रोकिए काला पहाड जाने

|

मुगु : मुगु र हुम्ला जोड्ने मगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्मको ६७ किलोमिटर सडक निर्माणको काम धमाधम हुँदैछ। निर्माणाधीन सडकमा पहेलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएका महिला कामदारहरु व्यस्त देखिन्छन्। तीमध्ये केहीले झम्पल त केहीले घनले हानेर पहरा फोडिरहेको देख्न सक्छौं।

उनीहरुमध्ये छायाँनाथ रारा नगरपालिका–१३ की ४५ वर्षीया विशु कामी सहजकर्ता हुन्। विशुका अनुसार उनीहरु यसरी काम गरेको एक वर्ष भयो। ‘सडक निमार्णको काममा जुटेका छौं,’ उनले सुनाइन्, ‘सब्बल, घन उठाएका छौं र पैसा पनि कमाएका छौं।’

गमगढी, चंखेली हुँदै हुम्लाको दार्म, देउली जोड्ने सडक निर्माणमा व्यस्त महिलाहरु बिहान बेलुकी घरको काम र दिउँसो सडक निर्माणमा जुट्ने गरेको बताउँछन्। गाउँमै रोजगारी आएपछि किन छोड्ने भनेर सडक निमार्णको काममा लागेका ठुम बुढा बताउँछिन्। 

पहिले पहिले सडक निर्माणको कार्यमा काम पुरुषले मात्र गर्न सक्छन्, महिलाले सक्दैनन् भन्ने सोचाइ यस क्षेत्रमा थियो। तर, अहिले यहाँका महिलाहरु दैनिक आठ घण्टा सडक निर्माणको काममा पुरुषसँगै खटिरहेका हुन्छन्। पुरुष सरह ढुंगाा फोड्ने, वाल लगाउने काममा महिलाहरु खटिरहेको छायाँनाथ रारा नगरपालिका–१३ की जौमती कामीले बताइन्। 

यस अवधिमा एक जना महिलाले सडक निर्माणमा लागेर नै कम्तीमा एक डेढ लाख रुपैयाँ आर्जन गरेका छन्। काममा खटिएका महिलाले पुरुष सरह नै ज्याला पाउँदै आएको जौमतीले बताइन्। 

कालापहाड जाने रोकिए 

परिवार पाल्नकै लागि भारत मजदुरी गर्ने जाने युवा सडक निमार्र्णको काम  सुरु भएपछि गाउँमै अडिएका छन्। यसले गाउँको बेरोजगार समस्या समाधान मात्र होइन, परिवारसँगै रहने वातावरण पनि सिर्जना गरेको छ। 

गाउँका सबै बेरोजागर युवा परिवार पाल्न भारत जाने गरेका भए पनि अहिले गाउँमा ग्रामीण पहुँच कार्यक्रम लागु भई सडक निर्माण गरिरहेकाले भारतमा मजदुरी गर्न नगएका गुरुदेव स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष केसरसिंह बिकले बताए। 

सडकको आशा

हुम्लाका देउली दार्मका सर्वसाधरण उपचार गर्न सिमिकोटभन्दा मुगु आउने गर्दछन्। उनीहरुलाई गमगढी पुग्न एक दिन लाग्ने गर्दछ। मुगुका रुगा, बामा लुमका सर्वसाधारणलाई सदरमुकाम पुग्न तीन चार घण्टा हिँड्नुपर्छ।

बिरामी हुँदा हेलिकप्टर कुर्नेबाहेक अरु विकल्प हुँदैन। तर, सडक सञ्चालनमा आए बिरामी पर्दा घण्टौं हिंडेर विमानस्थल पुग्न पर्ने बाध्यता हट्ने स्थानीयको भनाइ छ।

यस्तै, सडक घर नजिकै पुगे यहाँ उत्पादित स्याउ, तरकारीलगायतका वस्तु बजारसम्म पुर्‍याउन सजिलो हुने स्थानीय जयलाल रावतते बताए। उनका अनुसार सडक नहुँदा स्याउ बिक्री गर्न पाएका छैनन्। तरकारी बारीमै कुहिएको छ।

तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सडकको काम तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिंक रोडका प्रोजेक्ट फिल्ड म्यानेजर विष्णुराम विष्टले बताए।

उनका अनुसार २०२० अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। लक्ष्यअनुसार नै धमाधम काम भइरहेको छ। अहिलेसम्म ५८ किलोमिटर ट्रयाक खुलिसकेको छ। बाँकी नौ किलोमिटर मंसिरसम्म खुलाइसक्ने विष्टले बताए। 

सडक निर्माणमा मेसिन र मान्छेको प्रयोग गरेर मिश्रित प्राणलीमा भएको छ। सडकको कुल बजेट १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.