|

सल्यान : परम्परागत रुपमा चल्दै आएको मौलिक बाजाको रुपमा रहेको पञ्चेबाजा संरक्षणमा युवाले अभियान थालेका छन्। मौलिक संस्कृतिसँग जोडिएको नौमती र पञ्चेबाजाको संरक्षणमा शारदा नगरपालिका ६ बरलाका युवा जुटेका हुन्।

पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि बरलाका युवा संरक्षण अभियानमा सक्रिय भएका हुन। नौमती बाजा संरक्षण समिति गठन गरी स्थानीय युवा पञ्चेबाजाको महत्व जगाउदै यसको संरक्षणमा जुटेका हुन्। 

मौलिक संस्कृति बोकेको बाजा हराउन थालेको अवस्थामा कला र संस्कृतिको संरक्षणको लागि जुटेको दिलबहादुर परियारले बताए। उनले भने,‘पञ्चेबाजा लोप हुने खतरा देखियो। हामीले नसिके त झन पूरै नामनिशान हराउछ जस्तो लाग्यो। त्यसैले यो अभियानमा जुटेका हौं।’

गाउँदेखि सहरसम्म विवाहदेखि भोजभतेरमा विदेशी बाजा, डेक र संस्कृति भित्रिँदा पुराना परम्परागत कला संस्कृति हराउँदै गइरहेको उनको भनाई छ। परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ। बाजा बज्ने छाडेपछि युवा मिलेर बाजा बजाउने कार्यमा लागेको युवा सन्देश परियारले बताए।

पञ्चेबाजा संरक्षणका लागि घरेलु तथा साना उद्योग विकास समितिले १ लाख ३० हजार बराबरको नौमती बाजा र शारदा नगरपालिकाले बाजा सिकाउन कास्कीबाट प्रशिक्षक बोलाएर तालिम दिएको उनको भनाई छ। उनले भने,‘पहिले-पहिले गाउँमा विवाह, चाडपर्व विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्यो। पछि विस्तारै लोप हुँदै गएपछि पुरानो संस्कृति हराउँदै गएको छ।’ 

कला र संस्कृतिको संरक्षण गरेर मात्रै समृद्ध समाज हुने हुने विश्वासका साथ मौलिक बाजा बजाउन थालेको र यसबाट रकम पनि राम्रै संकलन भइरहेको विजय नेपालीले बताए। 

परियार समुदायका व्यक्तिले बजाउँदै आएको पञ्चेबाजा अन्य समुदायले पनि सिके पुराना संस्कृतिको सरक्षणमा मद्दत पुग्ने उनको भनाई छ। परियार समुदायका युवापुस्ताले मात्रै पञ्चेबाजाको संरक्षण गर्न सम्भव नभएकाले अन्य समुदायका युवा पुस्ताले पनि अवलम्बन गर्नुपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.