|

ताप्लेजुङ : लहरै मिलाएर राखिएको बट्टाहरुमा रातै अकबरे खुर्सानी। डल्ला पारेर प्लाष्टिकमा हालेर लहरै राखिएको घिउ, दाल, ललिपप र अर्गानिक चियाको चिटिक्क परेका पोका। यो दृश्य मेचीराजमार्ग अन्तर्गतको पाँचथर र इलामको सिमाना राँके बजारको हो। 

यस सडक हुँदै जाने जुनसुकै यात्रुुवाहक सवारी साधन होस् वा निजी, त्यहाँ एकैछिन भए पनि रोकिएकै हुन्छन्। राँके बजारमा कृषि उपजको मात्रै कारोबार हुुन्छ। किसानहरुले उत्पादन गरेका कृषि उपजको व्यापारले नै यो बजारको छुट्टै पहिचान बनेको छ। 

बजारमा यात्रुहरुले कोसेलीको रुपमा कृषि उपज खरिद गरेर लैजाने गरेका छन्। यहाँ राखिएका खुर्सानी, घिउ, छुर्पीजस्ता सामानहरु खरिद गर्ने भएकाले दैनिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको व्यापारी राजकुमार नेम्बाङले जानकारी दिए।

राँके बजार अकबरे खुर्सानी, गाईको घिउ, अर्गानिक चिया र छुर्पीका लागि प्रसिद्ध छ। मेची राजमार्ग हुँदै ताप्लेजुङसम्म यात्रा गर्ने यात्रुहरुले फर्कंदा कोसेलीको रुपमा खरिद गरेर लैजाने भएकाले यहाँको व्यापार फस्टाइरहेको छ। खासगरी दुई सिजनमा यहाँको व्यापार फस्टाउने गरेको नेम्बाङले बताए। 

ताप्लेजुङको पाथीभराको दर्शनका लागि आउने धार्मिक पर्यटकहरुले फर्कंदा कोसेलीको रुपमा यो बजारबाट कृषि उपज खरिद गर्दछन्। विशेष गरी फागुनदेखि जेठसम्म र कात्तिक, मंसिरमा महिनामा व्यापार राम्रो फष्टाउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.