पर्वत : निर्माण सम्पन्न गर्ने मिति एक वर्ष नाघिसक्दा पनि कालीगण्डकी करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड अलपत्र परेको छ।
२०७५ जेठ २१ सम्म काम सम्पन्न गर्ने गरी २०७३ असार २२ मा सूर्य कन्स्ट्रक्सन, सुकेधारा काठमाडौंले ठेक्का सम्झौता गरेको भए पनि करिडोरको ३० प्रतिशत काम अझै बाँकी रहेको छ। देशको उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखिएको करिडोरको निर्माणमा ठेकेदार कम्पनीले बेवास्ता र ढिलासुस्ती गरेका कारण काम समयमै नसकिएको हो। नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त खण्ड फलेवासको ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुलेको भए पनि सवारी साधन चल्न सक्ने अवस्था छैन।
कालीगण्डकी कोरिडोर आयोजना कार्यालयका अनुसार मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर भागमा ट्रयाक खुलाउन बाँकी रहेको छ। समयमै काम सम्पन्न गराउन आयोजना कार्यालयले पटक पटक ताकेता गरेको भए पनि निर्माणको जिम्मा लिएको कम्पनीले बेवास्ता गर्दै आएको छ। आयोजना प्रमुख नगेन्द्र सुवेदीका अनुसार कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि गत जेठ ४ देखि १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको छ।
यो जरिवानाको नियमअनुसार निर्माण कम्पनीलाई प्रतिदिन ४५ हजार ९०० रुपैयाँका दरले जरिवाना लगाउँदै म्याद थप गरेको चार महिना पुगिसकेको छ। दैनिक महँगो जरिवाना लगाउँदा पनि निर्माण कम्पनीले भने रोकिएको कामलाई सुचारु गरेको छैन। ‘ढिलै भए पनि काम सञ्चालन हुनुपर्छ र सम्पन्न गर्नुपर्छ भनेर पटक पटक कम्पनीका सञ्चालकलाई फोन सम्पर्क गरेका छौँ, तर बेवास्ता भइरहेको छ,’ सुवेदीले भने, ‘अब पनि काम सुरु नगर्ने हो भने हामी जरिवानाभन्दा माथि उठेर कानुनअनुसार कारबाही गर्न बाध्य हुने छौँ।’
कुल १४ किलोमिटर लम्बाई रहेको सडकखण्डमा निर्माण कम्पनीले ट्रयाक खुलाउने, ग्राभेल गर्ने, कल्भर्ट तथा टेवा पर्खाल लगाउने गरी ठेक्का लिएको थियो। तर, सडकको तीन किलोमिटर भागमा ट्रयाक नै खुलाउन बाँकी रहेको छ भने ग्राभेललगायतका अन्य काम नगर्दा सवारी चल्न सकेका छैनन्। आयोजना कार्यालयका अनुसार ठेकेदार कम्पनीले अहिलेसम्म झन्डै ६ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ भने तीन करोड १७ लाख रुपैयाँ भुक्तानी हुन पनि बाँकी रहेको छ।
कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफलाइनको रूपमा हेरिँदै आइएको छ। पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेवाससम्म स्तरोन्नति काम ७० प्रतिशत पूरा भएको छ। कोरिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।