तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वसभामुख पनि संसदीय मैत्री समूह संयोजक

|

काठमाडौं : सभामुख कृष्णबहादुर महराले नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न ३३ देशका लागि संसदीय मैत्री समूह गठन गरेको छ। नेपालसँग दैत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गरिएको हो।

सभामुख महराले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सिफारिसमा ३३ देशका लागि संसदीय मैत्री समूह गठन गरेका हुन्। नेपालसँग सम्बन्ध भएका बाँकी देशहरूमा पनि आवश्यकताअनुसार संसदीय मैत्री समूह गठनको तयारी भइरहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

संसदीय मैत्री समूहले सम्बन्धित देशको संसदीय अभ्यासबारे बुझ्ने र सो देशलाई नेपालको अभ्यासबारे जानकारी दिने गर्दछ। त्यस्ता समूहहरूले दुई देशले अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्ने साझा मुद्दाबारे पनि छलफल गर्ने गर्छन्। जसले नेपालको कूटनीतिक पहल बढ्ने गर्दछ। एक-अर्को देशको भ्रमण गर्ने र संसदीय अभ्यासबारे जानकारी लिने पनि यी मैत्री समूहहरूले गर्दछन्।

मैत्री समूहका कामबारे संघीय संसदको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा प्रमुख सुरेन्द्र अर्यालले भने, ‘दुई पक्षबीचका साझा मुद्दाबारे छलफल गर्ने, एक-अर्को देशमा भ्रमण गर्ने, संसदीय अभ्यास र अनुभव साझा गर्ने, कानुन निर्माण प्रक्रियाबारे एक अर्काका अनुभव बाँड्ने मैत्री समूहहरूले गर्छन्।‘

संसदीय अभ्यासमा र नेपालको सम्बन्ध बिस्तारमा संसदीय मैत्री समूह प्रभावकारी हुने गरेका सहसचिव अर्यालले बताए। उनले नेपालको संसदीय अभ्यासबारे विश्वका अन्य मुलुकमा प्रचार गर्न र त्यहाँका राम्रा कुरा सिकेर यहाँ लागु गर्न मैत्री समूहले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कुन देशको संसदीय मैत्री समूहको संयोजक को?

सांसदहरूको रुचि र दलहरूले गरेको सिफारिसका आधारमा सभामुख महराले सांसदहरूलाई विभिन्न देशका लागि गठित संसदीय मैत्री समूहमा राखेका हुन्। मैत्री समूहमा रहेका सांसदहरूको एक समूहबाट अर्को समूहमा फेरबदल पनि हुने गरेको छ। दलले सिफारिस गरेको र सभामुखले तोकेको देशको संसदीय मैत्री समूहमा बस्न नचाहने सांसदको आग्रहमा सभामुखले देश परिमार्जन गरिदिने व्यवस्था संसदीय मैत्री समूह गठन कार्यविधिमा रहेको छ।

विभिन्न देशका संसदीय मैत्री समूहको नेतृत्वमा वरिष्ठ सांसदहरू रहेका छन्। तीन पूर्वप्रधानमन्त्री संसदीय मैत्री समूहको संयोजक बनेका छन्। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई क्रमशः फ्रान्स, बेलायत र जर्मनीका लागि गठन भएका संसदीय मैत्री समूहका संयोजक भएका छन्।

त्यस्तै, सांसदसमेत रहेका पार्टी अध्यक्ष/सभापतिहरू भने कुनै पनि मैत्री समूहमा रहेका छैनन्। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा कुनै पनि संसदीय मैत्री समूहमा रहेका छैनन्।

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र पूर्वसभामुख ओनसरी घर्ती पनि संसदीय मैत्री समूहको संयोजक बनेका छन्। नेम्वाङ नेपाल-चीन संसदीय मैत्री समूहको संयोजक छन्। उनले बैठकसमेत बसेर काम थालिसकेका छन्। घर्ती भने नेपाल-नर्वे संसदीय मैत्री समूहकी संयोजक बनेकी छन्।

नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजक नेकपाका नेता भीम रावल छन्। उक्त समूहमा राजपाका अध्यक्ष मण्डलका संयोजकसमेत रहेका सांसद राजकिशोर यादव र पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालगायत सांसदहरू सदस्य रहेका छन्।

नेपाल-अमेरिका संसदीय मैत्री समूहको संयोजक नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल रहेका छन् भने नेपाल-भियतनाम संसदीय मैत्री समूहको संयोजक नेकपाकी सांसद पम्फा भुसाल रहेकी छन्। त्यस्तै, नेपाल-दक्षिण कोरिया संसदीय मैत्री समूहको संयोजकमा नेकपाका सांसद जनार्दन शर्मा रहेका छन् भने नेपाल-श्रीलंका संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी राजपाका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महन्थ ठाकुरले लगेका छन्।

नेपाल-भारत संसदीय मैत्री समूहको संयोजक भने कांग्रेसका सांसद विजयकुमार गच्छदारलाई बनाइएको छ। उक्त समूहमा अर्बपति व्यापारी रहेका सांसद विनोद चौधरी पनि छन्।

नेपाल-बहराइन संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद लेखराज भट्ट रहेका छन् भने बंगदेशसँगको संसदीय मैत्री समूहको संयोजक नेकपाका नेता हरिबोलप्रसाद गजुरेल रहेका छन्।

बेल्जियमसँगको मैत्री समूहको संयोजक नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन्। ब्राजिलसँगको संसदीय मैत्री समूहको संयोजक राजपाका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतो रहेका छन्।

नेपाल-भुटान संसदीय मैत्री समूहको संयोजक समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीलाई बनाइएको छ। उनले उक्त पद आफूलाई अस्वीकार्य भउको संसद बैठकमै घोषणा गरेकी छन्। तर, उनले उक्त पद अस्वीकार गरेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखालाई औपचारिक रूपमा जानकारी नगराएको महाशाखा प्रमुख अर्यालले बताए। सांसद गिरीले नागरिकतामा विभेद रहेकाले उक्त पद अस्वीकार गरेकी केही दिन पहिलेको प्रतिनिधिसभा बैठकमा जानकारी गराएकी थिइन्।

नेकपा सांसद खगराज अधिकारी क्यानडा, कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की क्युबा, कांग्रेसकै दिव्यमणि राजभण्डारी डेनमार्क, विरोध खतिवडा इजिप्टका लागि गठित संसदीय मैत्री समूहको संयोजक बनेका छन्।

आयरल्यान्डका लागि गठित संसदीय मैत्री समूहमा नेकपा सांसद राधाकुमारी ज्ञवाली संयोजक छन् भने इजरायलका लागि गठित संसदीय मैत्री समूहमा नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका सांसद सुरेन्द्रकुमार (राम) कार्की संयोजक रहेका छन्।

नेपाल-जापान संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद सुरेन्द्र पाण्डे रहेका छन्। उक्त मैत्री समूहले पनि काम थालिसकेको छ। जापान-नेपाल संसदीय मैत्री समितिका अध्यक्ष टोसिहिरो निकाईसहितको टोलीलाई स्वागत गर्न तयार रहेको उक्त समितिले नेपाल भ्रमणमा आउन लागेको जापानी महिला सांसद लगायतको ९ सदस्यीय टोलीसँग पनि छलफल गर्ने निर्णय गरिसकेको छ।

मलेसियाका लागि गठित संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद छविलाल विश्वकर्मा रहेका छन् भने उत्तर कोरियाका लागि गठित संसदीय मैत्री समूहको संयोजक नेकपा राष्ट्रियसभा दलका नेता दिननाथ शर्मा रहेका छन्। उक्त मैत्री समूहमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसमेत रहेका छन्।

नेपाल-ओमन संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद सोमप्रसाद पाण्डेय, नेपाल-पाकिस्तान संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद शिवकुमार मण्डल केवट र नेपाल-कतार संसदीय मैत्री समूहको संयोजक नेकपा सांसद हृदयेश त्रिपाठी रहेका छन्।

नेपाल-रुस संसदीय मैत्री समूहको संयोजक समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उक्त समूहमा नेकपाका महासचिवसमेत रहेका सांसद विष्णु पौडेल र कांग्रेसका सांसद गगन थापालगायत सदस्य रहेका छन्।

साउदी अरबका लागि गठित संसदीय मैत्री समूहको संयोजक कांग्रेस सांसद डा. डिला संग्रौला पन्त, दक्षिण अफ्रिकाका लागि गठित मैत्री समूह संयोजकमा राजपाका अनिल झा संयोजक रहेका छन्।

नेपाल-स्वीट्जरल्यान्ड संसदीय मैत्री समूहको संयोजक कांग्रेस सांसद चित्रलेखा यादव र नेपाल-युएई संसदीय मैत्री समूहको संयोजक नेकपाका सांसद प्रभु शाह रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.