|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको बताएका छन्। उनले सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

'व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु', नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले भने, 'व्यवसायीको समस्या सुन्‍न चाहन्छु, एक्लाएक्लै भए पनि समूहगत भए पनि। म व्यवसायीको समस्या सुन्छु तर काम व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो।' 

व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गरे। 'व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्‍नैपर्छ', उनले भने, 'रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ।'

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताए।

वैदेशिक रोजगार विभागका महानिर्देक डा. भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गरे। सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताए। राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उनको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.