|

सोलुखुम्बु : खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा आउने अधिकांश पर्यटक ड्राइभर्ट हुन थालेको छ। काठमाडौंबाट लुक्ला उडानको पर्खाइमा बसेका पर्यटक हवाई सेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने गरेको पर्यटन व्यवसायीले बताएका छन्।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरू खुम्बुको विकल्पको रूपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताए। उनका अनुसार केही दिनदेखि लुक्लामा कुनै पनि उडान नहुँदा करिब ९ सयको हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन्। लुक्लाको उडान अवरद्ध भएपछि पर्यटक अन्नपूर्ण क्षेत्र जाने गरी गनतव्य परिवर्तन गर्ने गरेको टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताए।

विदेशी पर्यटकको हवाई मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स् प्रालि काठमाडौंका डाइरेक्टर बलबहादुर दर्नालले बताए। खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवा नै हो। हवाई सेवा नै प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ। 

लुक्लाका होटल भरिभराउ

मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाको होटल खचाखच भरिएको छ। भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामा नै बसेका छन्। विगत केही दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डायन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिए।

होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा सयौँ पर्यटक काठमाठडौं जानको लागि विमानको पर्खाइमा छन्। खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा बिमानको पखाईमा बसेका छन्।

केही दिन उडान नभए मूल्य बढ्ने

हवाई सेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यन्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन्। खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताए। हवाई सेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिदै जाने भएकाले मूल्य बढ्ने उनको भनाइ छ।

खुम्बु पुगेका मजदुर भन्छन् : खर्च अभाव हुने भयो

मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदुरलाई समेत समस्या भएको छ। जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यातिकै बस्न बाध्य बनेका छन्।

रोजगारीको खोजी गर्दै लुक्ला पुगेका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयौँ युवा लुक्लामा बसेका छन्। पर्यटकीय सिजन सुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेका मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन्। कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदुर मन कुमार राईले बताए।

जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीको रूपमा खुम्बु क्षेत्र जाने प्रचलन रहेको छ। उनीहरू महत्वपूर्ण चाड दशैँ र तिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.