवारले एउटै धाराबाट गुजारा गरिरहेका छन्। देशमा यो परिवर्तन भयो, त्यो भयो भन्ने उनीहरुले नसुनेका भने होइनन्। तर बाराको जीतपुरसिमरा उपमहानगरपालिका भन्दा ३ किलोमिटर मात्र पूर्व तर्फको गाउँटोलका महिलाहरुले कपडा लगाएर नै नुहाउनु बाहेक उनीहरुसँग अर्को विकल्प नभएको गुनासो गरे।

परिवर्तन भएको अनुभूति कसरी गर्ने ? उनीहरुले उल्टै प्रतिप्रश्न गरे। जितेर गएपछि यो समस्या सधैंका लागि अन्त्य गर्छौं भन्ने हरेक प्रकारका उमेद्वारको आश्वासन सुनेर नै हाम्रो केश फुलिसक्यो धाराटोलकी फुलेश्वरीदेवी द्वारे चौधरीले थाहाखबरसँग भनिन्। अरू टोलमा भने ३५ नै घर त होइन। तर १५ देखि २०⁄२५ घरसम्मको  एउटै धारा छ उनले भनिन्।

बाथरुममा आङका स्त्र मात्र

खुल्ला ठाउँको सार्वजनिक धारामा सबैले देख्ने गरी महिलाले नुहाउँदा पर्दाका रुपमा आङ्गका बस्त्र वाहेक अर्को विकल्प नभएको धाराटोलकी फुलेश्वरीदेवीले बताइन्। हाम्रो लागि वाथरुम भनेको नै आङमा भएका कपडा त हुन् नि उनले भनिन्। पाका उमेरका महिलाहरुले जसो तसो नुहाउँछन् तर किशोरीहरुलाई निकै समस्या हुने गरेको उनको तर्क छ। 

किशोरीहरुलाई सकस 

बाटोको छेउमा धारा भएकोले गाउँका मानिस र बटुवासमेत आउँदा जाँदा परैबाट छ्वाङ्ग देखिने भएकोले पनि महिनावारीका बेला किशोरीहरुलाई साह्रै सकस भएको कर्णाधारमाई मन्दिर अगाडिको धारामा कपडामा नुहाउँदै गरेकी १७ वर्षीया ज्योतिकुमारी विश्वा थारुले बताइन्। यो समस्या अरुलाई हामी भन्न पनि सक्दैनौं उनले भनिन्। पाका उमेरका आमाहरु त जसोतसो नुहाउनु हुन्छ। आधुनिक समयमा पनि आफूहरु भने नुहाउने कुरामा समस्या खेप्दै छौँ उनले तर्क गरिन्। 

जनप्रतिनिधि आए पनि उस्तै

२८ वर्ष पहिले बारा गडहलबाट विवाह गरेर आमाडार आएकी संगीता विश्वा थरुनीलाई स्थानीय सरकार आएपछि यो समस्याबाट मुक्ति पाइन्छ कि भन्ने थियो। तर जनप्रतीनिधिले यो कुरा अझै नबुझ्दा धेरै महिला निरास छौं उनले भनिन्। स्थानीय फुसनी देवी विश्वा थारुले पटकपटक सार्वजनिक स्नानघर धारा पाएक पर्ने स्थानमा बनाउन पुरुष भद्र भलाद्मीमार्फत वडाध्यक्षलाई भन्दा पनि महिलाहरुको आवाज सुनुवाई नभएको उनले दुखेसो गरिन्।

पूरै गाउँ टोल अधिकांश चौधरी र दलित बस्ती रहेको र सामूहिक बसोबासका कारण बस्ती बाक्लिदै जाँदा घरेलु पानीको निकासमा समस्या बढ्दै गएको छ। यो समस्याबाट स्थानीय महिलाले छुटकारा पाउने हो भने तब जितपुर–सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले भने जस्तो पूरै नगरपालिका नै पर्यटन हबका रुपमा विकास गर्ने लक्ष्यमा अगाडी बढ्ने थियो स्थानीय अगुवाहरुले भने।

एकल परिवारका लागि अलग्गै चापाकल ( धारा ) राख्न सक्ने भए पनि पानीको निकास जाने ठाउँ नहुँदा त्यसो गर्न नसकिएको उनीहरुको भनाइ छ। अलग्गै आफ्नो घरमा धारा नभएसम्म महिलालाई त अप्ठ्यारो छ। उनीहरुले कपडा खोलेर सार्वजनिक स्थानमा भएको धारामा कसरी नुहाउने र ? स्थानीय प्रमोद विश्वा थारुले भने।

पानीको निकास नुहँदा समस्या

आमाडार गाउँमा मुलबाटो पक्का बनिसके पनि भित्रि टोलका बाटो र नाला बनेका छैनन्। अधिकांश घरको छानो फुस र खपडाको छ। तल टाटीको बेरामा  माटोले लिम्सेका र लिपेका धेरै घर छन्। पछिल्लो समयमा बनेका घर मात्र ईंटाले बनेका छन्। तर हरेक जसो घर जोडिएर बनेकाले बीच–बीचमा खाली जमिन छैन। घरसम्म आउँने बाटो पनि दुवै तर्फका घरबस्तीले च्यापेर साँघुरो छ पुरानो बस्तीमा।

त्यसैले यी बस्तीमा घरपिच्छे निस्कने पानीको निकासको समस्या छ। पहिले बस्ती र जनसंख्या कम हुँदा गुजारा चलाउन अलि सहज नै थियो। अब परिवर्तित समयमा त्यो सम्भव छैन धाराटोलकै स्थानीय पलटी चौधरीले बताइन्।

विकल्प नभएकोले पुख्र्यौली शैलीमा सार्वजनिक धारामा नै कपडा लगाएर नुहाउनु पर्ने बाध्यता महिलाको उस्तै छ उनले भनिन्। कतै पानीको निकास त कतै पानीको अभावका कारण मध्य तराईका धेरै पुराना बस्तीमा अझै महिलाहरुले यस्तो अवस्था भोग्न परिरहेको उनको भनाइ छ। 

समस्या विस्तारै हल गर्छौं : नगर प्रमुख

महिलाहरुको आङको बस्त्र नै वाथरुम हुने अवस्थाका बिषयमा जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेलले आमाडारमा मात्र नभएर धेरै पुरानो गाउँटोलमा यो समस्या रहेको स्वीकारे। यो समस्या नगरपालिकाले नीतिगत रुपमा अभियान नै चलाएर हल गर्छ उनले भने। सबैसँगको  समन्वयकारी भूमिकामा हामी चाडो समस्याको निरुपण तर्फ लाग्छौं उनले बताए।

आमाडार गाउँ समेटिएको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विनोद यादवले पनि पुरानो बस्तीहरुका कारण यो समस्या रहेको बताए। वडाका कतिपय टोलहरुमा यो समस्या छ।

पानीको निकासका लागि नाला व्यवस्थित गर्दै जाने लक्ष्य साथ यो वर्ष ५ लाख बजेट छुट्याएर काम सुरुवात गर्न लागिएको छ।  आगामी बर्षहरुमा अझ शसक्त ढंगबाट यो समस्या हटाउन वडाको बजेटलाई यतातर्फ केन्द्रित गर्दै जान्छौं वडाध्यक्ष यादवले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.